वालिङका २५६ खरका छाना हटाएर जस्तापाता

वालिङ, स्याङ्जाको वालिङ नगरपालिकाले हालसम्म २५६ खरका छाना विस्थापित गरी जस्तापाता लगाइदिएको छ । वालिङ नगरपालिका तथा सङ्घीय आयोजना कार्यान्वयन एकाई अन्तर्गतको सुरक्षित नागरिक आवास कार्यक्रममार्फत खरका छाना विस्थापित गरी जस्तापाता लगाइएको हो ।

वालिङ नगरकार्यपालिकाको पाँचौं नगरसभाले नगरभित्रका खरका छाना हटाएर जस्तापाता लगाउने नीति तथा कार्यक्रम पारित गरेसँगै आर्थिक वर्ष २०७६÷७७ देखि कार्यान्वयनमा आएको यो अभियान अन्तर्गत हालसम्म २५६ खरका छाना हटाएर जस्तापाता लगाइएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

स्वास्थ्यका दृष्टिले जस्तापाता भन्दा खरको छानो उपयुक्त हुँदाहुँदै पनि आगलागीको सम्भावना तथा छाना छाउने दक्ष कामदारको अभावका कारण नगरपालिका तथा सुरक्षित नागरिक आवास कार्यक्रममार्फत जस्तापाता लगाइएको नगर प्रमुख खाँणले बताउनुभयो ।

“कतिपय नागरिक खरको छाना फेरेर जस्तापाता लगाउन सक्ने अवस्थामा पनि हुनुहुन्न”, नगर प्रमुख खाँणले भन्नुभयो, “खरका छाना भएका नागरिकलाई समाजमा हेर्ने प्रवृत्ति पनि फरक हुने गरेकाले उहाँहरुको मागका आधारमा जस्तापाता लगाइदिँदै आएका छौं ।”

छाना विस्थापनका लागि माग भई आएका नागरिकलाई आवश्यक प्रक्रिया पूरा गरी जस्तापाता वितरण गर्ने र वालिङलाई खरका छानारहित बनाउनका लागि बाँकी रहेका घरलाई यसै वर्षमा सम्पन्न गर्ने गरी अगाडि बढिएको नगर प्रमुख खाँणले बताउनुभयो ।

वालिङ नगरपालिकामा हालसम्म खरको छाना विस्थापनका लागि ४३१ घरले आवेदन दिएकामध्ये सुरक्षित नागरिक आवासका कार्यक्रमका लागि २५४ मध्ये २४० घरधुरीले मात्रै सम्झौता गरेर निर्माण थालेका नगर प्रमुखको सचिवालयका सचिव छबि आलेले बताउनुभयो ।

“आवेदन दिएकामध्ये सबै घरले सम्झौता गर्नुभएको छैन”, आलेले भन्नुभयो, “दुई किस्तामा गरेर लाभग्राहीलाई ५० हजार उपलब्ध गराउँछौं ।” सुरक्षित नागरिक आवासका लागि सम्झौता भएका २४० घरमध्ये हालसम्म १०६ घरले दोस्रो किस्ता निर्माण सकेपछि लगेका छन् ।

हालसम्म वालिङ नगरपालिकाबाट अहिलेसम्म १५० घरले रु ७५ लाख बराबरको जस्तापाता लगेका छन् भने सुरक्षित नागरिक आवास कार्यक्रममार्फत १०६ घरले रु ५० हजार रकम बुझेका आलेले बताउनुभयो । नगरपालिकामा आवेदन दिएका ४३१ घरमध्ये १७५ घर निर्माण हुन बाँकी रहेका छन् । प्रति घरलाई रु ५० हजारका दरले हालसम्म रु एक करोड २७ लाख खर्च भएको आलेले बताउनुभयो ।

नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ बाट शुरुआत गरेको अभियानमा गत आर्थिक वर्षबाट सुरक्षित नागरिक आवास कार्यक्रममार्फत सहयोग भएको हो ।

खरका छाना भएका घरधनीले सम्बन्धित वडाको सिफारिस, छानोको फोटोसहितको निवेदन नगरपालिका कार्यालयमा दिएपछि प्राविधिकले तयार पारेको लगत ईस्टिमेटका आधारमा जस्तापाता उपलब्ध गराउने प्रक्रिया रहेको आलेले बताउनुभयो । १४ वटा वडा रहेको नगरपालिकाका वडा नं २ मा ३, ३ मा ४८, ४ मा ५२, ५ मा ३९, ६ मा २१, ७ मा ४८, ८ मा २८, ९ मा ६, १० मा १५, ११ मा ९, १२ मा ५६, १३ मा १७ र १४ मा ८९ घरले खरका छाना विस्थापनका लागि नगरपालिकामा आवेदन दिएका थिए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।