चितवन मेडिकल कलेजमा मुटुको शल्यक्रिया पुनः शुरु

चितवन, ७ साउन,चितवन मेडिकल कलेजले पुनः मुटुको शल्यक्रिया शुरु गरेको छ । विगत केही वर्षअघि मुटुको शल्यक्रिया शुरु गरेको कलेजले केही समय बन्द गरेको थियो । सेवा शुरु गरेसँगै कलेजले एउटा शल्यक्रियासमेत गरेको छ ।

अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेका अनुसार अब कलेजमा नियमित शल्यक्रिया हुनेछ । यस विभागको नेतृत्व प्रा डा अनिल आचार्यले गर्नुभएको छ । दश वर्ष काठमाडौँको गङ्गालाल हृदयरोग केन्द्र र तीन वर्ष मेडिसिटी हस्पिटलमा काम गरिसक्नु भएका आचार्यको नेतृत्वमा यस कलेजमा सेवा शुरु गरिएको हो ।

आचार्यसँगै कार्डियक सर्जन डा अल्का सिंहसहितको टोली रहेको छ । टोलीले सोही अस्पतालमा कार्यरत स्टाफ नर्सको मुटुको शल्यक्रिया गरेको हो । आचार्यले भन्नुभयो “मुटुको चार कोठामध्ये माथिको दुई कोठाको बीचमा प्वाल परेको थियो ।” जन्मजात यो समस्या भएकी २४ वर्षीया युवतीको सफल शल्यक्रिया गरिएको हो ।

अस्पतालमा शल्यक्रियाका लागि आवश्यक पर्ने अत्याधुनिक उपकरण र पर्याप्त जनशक्ति भएकाले नियमित यो सेवा दिन सकिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो “हामी यहाँ गङ्गालालमा हुने खर्चमा मुटुका सबै खाले शल्यक्रिया गर्न सक्छौं ।”

यो सेवा राजधानी केन्द्रत भएपछि मोफसलमा सेवा दिनका लागि आफूले राजधानी छाडेको भन्दै उहाँले अब मुटुको शल्यक्रियाका लागि राजधानी पुगेर पालो कुर्न नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारी अस्पतालमा हुने खर्चमा त्यही सरहको सेवा पालो कुर्न नपरी दिन सक्छौं ।” मोफसलमा यस विषयमा बुझाउन केही समय लाग्ने भन्दै उहाँले सरकारले दिने रु एक लाखको असहाय उपचार सहयोग र स्वास्थ्य बीमाको सेवा पनि यहाँ पाइने जानकारी दिनुभयो ।

सरकारले काठमाडाँैंको गङ्गालाल र मनमोहन अस्पतालमा १४ वर्ष मुनि र ७५ वर्ष माथिकालाई मुटुको बाथरोगको शल्यक्रिया गर्दा निःशुल्क गरेको भन्दै प्राडा आचार्यले भन्नुभयो “यो सुविधा मोफसलका अस्पताललाई पनि दिनुपर्छ ।” मुटुको उपचार राजधानीमा मात्रै केन्द्रीत रहेको बताउँदै उहाँले भन्नुभयो, “म सेवा विकेन्द्रित गर्न चितवन आएको हुँ ।”

काठमाडौँंका स्थायी बासिन्दा डा आचार्यले आफ्नो श्रीमतीको जागिर छुटाएर त्यहाँको भन्दा कम सुविधा लिएर यहाँ आएको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले मुटु रोगको सेवा मोफसलमा पनि विस्तार गर्नुपर्छ भन्ने सोचले यहाँ आएको हुँ ।” राजधानीमा मुटुको शल्यक्रियाका लागि लामो पालो कुर्नुपर्ने बाध्यता रहेको बताउँदै उहाँले भन्नुभयो, “चितवनमा यो सेवा नियमित पाउँदा धेरै बिरामीले कम खर्चमा आफ्नै घर नजिकै उपचार पाउँछन् ।”

प्राडा आचार्यको समूहले गङ्गालालमा तीन हजारभन्दा बढी मुटुको शल्यक्रिया गरिसकेको छ । यसैगरी मेडिसिटी अस्पतालमा प्रमुख कन्सल्टेन्टको रुपमा उहाँले तीन वर्ष काम गर्नुभएको छ । उहाँले बङ्गलादेशबाट एमबिबिएस र एमडिपछि सिङ्गापुरबाट फेलोसिप गर्नुभएको छ ।

अस्पतालका अध्यक्ष न्यौपानेले यहाँ मुटुसम्बन्धी सबै खालको उपचार हुने बताउनुभयो । अस्पतालमा कार्डियोलोजिसम्बन्धी प्रा डा श्यामराज रेग्मीसहितको टोलीले उपचार गर्ने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “मुटुसम्बन्धी उपचारका लागि अब राजधानी र विदेश जानु पर्दैन ।” राजधानी गएर पनि उपचार गर्ने चिकित्सक र आवश्यक उपकरण यही व्यवस्थापन भएकाले राजधानी जान नपर्ने उहाँको भनाइ छ । अध्यक्ष न्यौपानेले भन्नुभयो, “काठमाडौँबाट पनि हामीकहाँ बिरामी आउन थालेका छन् । बाहिरबाट काठमाडौँ गएकाले पनि भरतपुर ठीक छ भनेर आउने गरेका छन् ।”

अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले अस्पतालले सेवा विस्तार गर्दै आएको बताउनुभयो । मुटुसँगै कलेजो प्रत्यारोपण, न्यूरो सर्जरीजस्ता जटिल उपचार सेवा पनि अस्पतालबाट दिइँदै आएको उहाँले बताउनुभयो । छिट्टै मिर्गाैला प्रत्यारोपण सेवा पनि शुरु गर्न लागिएको उहाँले जानकारी दिनुभयो । राजधानीका अस्पतालमा लामो अनुभव लिएका विज्ञ चिकित्सक यहाँ आएसँगै जटिल किसिमका उपचार सहज बनेको उहाँको भनाइ छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।