कर्णालीमा खोप राख्ने ः ‘कोल्ड स्टोर’ नहुँदा समस्या

कर्णाली, कर्णालीका अधिकांश जिल्लामा पूर्ण क्षमताका ‘कोल्ड स्टोर’ नहुँदा कोरोनाको खोप भण्डारण तथा व्यवस्थापनमा समस्या देखिएको छ । सुर्खेत र जुम्ला बाहेकका जिल्लामा पूर्ण क्षमताका ‘कोल्ड स्टोर’ नहुँदा खोप आपूर्तिमा कठिनाइ भएको देखिएको हो । ती जिल्लामा खोप भण्डारणको समस्याले गर्दा प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले तत्काल आवश्यक खोप मात्र आपूर्ति गर्दै आएको छ ।

निर्देशनालयका अनुसार कर्णालीका हुम्ला, मुगु र डोल्पा जिल्लामा नेपालगञ्जस्थित क्षेत्रीय मेडिकल स्टोरबाट हवाइजहाज तथा बाँकी जिल्लामा स्थलमार्ग बाटै ढुवानीको व्यवस्था मिलाइएको छ । “कर्णालीका धेरैजसो जिल्लामा खोप भण्डारणको समस्या छ, जसले गर्दा आवश्यक खोप एकैपटक पठाउन सकिएको छैन”, निर्देशनालयका सूचना अधिकारी एवं वरिष्ठ स्वास्थ्य शिक्षा प्रशिक्षक नोदनारायण चौधरीले भन्नुभयो, “भएका कोल्ड स्टोरमा पनि सबै खोप अट्न सक्ने क्षमता छैन ।” उहाँले सुर्खेत, दैलेख, सल्यान र रुकुमपश्चिममा निर्देशनालयकै रेफ्रिजरेटर भ्यानले खोप ढुवानी गर्ने गरिएको बताउनुभयो ।

पाँचाँै चरणको खोप अभियानअन्तर्गत हाल कर्णालीका सबै जिल्लामा भेरोसेल र जेन्सन एण्ड जोन्सन खोप अभियान सञ्चालन भइरहेको छ । उत्तरी छिमेकी मुलुक चीनसँग सीमा जोडिएका स्थानीय तहमा भेरोसेल खोप लगाउन थालिएको छ । ती क्षेत्रमा १८ वर्ष उमेर पुगेका सबै नागरिकलाई खोप लगाउने व्यवस्था मिलाइएको छ ।

कोल्ड स्टोरको समस्याले पटक–पटक खोप ढुवानी गर्नुपर्ने बाध्यता रहेको निर्देशनालयका कर्मचारी बताउँछन् । सुर्खेत, दैलेख, कालीकोट, सल्यान, जाजरकोट र रुकुम पश्चिममा जेन्सन एण्ड जोन्सन तथा बाँकी जिल्लामा भेरोसेल खोप लगाउन थालिएको छ । नियमित खोप कार्यक्रमका कारण कतिपय जिल्लामा कोरोना विरुद्धको खोप लगाउन ढिलाइ भएको निर्देशनालयको भनाई छ।

साढे दुई लाख बढीले खोप लगाए

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले हालसम्म कर्णालीमा दुई लाख ५९ हजार ७४७ जनाले कोरोना विरुद्धको खोप लगाइसकेको जनाएको छ । यहाँ खोप लगाउनुपर्ने लक्षित वर्गको कूल जनसङ्ख्या १० लाख ९४ हजार ४४७ छ । पाँचौँ चरणको खोप अभियान सम्पन्न भएपछि यो सङ्ख्या बढ्ने बताइएको छ ।

विसं २०७७ माघ १४ गतेदेखि शुरु भएको खोप अभियानको पहिलो चरणमा ‘कोभिशिल्ड’ खोप लगाइएको थियो । यो खोप एक लाख आठ हजार ४८६ जनाले लगाएका थिए।‘कोभिशिल्ड’ खोप प्राप्त नभएका कारण ८२ हजार ६७० जनाले अझै दोस्रो मात्रा लगाउन पाएका छैनन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।