दिक्तेल–खानीडाँडा–आहाले सडकमा भएन प्रगति

खोटाङ, १५ वैशाख (रासस) : पूर्वी तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको दिक्तेल–खानीडाँडा–आहाले सडक कालोपत्रको काम तोकिएको मितिमा सम्पन्न नहुने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आर्थिक लगानीमा कालोपत्र शुरु गरिएको दिक्तेल–आहाले (१०.९७४ किलोमिटर) खण्ड सम्पन्न गर्नुपर्ने समय सकिन लाग्दा ४८ प्रतिशतमात्र भौतिक प्रगति भएको देखिएको छ ।

निर्माण कम्पनी याक्थुङहाङ/साप/सिरुवा जेभीले विसं २०७६ चैत ७ गतेसम्मको सम्झौता अवधि गुज्रिएपछि थप भएको समय पनि यही २०७८ वैशाख २९ गते सकिँदैछ । थप भएको समय सकिन लाग्दासमेत सडक कालोपत्रको कामको भौतिक प्रगति ४८ प्रतिशत र वित्तीय प्रगति ४७.७६ प्रतिशतमात्र सम्पन्न भएको देखिएको कन्सल्टेन्ट इञ्जिनीयर चञ्चलकुमार झाले बताउनुभयो ।

आर्थिक वर्ष २०७७/७८ मा सडक कालोपत्रको वित्तीय प्रगति १४.२३ प्रतिशत र भौतिक प्रगति ९.१४ प्रतिशत मात्र भएको कन्सल्टेन्ट इञ्जिनीयर झाले जानकारी दिनुभयो । दिक्तेलबाट खानीडाँडा विमानस्थल हुँदै उदयपुरको गाईघाट जोड्ने छोटो दूरीको मार्गका रूपमा स्थापित हुने सडक राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको भ्याटसहित रु २१ करोड एक लाख ८८ हजार खर्चमा कालोपत्र शुरु गरिएको हो ।

निर्माण कम्पनीले सडकको नाली, रिटेनिङ पर्खाल, ग्राभेल आरसिसी, साइड ड्रेन, ग्राभेलसहित ६.२५ मिटर चौडा हुने सडकको ३.७५ भागमा कालोपत्र गर्ने गरी ठेक्का लिएको थियो । १८ महिनाभित्र सम्पूर्ण काम पूरा गर्ने गरी ठेक्का लागेको विसं २०७५ मङ्सिर १ गते प्रतिनिधिसभा सदस्य एवं नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले शिलान्यास गर्नुभएको थियो ।

शुरुका दिनमा तीव्रगतिमा अघि बढाइएको सडक कालोपत्रको काम क्रमशः सुस्तगतिमा झरेपछि निर्माण कम्पनीको चौतर्फी आलोचना भएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित अस्पतालचोकबाट खानीडाँडा विमानस्थल हुँदै रेग्मीटार पुग्ने सडकको दिक्तेल–खानीडाँडा–आहाले खण्ड कालोपत्रको काम सुस्त र गुणस्तरहीन भएपछि स्वयं राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ खोटाङले विसं २०७६ मा केही समय काम रोकेको थियो ।

कालोपत्रका काम गरिरहेको निर्माण कम्पनी याक्थुङहाङ÷साप÷सिरुवा जेभीलाई गुणस्तरहीन काम रोक्नका लागि छ दिनअघि मौखिकरूपमा जानकारी गराएको कार्यालयले विसं २०७६ पुस ९ गते लिखितरूपमा पत्राचार गरेर काम रोक्न निर्देशन दिएको थियो । माटो मिसिएको बालुवा तथा एक टिन सिमेन्टसँग १० टिन बालुवा÷गिटी घोलेर सडकको काममा प्रयोग भइरहेको गुनासो आएपछि कार्यालयले काम रोकेको हो ।

गुणस्तरहीन काम भएको पाइएपछि बालुवा, गिट्टीलगायत स्थानीय कच्चा पदार्थको ‘स्याम्पल’ नै सङ्कलन गरेर परीक्षणमा उठाइएको थियो । त्यसलगत्तै विसं २०७६ पुस २३ गते प्रदेशसभा सदस्य उषाकला राई (हाल सामाजिक विकासमन्त्री), प्रदेशसभा सदस्य रामकुमार राई ‘पासाङ’, जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङलगायतको टोली स्थलगत अनुगमनमा गएका थिए ।

सडक कालोपत्रको काममा ढिलासुस्ती भएपछि निर्माण कम्पनीका प्रमुख शिवप्रसाद चौलागाईँलाई २०७६ कात्तिक ५ गते दिक्तेलमा आयोजना गरिएको सर्वपक्षीय बैठकमा बोलाइएको तर सो बैठकमा सहभागी कम्पनीका प्रमुख चौलागाईँले गरेका प्रतिबद्धताअनुसार सडकको काममा प्रगति भएको छैन । दिक्तेल–खानीडाँडा–आहाले खण्ड कालोपत्रको काम सुस्त भएपछि निर्माण कम्पनी याक्थुङहाङ/साप/सिरुवा जेभीले प्रतिनिधि परिवर्तनसमेत गरेको थियो । शुरुमा कल्याण दाहाललाई प्रतिनिधि राखेको निर्माण कम्पनीले अन्तिम समयमा आएर खगेन्द्र राईलाई प्रतिनिधि चयन गरेको हो ।

याक्थुङहाङ/साप/सिरुवा जेभीको प्रतिनिधि बनेका राईले चैत ८ गते सडक कालोपत्रको बाँकी कामका लागि सम्झौता गरेको कार्यालयका नायबसुब्बा एवं सूचना अधिकारी मणिराम ढकालले बताउनुभयो । प्रतिनिधि राईले कामको जिम्मा लिएलगत्तै आवश्यक निर्माण सामग्री जुटाएर वैशाख ५ गतेदेखि सडक कालोपत्रअन्तर्गतको कामलाई तीव्रगतिमा अघि बढाएका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट हलेसी तुवाचुङ नगरपालिकाको राजापानीमा जोडिने दिक्तेल–रेग्मीटार सडक पूरा भएपछि दिक्तेलबाट र उदयपुरको गाईघाट पुग्ने सबैभन्दा छोटो मार्ग खुल्ने दाबी गरिएको छ । दिक्तेल–खानीडाँडा–आहाले सडक हाल सञ्चालनमा रहेको दिक्तेल–महुरे–रेग्मीटारभन्दा छोटो हुने भएकाले भविष्यमा पूर्वी तराई आउनजानका लागि बढी प्रयोगमा आउने अपेक्षा गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।