गलेम भिरलाई हाइकिङमार्फत जोड्ने प्रयास

वासुदेव पौडेल,गण्डकी: स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिका–४ स्थित गलेम भिरलाई हाइकिङमार्फत जोड्ने प्रयास थालिएको छ । धार्मिक एवं पर्यटकीय महत्वको गलेम भिरलाई पदयात्रा पर्यटनसँग जोड्दै एक दिवसीय हाइकिङको गन्तव्य बनाउने सोचका साथ बृहत् फेदीखोला पोखरा समाजको समन्वयमा हाइकर्स क्लब नेपालले उक्त क्षेत्रको प्रवद्र्धनात्मक हाइकिङ सम्पन्न गरेको छ ।

गलेम भिरसँगै गलेम गाउँ र यससँग जोडिएका प्रकृति र संस्कृतिका विविध पक्षलाई एक साथ समेट्दै अघि बढाउने र यस क्षेत्रलाई एक दिवसीय हाइकिङको गन्तव्य बनाउने सोच राखिएको हाइकर्स क्लब नेपालका उपाध्यक्ष कृष्ण रानाभाटले जानकारी दिनुभयो । “गलेम भिर यस क्षेत्रका स्थानीयवासीको धार्मिक आस्था एवं विश्वाससँग जोडिएको ठाउँ पनि हो”, उहाँले भन्नुभयो, “स्याङ्जा बजारका साथै पोखराबाट आउने पर्यटकलाई एक दिनको हाइकिङ गराउँदै यहाँका प्रकृति र संस्कृतिका विविध पक्ष एकसाथ अवलोकन गराउन सकिन्छ ।”

हाइकिङको सुरुआत हुने स्थल आरुखर्क बजारबाट पदयात्री ढुङ्गे देउराली हुँदै गलेम भिर भएर गलेम गाउँसम्म पुग्दछन् । आरुखर्कबाट दृश्यावलोकन गर्दै गलेम गाउँसम्म पुग्न झण्डै दुई घण्टा लाग्दछ । गाउँबाट करिब आधा घण्टाको दूरीमा मनोरम काल्से झरना रहेको बृहत् फेदीखोला सम्पर्क समाजका उपाध्यक्ष कृष्ण क्षेत्रीले जानकारी दिनुभयो ।

हाइकिङ मार्गमा पर्ने ढुङ्गे देउराली चौताराको छुट्टै धार्मिक महत्व छ । यस मार्ग हुँदै आवतजावत गर्नेले यात्रामा कुनै समस्या नआओस्, यात्रा सुखद् होस् भन्दै ढुङ्गा चढाएर हिँड्ने प्रचलन अहिले पनि कायमै छ । हाइकर्स क्लब नेपालका सदस्य टीका आचार्यका अनुसार गण्डकी प्रदेशभित्रका पर्यटकीय सम्भावनायुक्त गाउँलाई क्लबले हाइकिङका माध्यमबाट प्रवद्र्धन र विकास गर्दै आएको छ ।

‘स्वास्थ र पर्यटनका लागि हाइकिङ’ भन्ने नाराका साथ क्लबले प्रत्येक महिनाको अन्तिम शनिबार गर्दै आएको हाइकिङको १९ औँ शृङ्खला यस पटक आरुखर्क बजार–गलेम भिर हुँदै गलेम गाउँसम्म गरिएको उहाँले जानकारी दिनुभयो । विगत दुई वर्षदेखि गण्डकी प्रदेशका नयाँ नयाँ गन्तव्यमा क्लबले हाइकिङ सञ्चालन गर्दै आएको जानकारी दिँदै आचार्यले कोभिड महामारीले केही समय हाइकिङ स्थगित गर्नुपरेको बताउनुभयो ।

“कोभिड महामारीका बीच पछिल्लो समय खोप लगाउने क्रम पनि बढ्दै गएको र क्लबका प्रायः सदस्यले खोप लगाइसक्नुभएको छ”, उहाँले भन्नुभयो, “आगामी दिनमा स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरूपमा पालना गर्दै क्रमशः हाइकिङका गतिविधि अघि बढाउने सोचमा छौँ ।” हाइकिङको १९ औँ शृङ्खला स्वास्थ्य मापदण्ड पालनासहित स्यानिटाइजर, मास्क आदिको प्रयोगसहित सम्पन्न गरिएको उहाँले जानकारी दिनुभयो ।

फेदीखोला गाउँपालिका–४ का वडाध्यक्ष माधव सुवेदीका अनुसार आरुखर्कस्थित ऐतिहासिक शाहवंशीय दरबार, गलेम भिर आदि यहाँका पर्यटकीय गन्तव्य हुन् । यस क्षेत्रको विकासलाई लक्षित गरी दरबारको भग्नावशेषको संरक्षणका साथै यहाँका पर्यटकीयस्थलको प्रवद्र्धन, सर्केटारी आरुखर्क हुँदै पञ्चासे जाने बाटो कालेपत्रे गर्ने काम भइरहेको छ ।

फेदीखोला गाउँपालिका–१ सर्केटारी हुँदै गलेम–पञ्चासे  सडकखण्डको भिरखण्ड दुई दशमलव छ किलोमिटर दूरीमा रहेको र सोही स्थानमा पार्क तथा वनभोजस्थल बन्न लागेको स्थानीय युवा पर्यटन व्यवसायी अशोक लामिछानेले जानकारी दिनुभयो । यस क्षेत्रमा रहेका पर्यटकीय सम्भावनालाई उजागर गर्न आवश्यक रहेको उल्लेख गर्दै उहाँले दृश्यावलोकन, हाइकिङका साथै अन्य पर्यटकीय गतिविधि पनि बढाउन सकिने बताउनुभयो ।

बृहत् फेदीखोला पोखरा सम्पर्क समाजका अध्यक्ष अविलास गुरुङले आरुखर्कस्थित शाहवंशीय राजाको दरबार रहेको क्षेत्र, शिवालय मन्दिर, आरुखर्क बजार, ढुङ्गे देउराली चौतारी, गलेमको भिर, भिरमा निर्माणाधीन पार्क, गलेम गाउँ आदिलाई समेट्दै यहाँको पर्यटकीय विकास गर्न सकिने सम्भावना रहेको बताउनुभयो । पर्यटकीय सम्भावनालाई उजागर गर्न सङ्घ, प्रदेश तथा स्थानीय तहका सरकारको साथ र सहयोगका साथै स्थानीयवासीको जागरुकता अपरिहार्य हुने उहाँले बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।