सुनसान देखिए उपत्यकाका सडक

सञ्चिता घिमिरे, काठमाडौँ, १६ वैशाख (रासस) ः निषेधाज्ञाको पहिलो दिन काठमाडौँ उपत्यकाका मुख्य सडक सुनसान देखिएका छन् । कार्यालय समयमा सडकमा सवारी चाप देखिए पनि यसपछि भने सवारी साधन पातलो देखिएका छन् ।

सडकमा अस्पताल, सरकारी कार्यालय, बैंकका कर्मचारीलगायतका व्यक्तिहरु बढी सङ्ख्यामा देखिन्छन् । सरकारी निर्णयानुसार कर्मचारी कार्यालय जाँदा भीडभाड भएका हुनसक्ने प्रहरी प्रवक्ता वसन्त कुँवरले जानकारी दिनुभयो । अघिल्लो पटक बन्दाबन्दी आवतजावत ठप्प नै गराउने खालको भएको र पासका आधारमा मात्रै हिँड्न पाउने व्यवस्था थियो । अहिले निषेधाज्ञा केही खुकुलो र आदेश पनि त्यहीअनुसारको भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हामीले निर्णयविपरीत हुँदा तत्काल रेस्पोन्स गरिरहेका छौँ ।”

अपराह्नसम्म झण्डै ७०० सवारी साधन कारबाही गरिइएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार तीमध्ये सबैभन्दा बढी काठमाडौँमा ४४१ रहेका छन् । प्रहरीले निषेधाज्ञा पालना नगर्नेलाई ‘होल्डिङ सेन्टर’ मा राखेर सम्झाइबुझाइ गरिरहेको छ । उहाँले भन्नुभयो, “हामीले २०० बढी ठाउँमा चेक प्वाइन्ट र ठाउँठाउँमा मोबाइल टोली पठाएर अनुगमन र आवश्यक भएमा कारबाही गरिरहेका छौँ ।”

मुख्य सडक सुनसान हुँदा भित्रि गल्लीमा भने केही पसल खुलेका र मान्छेको आवतजावत पनि देख्न सकिन्छ । भित्रि भागमा नियमित जाँच नभए पनि ‘मोबाइल टिम’ गएर अनुगमन गरिरहेको प्रवक्ता कुँवरले बताउनुभयो । यसले अरुलाई पनि जोखिम गर्ने भएकाले कसैले निषेधाज्ञा पालना नगरेको देखेमा प्रहरीलाई खबर गर्न उहाँले अनुरोध गर्नुभयो । यसको पालना नगर्दा त्यसले असर सबैलाई गर्ने भएकाले नागरिक आफैँ सचेत हुनुपर्नेमा उहाँको जोड छ । मुख्य सडकहरुमा साङ्केतिक रुपमा जाँच गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “होल्डिङ गरेका सवारी साधन र व्यक्ति भोलि ननिस्केलान भनेर चेतना जगाउने हो ।”

उपत्यकामा अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द हुने गरी निषेधाज्ञा लागू गरिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको यही १३ गतेको निर्णयानुसार आज बिहान ६ बजेदेखि नै उक्त आदेश कार्यान्वयनमा आएको हो । आदेश लागू भएसँगै उपत्यकाका तीनै जिल्लामा अत्यावश्यक कामबाहेकका गतिविधि सञ्चालनमा रोक लगाइएको छ भने अन्य जिल्लाबाट समेत प्रवेश गर्न पाइने छैन ।

आदेशानुसार सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्र्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न पाइने छैन । विवाह ब्रतबन्धको हकमा बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्ड पालना गर्ने गरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने हुन्छ ।

सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन, २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्नसक्ने अधिकार दिएको छ । सोही अधिकार प्रयोग गरी उपत्यकामा आजदेखि लागू गरिएको आदेश यही २२ गते राति १२ बजेसम्म जारी रहने छ । यस्तै अन्य दर्जन बढी जिल्लामा पनि आदेश जारी छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।