मुख्यमन्त्री भट्टलाई विश्वासको मत प्राप्त
धनगढी,नेकपा (माओवादी केन्द्र) नेतृत्वको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गर्नुभएको छ ।
प्रदेश सभाको आजको बैठकमा उहाँका पक्षमा ३० मत खसेको थियो । बैठकमा सभामुख अर्जुन शाहले उक्त मत प्रदेशसभामा तत्काल उपस्थित सदस्यको बहुमत भएको घोषणा गर्नुभयो । सभामा कुल ५२ सदस्य छन् ।
तीमध्ये पक्षमा ३० र विपक्षमा नौ मत खसेको थियो । उहाँले मतदान प्रक्रियामा सहभागी नहुने सदस्यको सङ्ख्या १२ रहेका बैठकमा जानकारी दिनुभयो । नेपाली कांग्रेस संसदीय दलले मुख्यमन्त्री भट्ट नेतृत्वकै सरकारलाई समर्थन गर्ने निर्णय गरेको थियो।
यो पनि पढ्नुहोस
बागलुङ, जापानलाई कर्मथलो बनाएका यहाँका तीन युवा मिलेर धवलागिरि अस्पताललाई रु एक लाख सहयोग गरेका छन् । बागलुङ नगरपालिका–८ सिगानाका प्रकाश खड्का, नौ तित्याङका कृष्ण खड्का र काठेखोला गाउँपालिका–१ पालाका राजेश खत्रीले सो सहयोग गर्नुभएको हो ।
स्थानीय संयोजनकर्ता पत्रकार राम थापाले आज अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगरलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो । कोरोना महामारीसँग जुधिरहेको अस्पताललाई अत्यावश्यक चिकित्सा सामग्री/औषधि जोहोका लागि सघाउ पुगोस् भन्ने उद्देश्यले आर्थिक सहायता प्रदान गरिएको प्रकाशले बताउनुभयो ।
“अस्पतालमा अक्सिजन अभाव भएको खबर थाहा पाएपछि जेजति सकिन्छ सहयोग गरौँ भन्ने सोच आयो”, उहाँले भन्नुभयो, “सङ्कटमा साथ दिनु स्वदेशप्रतिको हाम्रो दायित्व पनि त हो ।” खड्काद्वय र खत्रीको जापानमा ‘नेपलिज ग्लोबल गु्रप जापान’ नाम गरेको कम्पनी छ । सहयोग बुझेपछि अस्पतालका अध्यक्ष मगरले उक्त रकमको सदुपयोग गरिने प्रतिबद्धता जनाउनुभयो ।
“हामी टिममा पनि छलफल गर्छौँ, अक्सिजन सिलिण्डर या अरु कुनै अत्यावश्यकीय सामग्री व्यवस्थापनमा खर्च हुन्छ”, उहाँले भन्नुभयो, “महामारीको कठिन घडीमा प्रवासी युवाले गरेको सहयोग हाम्रा लागि अमूल्य छ ।” कोरोना रोकथाम, नियन्त्रण र उपचारमा सिङ्गो राज्य संयन्त्र लागे पनि जनस्तरबाटसमेत स्वतःस्फूर्तरूपमा सहयोग जुटिरहेको छ ।
यसअघि आइतबार मात्र जापानमा रहेका तीन नेपाली संस्थाले धवलागिरि अस्पतालसहित गलकोट नगरपालिका र ताराखोला गाउँपालिकालाई रु सात लाख ३७ हजार बराबरका चिकित्सा सामग्री उपलब्ध गराएका थिए । महामारीको यस विषम स्थितिमा स्वास्थ्य क्षेत्रका लागि देशविदेशबाट सहयोग जुट्ने क्रम जारी छ ।


