मिथिलामा मधुश्रावणी पर्व प्रारम्भ

गोपालप्रसाद बराल/महोत्तरी, १३ साउन । महोत्तरीसहितका मिथिला क्षेत्रमा नवविवाहित मिथिलानी (मिथिलाका नारी) आज मधुश्रावणी पर्व शुरु गर्दैछन् । नवविवाहिता मिथिलानीले १३ दिनसम्म मनाउने यो पर्व मनाउन अहिले माइत पुगेका छन् । साउन कृष्ण पञ्चमीका दिन शुरु भई साउन शुक्ल तृतीयाका दिन सम्पन्न गरिने यस पर्व मिथिलानीका लागि हासपरिहास र मनोरञ्जनको माध्यम पनि बन्दै आएको छ ।

मिथिलाका प्रत्येकजसो बस्ती अहिले मधुश्रावणीको रङमा जोडिँदा छन् । यो पर्व बर्तालु र उनका सखीको वस्त्र परिधानको सजधज, सामूहिक प्रणयगान र ‘फूललोढी’ (फूल खोज्ने) विधिले सबैको ध्यान खिच्ने बनेको छ । शिव, पार्वती (गौरी) र ‘विषहरा’ (नागदेवता) को आराधना गरिने यस पर्वमा भोलिपल्टको पूजाअर्चनाका लागि एक दिनअघिको सन्ध्याकालमा सामूहिकरूपमा फूल खोज्न निस्कने विधिलाई ‘फूललोढी’ भन्ने गरिएको छ । पर्वमा भगवान शङ्कर र देवी गौरीलाई बासी फूल चढाउने चलन छ ।

“सूर्यास्त हुनपूर्वको बेलामा प्रणयगान गाउँदै विशेष वस्त्र परिधानमा सजिएका नवयौवना जब फूल खोज्ने विधिका लागि निस्कन्छन्, स्वाभाविकरूपमा वरपर हुने सबैको ध्यान त्यसतर्फ खिचिन्छ”, महोत्तरीको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण पिद्यापीठका साहित्य विषयका उपप्राध्यापक ध्रुव राय भन्नुहुन्छ, “भर्खरै विवाहित जोडीको प्रणय सम्बन्ध प्रगाढ बनाउने कामनाभित्रको ‘फूललोढी’ विधिमा निस्केका मिथिलानीको त्यही विषय भाव समेटिएका गीतले आफ्ना सबै गुमाएको वा छोडेको फुटपाथेलाई पनि रोमाञ्चित गराउँछ ।” आमरूपमा प्रगाढ प्रणय सम्बन्धको अपिलमा सामाजिक शिष्टता नाघिने शब्द हुनसक्ने अड्कल यहाँ नअटाउने राय बताउनुहुन्छ । “गीतका शब्द र भावले शिष्टता नाघेको भान हुँदैन”, रायले अगाडि भन्नुभयो, “गीत बर्तालुको प्रणय सम्बन्ध प्रगाढ होस् भन्ने भावमा सलल बगेको हुन्छ, जो अत्यन्त कर्णप्रिय लाग्दछ ।”

वर्षायाम प्रगाढ प्रणय सम्बन्धलाई अपिल गर्ने मौसम मानिन्छ । वनमा रमाउने मयुर पनि यसै मौसममा प्रणय सम्बन्धमा लीन हुन्छन् । यस्तो बेला नवविवाहिता जोडीबीच रतिरागदेखि भावनात्मकरूपमा एकाकार गराउनु पर्वको मुख्य पक्ष रहेको मिथिला संस्कृतिका जानकार बताउँछन् । त्यसैले यो पर्व नवविवाहिताका लागि खास हुने गरेको छ । समूहमा ‘फूललोढी’ मा निस्केका नवयौवना मिथिलानी साउने झरीमा रुझ्दै आपसी परिहासमा मस्त रहेको दृश्य अघाउँजी नहेरी कुनै बटुवा अघि बढ्न हतार गर्दैनन् । नवविाहिता मिथिलानीबीच आपसी हासपरिहास यस पर्वको विशिष्ट पक्ष रहेको महोत्तरीकै बर्दिवास नगरपालिका–२ का बासिन्दा कर्मकाण्ड र मिथिला संस्कृतिका ज्ञाता महेशकुमार झा बताउनुहुन्छ ।

पर्वमा नवविवाहिता मिथिलानी आफ्ना सखीहरुबीच भर्खरै शुरु भएको दाम्पत्य जीवनका कौतुहलता, पतिले देखाउने वास्ता र रतिरागसम्मका अनुभव साटासाट हुन्छन् । “बेहुली भएर पति घर गएदेखि मधुश्रावणी मनाउन माइत आएबीचका अन्तरङ्ग अनुभव बर्तालुले सुनाउँदा विवाह योग्य उमेर पुगेकी सखीको कौतुहलताको मापन के होला ?” मिथिला क्षेत्रका प्रसिद्ध साहित्यकार एवं पूर्वप्रशासक जलेश्वर नगरपालिकाको बखरी बस्तीका ७५ वर्षीय महेश्वर राय भन्नुहुन्छ, “यो कुराको अनुमानले मात्र पनि जो कसैलाई रोमाञ्चित बनाउँछ ।”

पहिले मिथिलाका ब्राह्मण, कायस्थ, देव र सोनार जातिका महिलाले मात्र मनाउने यो पर्व अब साझा भइसकेको छ । पतिघरबाट आएका सामग्री प्रयोग गरेर माइतमा मनाइने यो पर्व मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग नै बनेको मिथिलानी बताउँछन् । पर्वमा शिव, पार्वती (मधुश्रावणी व्रत विधानमा पार्वतीलाई गौरी नाम दिइएको छ) र विषहराको पूजाआराधना गरेपछि बर्तालुलाई ज्येष्ठ महिलाले मधुश्रावणी कथा सुनाउँछन् । यिनमा पौराणिक गाथामा आधारित मैना पञ्चमी, विषहरी, बिहुला, मनसा, मङ्गला गौरी, पृथ्वीको जन्म, समुद्र मन्थन र सतीको कथा हुने गरेका अहिले पर्व मनाउन माइत आएकी भङ्गाहा नगरपालिका–४ रामनगरकी पुनिता साह सोनार बताउनुहुन्छ ।

पर्वमा आफ्नो स्खलित भएको विर्य भगवान् शङ्करले पातमा राखेका र त्यही विर्यबाट पाँच नाग कन्याको जन्म भएको कथा प्रचलित छ । कुनै तलाउमा जलक्रिडाका बेला जन्मेका यी छोरी भेट्न शिव जाने गरेका र यो वृतान्त थाहा नपाएकी पार्वतीलाई पतिप्रति शङ्का बढेपछि पिछा गरेकी कथा छ । एक दिन छोरीहरुसँग खेलिरहेका पतिलाई देखेर क्रोधित भएकी पार्वतीलाई शिवले सबै कुरा बताएपछि क्रोध शान्त भएको प्रसङ्ग छ । पार्वतीलाई खुशी तुल्याएपछि शिवले साउन महिनामा यी नागिनीको पूजा गर्नेलाई सर्पको भय नहुने वरदान दिएबाट मधुश्रावणी पर्वमा विषहराको पूजा विधान शुरु भएको लौकिक जनविश्वास छ । देवी गौरी दाम्पत्य जीवन सुखद बनाउने र सबै मनोकामना पूरा गर्ने मानिएकीले उनको पूजाअर्चना नवविवाहिताले यसै अभीष्टका लागि शुरु गरेका मिथिला लोक संस्कृतिका जानकार महोत्तरीकै बलवा नगरपालिका–१० धमौराका कामेश्वर झा बताउनुहुन्छ ।

पर्वको मुख्य पक्ष नै नारी जीवनमा पतिप्रतिको स्नेह र सम्बन्ध प्रगाढ बनाउन केन्द्रित रहेकाले यससँग जोडिएर आउने ठट्यौली र हासपरिहासले पर्वको महत्ता उज्यालिएको पाका मिथिलानी बताउँछन् । प्राचीन वैदिक ग्रन्थ शिव पुराणमा कुष्ठरोग भएका आफ्ना पतिलाई ठिक गराउन मधुश्रावणी नाउँकी नवविवाहितालाई शिवले यो व्र्रत गर्न लगाएको प्रसङ्ग छ । शिवको आज्ञाअनुसार मधुश्रावणीका पति ठिक भएपछि पति कल्याण र आपसी सम्बन्ध प्रगाढताको कामना राखिने यो पर्व परम्परा चलेको विश्वास गरिन्छ ।

बर्तालुुले साउन कृष्ण चौथी (चतुर्थी) का दिन पवित्र स्नान गरेर चोखोनितो बनेपछि व्र्रत सङ्कल्प गर्दछन् । व्रत अवधिभरि मन पवित्र बनाएर सात्विक भोजन गर्नुपर्ने विधान छ । सधैँ दिउँसोपछि सूर्यास्त हुनपूर्व सखीसहेलीका साथ हाँस्दै, खिल्लिँदै र प्रणयभावका गीत गाउँदै ‘फूललोढी’मा निस्कनु र सङ्कलन गरिएका बेलपत्र र विभिन्न जातका फूल राति बासी राखेर भोलिपल्ट त्यसैले शिव, पार्वती र विषहराको पूजा आराधना गरेर कथा श्रवण गर्नु पर्वअवधिको मुख्य तालिका हो । बर्तालुुले सधैँ बिहान पवित्र स्नान गरेर पूजाआराधना गरेर कथा श्रवण गरेपछि सात्विक भोजन गर्ने गर्छन् । पर्वमा अटल सौभाग्यकी देवी मानिने गौरीको पूजाआराधनाका लागि छुट्टै नैवेद्य बनाउने चलन पनि छ ।

माइतमै बसेर मनाइने भए पनि पर्वमा नवविवाहिताका लागि व्र्रतअवधिको खाद्यान्न, वस्त्रपरिधान, बर्तालुका शृङ्गार प्रशाधन, पूजा सामग्री र अन्य पर्वविशेषका आवश्यक वस्तु पतिघरबाटै पु¥याइनुपर्ने चलन छ । माइतीघरको आँगन वा अन्य सुरक्षित ठाउँमा बनाइएको खास मण्डप (अरिपन)मा बसेर त्यहीँ देवता स्थापित गरेर यो पर्व मनाइन्छ । कूल देवताको स्मरण गरेर शुरु गरिएको पूजाआराधनामा प्रत्येक दिनको पूजापछि माइती घरका ज्येष्ठ सदस्यबाट बर्तालुले आशीर्वाद लिने गर्छन् ।

पर्व १३औँ दिन समापन गरिन्छ । समापन भएपछि दिनहुँ पूजा गरिएका बेलपत्र र फूल सङ्ग्रह गरेर पवित्र नदी वा तलाउमा विसर्जन गरिने चलन छ । यसअघि १२ औँ दिन साँझ पूजाअर्चनापछि बर्तालुलाई ‘टेमी’ दिने गरिन्छ । दियोमा बालिने बत्तीको लप्कोले बर्तालुको देब्रे गोडाको घुँडामा डाम्ने विधिलाई ‘टेमी’ भन्ने गरिएको हो । ‘टेमी’ दिइएको ठाउँमा फोका उठे पति पत्नीबीच प्रेमसम्बन्ध अत्यन्त गाढा हुने मानिन्छ । पछिल्लो कालमा भने नयाँ पुस्ताका मिथिलानीले ‘टेमी’ प्रचलनलाई परिष्कृत गरिनुपर्ने आवश्यकता आँैल्याएका छन् । पर्वमा बर्तालुलाई बलेको बत्तीको लप्काले डाम्न सट्टा शीतल चन्दनको लेप उपयुक्त हुने नयाँ पिढीका मिथिलानीको भनाइ छ । पछिल्ला केही वर्षयता यो चलनमा आउन थालेको मिथिलानीले बताएका छन् ।

विधिमा केही परिष्कारको कुरा उठेका र समयक्रममा ती स्थापित हुने मैथिल बुद्धिजीवी बताउँछन् । पर्वको अभीष्ट नै प्रेम सम्बन्धको प्रगाढता भएकाले यसले मैथिल संस्कृति पारिवारिक सद्भाव वृृद्धिमा सचेत रहेको सन्देश नै प्रवाह भएको कुरामा मैथिल एकमत देखिन्छन् ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।