तेस्रो पटक निषेधाज्ञा जारी

महोत्तरी, महोत्तरीमा तेस्रो पटक निषेधाज्ञा जारी गरिएको छ । जेठ १ गतेदेखि आज जेठ १० गते मध्यरातसम्मलाई दोस्रो पटक जारी गरिएको अवधि नसकिँदै जिल्ला प्रशासन कार्यालय महोत्तरीले जेठ २० गते मध्यरातसम्मका लागि जिल्लाभरि लागु हुने गरी पुनः १० दिन थप गरेको हो । यसअघि गत वैशाख २२ गतेदेखि ३१ गतेसम्मका लागि पहिलो पटक निषेधाज्ञा जारी गरिएको थियो।

जेठ १ गते दोस्रो पटक जारी गरिएको निषेधाज्ञाको अवधि आज मध्यरातसम्म कायम छँदै कार्यालयले जेठ २० गतेसम्मलाई पुनः थप गरेको हो । तेस्रो पटक जारी निषेधाज्ञा जेठ २० गते मध्यरासम्म कायम रहने जिल्लाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जानकारी दिनुभयो ।
जिल्लामा कोभिड–१९ सङ्क्रमणको जोखिम कायम नै रहेको हुँदा भिडभाड र हिँडडुल रोक्न निषेधाज्ञाको अवधि थप गरिएको कार्यालयले स्पष्ट पारेको छ ।

यस अवधिभर सार्वजनिक यातायातका साधन, होटल, हाटबजार सञ्चालन नहुने र घुमफिर र भेला जमघट केही गर्न नपाउने गरी रोक लगाइएको छ । अत्यावश्यक सामग्री आपूर्ति गर्ने साधन (अस्पताल, औषधि पसल, दूध, खाने पानी, खाद्यान्न आपूर्ति गर्ने साधन, एम्बुलेन्स, शववाहनसहित अत्यावश्यक सेवा) भने सञ्चालन हुने स्पष्ट पारिएको छ ।

जिल्लामा निषेधाज्ञा जारी अवधिमा पनि कोभिड–१९ सङ्क्रमण र मृत्यु हुने क्रम नरोकिएपछि निषेधाज्ञा थप गरिएको हो । जिल्लामा जलेश्वर अस्पताल र बर्दिबास अस्पतालमा पिसिआर परीक्षणको सुविधा छ । यसैगरी जलेश्वर अस्पताल, बर्दिबास अस्पताल र गौशालाको इमलीबजारसहित तीन ठाउँ अक्सिजन सुविधासहितको आइसोलेशन कक्ष सञ्चालनमा छन् ।

जिल्लामा आइतबारसम्म यसपालि गत वैशाख १४ गतेयताको महाव्याधि सङ्क्रमणले ५५ जनाको ज्यान गइसकेको छ । यस अवधिमा एक हजार ७४५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । यीमध्ये एक हजार ४७५ जनामा सक्रिय सङ्क्रमण पाइएको कार्यालयका कोभिड–१९ स्रोतव्यक्ति प्रतिभा सिंहले जानकारी दिनुभयो । यस अवधिमा २१५ जनाले सङ्क्रमण जितेका छन् ।

जिल्लामा यसपालि पहिलो पटक निषेधाज्ञा जारी हुनुपूर्व वैशाख १० देखि २१ गतेसम्ममै महाव्याधि सङ्क्रमणले सात जनाको मृत्यु भएको थियो । त्यस अवधिमा ३३१ जनामा सङ्क्रमण पुष्टि भएको थियो । वैशाख मसान्तमा मृतकको सङ्ख्या १३ र सङ्क्रमित सङ्ख्या एक हजार पुगेको थियो । जेठ लागिकन निषेधाज्ञा थप गरिएको अवधि (जेठ १ देखि १० सम्म) मध्ये ९ गतेसम्म ७४५ नयाँ सङ्क्रमित थपिएका हुन् ।

यस अवधिमा मृतकको सङ्ख्या दर निकै बढेर ४२ पुगेको छ । सङ्क्रमण दर थोरै घटे पनि मृत्यु दर बढेको र जोखिम अझै कायम रहेको हुँदा भिडभाड रोक्न, जमघट हुन नदिन निषेधाज्ञा तेस्रो पटक जारी गर्नु परेको प्रमुख जिल्ला अधिकारी भट्टराईको भनाइ छ ।

निषेधाज्ञा अवधिमा भारतसँगका नाका पूर्ण बन्द गरिएका छन् । निषेधाज्ञाको कुनै पनि बहानामा अवज्ञा सह्य नहुने जिल्ला प्रशासनले स्पष्ट पारेको छ । पूर्वजानकारी बिना कुनै जरुरी काम देखाएर हिँडडुल गर्ने जोसुकैलाई तत्काल सुरक्षाकर्मीले नियन्त्रणमा लिई कारवाही गरिने प्रजिअ भट्टराईले आफ्नो आदेशमा उल्लेख गर्नुभएको छ ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र, जिल्लास्थित राजनीतिक दल र सामाजिक एवं स्वास्थ्य क्षेत्रमा कार्यरत सङ्घ संस्थाका प्रतिनिधिको सिफारिसमा तेस्रो पटक जारी गरिएको निषेधाज्ञाको सबै पक्षबाट परिपालनाका लागि जिल्ला प्रशासन कार्यालय महोत्तरीले आग्रह गरेको छ ।

यसअघि २०७७ सालको वैशाखदेखि कात्तिक मसान्तसम्म सङ्क्रमणले १८ जनाको ज्यान लिएको थियो । त्यसैगरी सो अवधिमा दुईहजार १४१ मा सङ्क्रमण पुष्टि भएको थियो । तीमध्ये ९०० भन्दा बढीमा सक्रिय सङ्क्रमण देखिएको थियो । यसपालिको सङ्क्रमण बढी आक्रामक र थोरै लापरवाहीले ज्यानै लिनसक्ने देखिएको हुँदा सतर्कता अपनाउन अपिलसँगै निषेधाज्ञा थप्दै लानुपरेको जिल्ला प्रशासनले स्पष्ट पारेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।