महाअधिवेशनको मिति नजिकिँदै जाँदा,सभापतिका लागि दौडधुप शुरु

सुदूरपश्चिम, नेपाली कांग्रेसको आसन्न महाअधिवेशनको मिति नजिकिँदै जाँदा प्रदेश राजधानीको जिल्ला कैलालीमा पार्टी नेतृत्व लिनका लागि नेताको दौडधुप बढ्न थालेको छ । पार्टीका वडा तहदेखि केन्द्रसम्मको अधिवेशनको तयारी थालिएसँगै नेताहरुको पछिल्ला दिनमा दौडधुप पनि बढेको हो ।

जनसङ्ख्याका दृष्टिले सुदूरपश्चिम प्रदेशमा सबैभन्दा ठूलो र प्रतिनिधिसभाका पाँच निर्वाचन क्षेत्र भएको यस जिल्लामा हुने आम चुनाव वा अन्य कुनै पनि पार्टी, सङ्घ सङ्गठनको चुनाव होस् समग्र प्रदेशका जिल्लाको चुनावलाई समेत प्रभावित पार्ने गरेको देखिन्छ । त्यसैले यस जिल्लामा हुने हेरक चुनावी गतिविधिलाई प्रदेशवासीले बढी चासोका साथ हेर्ने गर्दछन् ।

पार्टी जिल्ला सभापति नरनारायण शाह (मनु)ले दुई कार्यकाल पार्टी सभापति पदको जिम्मेवारी पूरा गरिसक्नुभएको छ । उहाँलाई तेस्रो पटक जिल्ला सभापतिको नेतृत्व लिन पार्टी विधानले मिल्दैन ।

जिल्ला सभापतिका लागि प्रकाश बम, नारायणदत्त भट्ट, भीम बडुवाल, खेमराज चौधरी, कमल शाह, डा रणबहादुर रावल, दिनेशराज जोशी, गणेश देउवा लगायतको नाम चर्चामा छ । सभापति पदका आकाङ्क्षी धेरै देखिए पनि बडुवाल, बम र भट्ट अरूभन्दा सशक्त उम्मेदवारका रुपमा देखिएको कांग्रेसका कार्यकर्ताको भनाइ छ ।

युवानेता बडुवाल अघिल्लो जिल्ला अधिवेशनमा पार्टी सभापति पदमा पनि प्रत्याशी बन्नुभएको थियो । पार्टीको महासमिति सदस्यसमेत रहेका भट्ट २०६२÷६३ को जनआन्दोलनका घाइते योद्धा हुनुहुन्छ । बम हालको जिल्ला उपसभापति हुनुहुन्छ ।

थारू समुदायबाट पार्टीको राजनीतिमा लाग्नुभएका नेता खेमराज चौधरी पनि बलियो उम्मेदवार मानिनुहुन्छ । पार्टी सङ्गठनमा जिल्लामा सुनिलकुमार भण्डारी, चन्द्रसिंह भट्टराई, नरनारायण शाह, गोविन्दराज जोशी, रणबहादुर रावल, नृपबहादुर ओड, फकिरसिंह कडायत, जङ्गबहादुर साउद, ईश्वरी न्यौपाने लगायतका नेताको प्रभाव रहेको छ ।

जिल्लामा थारू समुदायको ठूलो उपस्थिति छ । यो समुदायबाट कांग्रेसको राजनीतिमा लाग्नुभएका रामजनम चौधरी, बुद्धिसागर चौधरी, मानबहादुर महतो, प्यारेलाल रानाथारू, राजसमझ चौधरी र खेमराज चौधरीको पनि पार्टीमा राम्रो प्रभाव छ ।

जिल्ला सङ्गठनमा प्रभाव रहेका नेताभन्दा पनि केन्द्रीय सभापति शेरबहादुर देउवाले इच्छ्याएको नेताले नै जिल्ला सभापतिमा जित्नेमा दुई मत नरहेको बताइन्छ । कैलालीको गोदावरी नगरका कांग्रेस सभापति हेमप्रकाश उप्रेती सभापतिका आकाङ्क्षीको दौडधुप देखिए पनि अहिल्यै कसले जित्ने भन्नेमा अनुमान लगाउन गाह्रो भएको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “क्रियाशील सदस्यतालको अन्तिम नामावली नआउन्जेल अलमल नै देखिन्छ, सभापतिका आकाङ्क्षीले सहयोग मागिरहनुभए पनि केन्द्रबाट हुने खेलले को सभापति हुने भन्ने निर्भर हुन्छ ।”

कैलाली क्षेत्र नं १ मा क्रियाशील सदस्यता विवाद देखिएको बताइएको छ । पार्टीका लागि लामो समयदेखि गरेको त्याग, तपस्याका कारण र साथीहरुको सल्लाहबमोजिम आफू जिल्ला सभापति पदको आकाङ्क्षी रहेको नारायणदत्त भट्ट बताउनुहुन्छ । “सबै साथीसँग सहयोग मागिरहेको छु”, उहाँले भन्नुभयो, “आफूलाई सभापतिमा सहयोग गर्ने कुरा न्योयोचित हुन्छ भन्ने लाग्छ ।”

सभापति लगायतका पदका आकाङ्क्षी पार्टीका कार्यकर्ताको घरमै पुगेर आ– आफ्नो पक्षमा माहोल बनाउन थालेका छन् । प्रदेशका अधिकांश जिल्लाको कांग्रेस पार्टी सङ्गठनमा केन्द्रीय सभापति देउवाको प्रभाव छ । गत निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध अन्तरघात गरेको आरोपमा कारबाहीमा पर्नुभएका पूर्वसांसद पुस्करनाथ ओझाको पार्टीको आउने अधिवेशनमा भने खास प्रभाव नदेखिने कतिपय कांग्रेस कार्यकर्ताको भनाइ छ ।

एक कांग्रेसका जिल्ला नेताले भन्नुभयो, “उहाँले पार्टी राजनीतिमा आफूलाई सक्नुभयो, उहाँलाई साथ र सहयोग गर्दै आएका आफूहरुलाई पनि राजनीतिमा अगाडि बढ्ने वतारवरण बिगार्नुभयो ।”

ओझालाई प्रतिनिधिसभाको गत निर्वाचनमा कैलाली क्षेत्र नं ५ का प्रत्याशी डा आराजु राणा देउवालाई पराजित गर्न अन्तरघात गरेको आरोप लागेको थियो । कांग्रेस महाअधिवेशनका लागि प्रकाशित निर्वाचन कार्यतालिकाअनुसार कैलालीको अधिवेशन आगामी साउन २६ गते हुने कार्यक्रम छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।