नायब बहादुर शाहको गोकर्णेश्वरमा सालिक अनावरण

काठमाडौँ, गोकर्णेश्वर नगरपालिका–७ मा नायब बहादुर शाहको पूर्णकदको सालिक अनावरण गरिएको छ ।वाग्मती प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत नायब बहादुर शाहको सालिक निर्माण गरिएको हो । सालिकको वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले आज अनावरण गर्नुभएको हो ।

सो अवसरमा उहाँले अन्यायमा परेको ऐतिहासिक पात्रलाई सम्झेको दिनका रुपमा आजको दिनलाई आफूले लिएको बताउनुभयो । “असल काममा लाग्दा विरोध र विवाद हुन्छ भन्ने कुराको प्रमाण बहादुर शाह बन्नुभएको छ, समाजमा असल काम गर्नेको खुट्टा तानेको देखिन्छ, बहादुर शाहले पनि त्यस्तै नियति व्यहोर्नुभयो”, उहाँले भन्नुभयो, “नेपाल एकीकरण अभियानलाई तेब्बर बनाएर पनि उहाँले न्याय पाउनुभएन ।

मन्त्री फुयाँलले सम्पदा मैत्री विकास निर्माणमा सरकार लागेको उल्लेख गर्नुहुँदै साना सुरुङ मार्ग निर्माणलाई पनि प्राथमिकतामा राखिएको बताउनुभयो । ऐतिहासिक स्थलको संरक्षणको अभियानमा लागेको प्रदेश सरकारले ऐतिहासिक व्यक्तित्वका इतिहासलाई जीवन्त राख्न पनि काम गरेको उहाँको भनाइ थियो । मन्त्री फुयाँलले एक सय चार वर्षअघि नै चुरियामाईमा निर्माण भएको सुरुङलाई सम्पदा स्थलका रुपमा विकास गर्न प्रदेश सरकारले काम थालिसकेको उल्लेख गर्दै आगामी वैशाख १ गते त्यसको उद्घाटन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले छोटो समयमा नेपाल एकीकरण गर्न सफल हुनुभएका बहादुर शाहले काम अनुसारका इतिहासमा चर्चा नपाएको तथा षड्यन्त्रपूर्वक हत्या गरिएकामा सालिक निर्माणले न्याय दिएको बताउनुभयो । नेपाल ट्रष्टको जग्गामा सालिकसहित उद्यान निर्माण भएको छ । सालिक र उद्यानको रेखदेखका लागि गोकर्णेश्वर नगरपालिकाले माली व्यवस्था गरिएको उहाँले जानकारी गराउनुभयो ।

गोकर्णेश्वर–७ का वडाध्यक्ष केशव गुरुङले सालिक र उद्यान क्षेत्रलाई रमणीय स्थलका रुपमा विकास गरिने बताउनुभयो । नेपाल ट्रष्टसँग सालिक निर्माणका लागि जग्गा उपलब्ध गराउन पूर्व मुख्यसचिव लीलामणि पौडेलको योगदान महत्वपूर्ण रहेको जानकारी उहाँले दिनुभयो ।

मानव अधिकार तथा शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनीले नेपाललाई पूर्वमा टिस्टा एवं पश्चिममा किल्ला काँगडासम्म पु¥याउन बहादुर शाहको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभयो ।

शाहको पूर्णकदको सालिक मूर्तिकार राजु तुलाधरले निर्माण गर्नुभएको हो । बहादुर शाह सालिक स्थापना तथा संरक्षण समितिका अध्यक्ष नानीकाजी गिरीले पूर्वमा टिस्टा, पश्चिममा किल्ला काँगडा, उत्तरमा मानसरोवर, दक्षिणमा भागीरथीसम्म सीमा पु¥याउने ऐतिहासिक व्यक्तित्वको योगदानको सम्झनामा निर्माण भएको सालिक सम्भवत ः नेपालमै पहिलो हुनसक्ने जानकारी गराउनुभयो । सालिक निर्माणका क्रममा अन्यत्र कतै बहादुर शाहको सालिक छ कि भनेर खोजी गर्दा नभेटिएको उहाँको अनुभव छ ।

नेपाली सेनाको बिस्तारमा लाग्नुभएका बहादुर शाहले गण, गुल्म गरी १०० वटा समूह निर्माण गर्नुभएको उहाँको भनाइ थियो । विसं १८२४ असार १४ गते शाहको निधन भएकामा सबै इतिहासकार एकमत रहेपनि हत्याको तरिकाका बारेमा भने उहाँहरुको मत फरक छ ।

बहादुर शाहको सालिक निर्माण अभियानको नेतृत्व गर्नुभएका मन्त्री फुयाँलले एकीकरण अभियानका ऐतिहासिक पात्र विसे नगर्चीको सालिक पनि वाग्मती प्रदेशका कुनै स्थानमा बनाउने तयारी भएको जानकारी गराउनुभयो । कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका–६ का वडाध्यक्ष प्रकाश फुयाँल, गोकर्णेश्वर –७ का महिला सदस्य विन्दा सापकोटा, आयोजक समितिका सचिव ज्ञानहरि ढुङ्गाना, सदस्य भवानी सापकोटालगायतले नेपाल एकीकरण अभियानमा बहादुर शाहको योगदानका विषयमा चर्चा गर्नुभएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।