कांग्रेसको १४औँ महाधिवेशन : आठ लाख ५२ हजारलाई क्रियाशील सदस्यता

काठमाडौँ, नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ । कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले पार्टीको १४ औँ महाधिवेशन प्रयोजनका लागि देशभरबाट आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशिल सदस्यता प्रदान गरेको हो । क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले आज पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई आज बुझाएको प्रतिवेदनमा चार लाख ४३ हजार ६७८ नयाँ र चार लाख नौ हजार ३३ ले नवीकरण गरेका हुन् । जसमध्ये पुरुष ६ लाख ५३ हजार ४३८, महिला एक लाख ९९ हजार ९७ र अन्य १७६ जना रहेका छन् ।

कांग्रेसको क्रियाशील सदस्यमध्ये प्रदेश १ मा एक लाख ७४ हजार ७८२, प्रदेश २ मा एक लाख १२ हजार ९४६, वाग्मती प्रदेशमा एक लाख ८६ हजार १४३, गण्डकी प्रदेशमा एक लाख १८ हजार ६३३ रहेका छन् । यस्तै, लुम्बिनी प्रदेशमा एक लाख ३० हजार ८८५, कर्णाली प्रदेशमा ५४ हजार ५६६ र सुदूरपश्चिम प्रदेशमा ७४ हजार ७५६ रहेका छन् ।

क्रियाशील सदस्यता छानबिन समितिले बुझाएको प्रतिवेदनअनुसार कांग्रेस क्रियाशील सदस्यमा १६ देखि २५ वर्ष उमेर समूहका ४० हजार ४२७, २६ देखि ४० वर्ष उमेर समूहका दुई लाख ४९ हजार ७७४, ४१ देखि ६० वर्ष उमेर समूहका तीन लाख २८ हजार २३४, ६१ देखि ७५ वर्ष उमेर समूहका ८३ हजार १० र ७५ वर्षभन्दा बढी उमेर समूहका ११ हजार ७७२ जना रहेका छन् ।

क्रियाशील सदस्यता छानबिन समितिमा ४६ खाले उजूरी तथा गुनासो प्राप्त भएको थियो । नवीकरणतर्फ ७७ वटै जिल्लाको क्रियाशील सदस्यता टुङ्गो लगाएको समितिले नयाँ क्रियाशील सदस्यता नामावलीलाई आगामी १४औँ महाधिवेशनका लागि स्थगन गरी उक्त महाधिवेशनपछि प्रक्रिया पु¥याएर कायम गर्ने प्रतिवेदनमा उल्लेख छ ।

कांग्रेसले पार्टीका केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा प्रदीप पौडेल, आनन्द ढुङ्गाना, जीवन परियार, श्यामकुमार घिमिरे, कल्याणकुमार गुरुङ र योगेन्द्र चौधरी सदस्य रहेको छानबिन समिति गठन गरेको थियो ।

क्रियाशील सदस्यता नामावली टुङ्गिएसँगै अब पार्टीको १४औँ महाधिवेशनको प्रक्रियासमेत शुरु हुने भएको छ । शनिबार पार्टी सभापति एवं प्रधानमन्त्री देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी एवं पूर्वपदाधिकारीको बैठकले क्रियाशील सदस्यता छानबिनको काम नसकिएको भन्दै साउन १२ गते अर्थात् (आजदेखि) शुरु हुने पार्टीको तल्लो तहको अधिवेशन स्थगित गर्ने निर्णय गरेको थियो । सो बैठकले पार्टीको केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ का बारेमा भने केही निर्णय गरेको थिएन ।

पार्टीको आज पनि पदाधिकारी एवं पूर्वपदाधिकारीको बैठक सभापति देउवाको निजी निवासमा बसिरहेको छ । आजको बैठकले क्रियाशील सदस्यता छानबिन समितिले दिएको प्रतिवेदन अध्ययन गरी महाधिवेशनको नयाँ मिति टुङ्गो लगाउनेबारे छलफल हुनेछ ।

क्रियाशील सदस्यताका कारण अधिवेशन कार्यतालिका प्रभावित

क्रियाशील सदस्यताको सम्पूर्ण काम समयमै सम्पन्न भएको कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज अर्थात् साउन १२ गते गाउँ÷नगर वडा अधिवेशन हुने थियो । तर समयमै क्रियाशील सदस्यता वडास्तरमा नपुगेका कारण पार्टी पदाधिकारी बैठकले यसअघि नै वडा अधिवेशन स्थगित गरिसकेको छ ।

कांग्रेसले क्रियाशील सदस्यताको सूचीमा केन्द्रीय सभापतिबाट हस्ताक्षर भई केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि गत असार ३० गतेभित्र तोकेको थियो । केही जिल्ला र क्षेत्रको विवादका कारण उक्त प्रतिवेदन आज १२ दिन ढिला बुझाइएको छ ।

कांग्रेसको गत असार ४ गते सम्पन्न केन्द्रीय कार्यसमितिले बैठकले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने संशोधित कार्यतालिका पारित गरेको थियो । संशोधित कार्यतालिकाअनुसार गाउँ÷नगर वडा अधिवेशन यही साउन १२, गाउँ÷नगरपालिका अधिवेशन साउन १६, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते तोकिएको थियो ।

यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।