लकडाउनपछि हाटबजार बन्द साना व्यापारीलाई झनै गाह्रो

सप्तरी, लकडाउनअघि युवा व्यापारी अरबिन्द दास दिनहुँ चार÷पाँच हजारको तरकारी बेच्नु हुन्थ्यो । राजविराज नगरपालिका–६ सिरहा रोडका ३९ वर्षीय दासले हटियामा बेचेको तरकारीबाट दैनिक सरदर रु एक हजार नाफा कमाउनु हुन्थ्यो ।

कोभिड–१९ महामारीको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि गत वैशाख २५ गते मध्यरातदेखि जिल्लामा शुरु भएको लकडाउनपछि हाटबजार बन्द छ । बजार बन्दले तरकारी बिक्री हुन छाडेपछि उहाँ तरबुज बिक्री गर्न थाल्नुभएको छ । ठूलो परिमाणमा किन्नुपर्ने तरकारी समयमै बिक्री नहुँदा कुहिने र प्रहरीले समेत हटियामा कडाइ गरेका कारण दासले तरकारी बिक्री गर्न छाडेर तरबुज बेच्न थालेको बताउनुभयो ।

“बजार बन्द छ, सडक सुनसान छ, मानिसको आवतजावत नभएकाले बिक्री पनि छैन”, दासले भन्नुभयो, “कुहिने डरले किनेकै दाममा पनि बेच्नुपर्ने हुन्छ भने कतिपय चिनेजानेकाले त कम पैसा छाडेर समान लिएर जाने गर्छन् ।” तरकारी छाडेर तरबुज बिक्री गर्न थाल्नुभएका दासले बिक्री बढाउन रु २०÷२५ किलोमा तरबुज बेचिरहनुभएको छ । उहाँ तीन÷चारजना मिलेर एक ट्र्याक्टर तरबुज किन्ने गरेको बताउनुहुन्छ । ट्र्याक्टरमा १५÷१६ क्विन्टल हुन्छ । प्रतिकिलो रु १५ मोल पर्ने तरबुज समयमै बिक्री नहुँदा कुहिएर नष्ट हुन्छ ।

टोल–टोलमा घुमाएर बिक्री गर्नका लागि उहाँले दैनिक रु ५० तिरेर भाँडामा ठेलागाडा लिनुभएको छ । खाना खाएर बिहान ११ः०० बजे ठेला गुडाउँदै घरबाट निक्लने उहाँ साँझ ६ः०० बजे घर फर्कनुहुन्छ । दिनभरि बस्दा रु एक हजारको तरबुज पनि बिक्री नहुने गरेको उहाँको भनाइ छ । यसले उहाँलाई छ जनाको परिवारको पेट भर्न गाह्रो भएको छ ।

हाटबजारमा प्रहरीले बस्न दिँदैन । टोलको गल्लीमा ठेला राखेर बेच्ने प्रयास गरिरहेको उहाँले बताउनुभयो । पोहोरको लकडाउनमा बजारमा तरकारी बिक्री गर्दा प्रहरीले कुटेको घटना स्मरण गर्दै उहाँ भन्नुहुन्छ, “यसपटक प्रहरीको डरले बजारमा बस्ने हिम्मत गरेको छैन, प्रहरीले पनि टोलमा भीड नगरी घुमेर बेच्नू, बजार नजानू भनेर सम्झाउने गरेको छ ।”

उहाँको राजविराज बजारस्थित मुख्य सडकमै घर छ । आफ्नो फाँटमा परेको जम्मा दुई धुर जग्गामा बनेको एउटा कोठामा बुबा, आमा, श्रीमती र छोराछोरीसहितको छ जनाको परिवार बस्छ । लकडाउन भए पनि सम्पन्नलाई फलफूल, तरकारी एवं खाद्यान्नको चिन्ता छैन ।

बजारमा घर भए पनि बहालमा बस्ने भए पनि सानोतिनो व्यवसाय गरेर अनि सबथोक किनेर खाने वर्गको आर्थिक स्थिति लकडाउनमा नाजुक भएको छ । “आम्दानी निश्चित नभएका हामी जस्ता वर्ग चाहिँ लडकाउनमा बढी पिल्सिएका छौँ, सानोतिनो व्यापारकै भरमा शहरमा टिकेका छाँै, अहिले त्यो पनि बन्द छ”, उहाँ भन्नुहुन्छ, “बजारमा घर भएर के गर्नु, एउटा कोठामा छ जना सुत्छौँ, सबथोक किनेर खानुपर्छ, छोराछोरीलाई पढाउनै प¥यो, हात पसारेर माग्न पनि सकिँदैन, व्यापार पनि छैन ।”

बिक्री कम भएकाले आम्दानीको टुङ्गो नभएका साना व्यापारी लकडाउनको अवधि लम्बिँदै जाँदा आत्तिएका छन् । दास झँै बजारका साना चिया, नास्ता र होटेल व्यवसायी पनि तनावमा छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।