सङ्क्रमण दर बढ्यो

सिद्धराज भट्ट, सुदूरपश्चिम, ११ वैशाख (रासस) ः सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको रोकथामका लागि सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिलाई लक्षित गरी गर्नुपर्ने कन्ट्याक्ट ट्रेसिङको फितलो भइरहेको छ । भारतीय सीमानाका हुँदै फर्किइरहेका व्यक्तिको सम्पर्कमा आएकाको कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी हुन नसक्दा सङ्क्रमणको दर बढ्दै गएको स्वास्थ्यकर्मीको अनुभव छ ।

कैलालीको गौरीफन्टा सीमा नाकाको हेल्थ डेस्कमा खटिनुभएका स्वास्थ्यकर्मी गणेश साउदले सीमानाकाबाट भित्रिने नागरिकको कन्ट्याक्ट ट्रेसिङ फितलो हुँदा सङ्क्रमण दर बढेकोे बताउनुभयो । भारतबाट निर्वाधरुपमा नेपाली र भारतीय नागरिक सीमानाका हुँदै नेपाल प्रवेश गरिरहेका छन् । पछिल्लो हप्तामा प्रदेशमा नयाँ सङ्क्रमित ३६८ जना पुगेका छन् । अघिल्लो हप्तामा १२३ सङ्क्रमित फेला परेका थिए । शुक्रबार एकै दिनमा ९४ जना सङ्क्रमित थपिएका थिए । सङ्क्रमणको दर बढ्दै जाँदा प्रदेशमा जटिल अवस्थाका बिरामी पनि बढ्दै गएका छन् ।

स्वास्थ्य निर्देशनालय दीपायलको तथ्याङ्कका अनुसार सक्रिय सङ्क्रमित बिरामी ५०९ पुगेका छन् । यीमध्ये ७७ अस्पतालका आइसोलेशनमा र बाँकी स्थानीय तहका तथा होम आइसोलेशनमा रहेका छन् । सघन उपचार कक्षमा १४ र भेन्टिलेरमा तीन उपचाररत रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धाँमी भने सङ्क्रमितको सम्पर्कमा आएकाको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको जानकारी दिनुभयो । “सीमानाकाबाट भित्रिनेको नाम ठेगानालगायत विवरण सङ्कलन गरेर राख्ने गरेका छौँ”, उहाँले भन्नुभयो, “यसै आधारमा सम्बन्धित पालिकालाई भित्रिएकाको निरन्तर निगरानी गर्न भनिरहेका छौँ ।” गौरीफन्टा सीमानाका हुँदै दैनिक कम्तीमा पनि ५०० व्यक्ति स्वदेश फर्किने गरेका छन् ।

भित्रिने सबैको एन्टिजेन परीक्षणः शुरुका केही हप्तामा सीमानाका हुँदै भित्रिनेमा ज्वरो भए नभएको जाँच गरी शङ्कास्पद देखिने व्यक्तिको मात्र एन्टिजेन परीक्षण गर्ने गरिएकामा पछिल्ला दिनमा सबै व्यक्तिको एन्टिजेन परीक्षण गर्ने गरिएको छ ।

यस्तो परीक्षणबाट नतिजा ‘पोजेटिभ’ देखिनेलाई धनगढी उपमहानगरपालिकाको कनरी क्षेत्रमा स्थापना गरिएको आइसोलेशनमा राख्ने गरिएको छ । होम आइसोलेशनमा बस्नुपर्ने अवस्थाको सङ्क्रमितलाई भने स्वास्थ्य सतर्कतासम्बन्धी परामर्श दिइ होम आइसोलेशनमा पठाउने गरिएको छ ।

जोखिम भत्ताविना जोखिमको काम गर्दै स्वास्थ्यकर्मी

गौरीफन्टा सीमानाकामा सञ्चालनमा रहेको ‘हेल्थ डेस्क’का कर्मचारी जोखिम भत्ताविना नै काम गरिरहेका छन् । “आफूहरु जोखिम भत्ताविना नै जोखिमको काममा खटिनुपर्ने अवस्था छ”, हेल्थ डेस्कका स्वास्थ्यकर्मी गणेश साउदले भन्नुभयो, “काम गर्दा गर्दै सङ्क्रमित हुनुभएका एक जना स्वास्थ्यकर्मी केही दिनको आइसोलेशनको बसाइँपछि नतिजा नेगेटिभ आउँदा पुनःकाममा फर्किनुभएको छ ।”

यहाँ खटिएका १७ जना स्वास्थ्यकर्मीमध्ये धनगढी उपमहानगरपालिकाबाट खटिएका स्वास्थ्यकर्मीले जोखिम भत्ता पाए पनि जिल्ला स्वास्थ्य कार्यालय कैलाली र कञ्चनपुरको पुनर्वास नगरपालिकाबाट खटिने स्वास्थ्यकर्मी भने गत वर्षदेखि नै जोखिम भत्ता नपाएको बताइएको छ ।

हेल्थ डेस्कमा खानेपानी, खाजा नास्ताको व्यवस्थापनमा समेत समस्या भइरहेको कर्मचारीको गुनासो छ । भारतमा पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण र मृत्युदर बढ्दै गएसँगै सुदूरपश्चिम प्रदेशमा पनि कारोनाको सङ्क्रमण दर पछिल्ला दिनमा उकालो लागेको छ । भारतबाट फर्किनेबाट नै समुदायमा सङ्क्रमण बढी देखिएको जनाइएको छ । सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लालाई कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम जिल्लाका रुपमा लिइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।