विद्यार्थी भर्ना अभियान शुरु

भक्तपुर,सरकारले यस वर्षको विद्यालय तहको नयाँ शैक्षिक सत्र आजदेखि शुरु गरेको छ । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले आजदेखि यस वर्षको शैक्षिक सत्र शुरु गर्ने निर्णय गरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले भर्ना अभियान र वैकल्पिक विधिबाट हुने पठनपाठनलाई सफल पार्न आह्वान गर्नुभएको छ । आज शिक्षक सङ्गठनसँग भएको भर्चुअल छलफलमा उहाँले भर्ना अभियानलाई सफल पार्न सबैमा आह्वान गर्नु भएको हो ।

मन्त्रालयले शिक्षा तथा मानवविकास स्रोत केन्द्रमार्फत सबै जिल्लामा भर्ना अभियान सुरु गर्न निर्देशन दिएको थियो । कोभिड–१९ सङ्क्रमणका कारण भौतिक उपस्थितिमा पठनपाठन हुन नसके पनि वैकल्पिक विधिबाट पठनपाठनलाई निरन्तरता दिने गरी शैक्षिक सत्र प्रारम्भ गरिएको हो ।सरकारले सबै विद्यालयले विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन पूरा गरी नतिजा प्रकाशन गरेर कक्षा १० सम्मको अध्ययन गर्ने देशभरका विद्यार्थीको पठनपाठन शुरु गर्न भर्ना अभियान सञ्चालन गरेको हो ।

केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले आजदेखि देशभर भर्ना अभियान शुरुआत भएको जानकारी दिनुभयो । केन्द्रले अहिलेको विषम परिस्थितिमा विद्यालयमा भौतिक उपस्थितिमा नभइ अनलाइन, टेलिफोन या अन्य कुनै माध्यमबाट आजदेखि विद्यार्थीका कक्षामा अभिलेकीकरण शुरु गरी असार १५ गतेसम्म सम्पन्न गर्न निर्देशन दिएको छ ।

विद्यालयले विद्यार्थीको अभिलेखीकरण पूरा गरी आफ्नो नजिकको विक्रेताबाट पाठ्यपुस्तक खरिद गरेर विद्यार्थीको हातहातमा नयाँ पाठ्यपुस्तक उपलब्ध गराउनुपर्ने छ । त्यसपछि विद्यालयले भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न नसक्ने अवस्थामा वैकल्पिक विधि अनलाइन, रेडियो, टेलिभिजनलगायतका माध्यमबाट विद्यार्थीको सिकाइलाई अगाडि बढाउनु पर्नेछ । कोरोना महामारी घटेर स्थिति सामान्य भएपछि भने विद्यालयले भौतिकरुपमा विद्यार्थीको उपस्थिति गराई कक्षा सञ्चालन गर्न सक्नेछन् ।

कोरोनाका कारण विद्यार्थीसमेत गाउँ गएकाले भर्ना अभियान विगतका वर्षमा जस्तो प्रभावकारी हुनेमा आशंका पैदा भएको छ । विसं२०७६ सम्ममा सरकारले वैशाख १ गतेदेखि १५ गतेसम्म भव्यरुपमा बिभिन्न कार्यक्रम गर्दै भर्ना अभियान सञ्चालन गर्दै आएको थियो ।

विद्यालय जाने उमेर समूहका कोही बालबालिका पनि विद्यालय जानबाट बञ्चित हुन नपरोस भन्दै भव्यरुपमा भर्ना अभियान सञ्चालन गर्ने र घरदैलो अभियान गर्ने गर्दै आएको थियो । विसं २०७७ सालदेखि भने कोरोना भाइरसको महामारीका कारण भर्ना अभियान प्रभावकारी हुन सकेको थिएन। गतवर्ष शैक्षिक सत्र कहिलेबाट सञ्चालन गर्ने भन्दै अन्योल भयो भने साउनदेखि वैकल्पिक विधिबाट पठनपाठन सुरु भएको थियो । यस वर्ष भने सरकारले असार १ गतेदेखि नयाँ शैक्षिक सत्र निर्धारण गरेको हो ।

वैकल्पिक विधिबाट पठनपाठन हुने भएपछि गतवर्ष धेरै विद्यार्थीले पढाई छोडेको आँकलन गरेपनि गत वर्ष कति विद्यार्थी भर्ना भए र यस वर्ष कति विद्यार्थी भर्ना हुन्छन् भन्ने तथ्याङ्क समेत केन्द्रले राख्न सकेको छैन ।

यसैगरि कक्षा ११ को पठनपाठन भने भदौबाट गर्ने तयारी गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार विद्यालयले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई)का विद्यार्थीको यही असार मसान्तसम्म आन्तरिक मूल्याङ्कन गरिसक्ने अगामी साउन दोस्रो सातासम्म एसइईको अन्तिम नतिजा प्रकाशित गरि आगामी भदौबाट कक्षा ११ को पठनपाठन शुरु गरिने छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।