ठेकेदार कम्पनीले कम गुणस्तरको काम गरेकाले कालोपत्र गरेको दुई महिनामै सडक भत्किन थाल्यो

राँझा, १० भदौ । बाँकेको जानकी गाउँपालिकास्थित पिप्रहवा चोकदेखि खजुरा नहर चोक जोड्ने पक्की सडक निर्माण सम्पन्न नहुँदै भत्किएको छ । गाउँपालिकाको महत्वपूर्ण योजनाका रुपमा रहेको निर्माणाधीन सात किलोमिटर सडकमध्ये कालोपत्र गरिएको करिब दुई किलोमिटर सडकमा भत्किने र भासिने समस्या देखिएको छ ।

ठेकेदार कम्पनीले कम गुणस्तरको काम गरेकाले कालोपत्र गरेको दुई महिनामै सडक भत्किएको स्थानीय अगुवा दुखीराम लोनियाले बताउनुभयो । निर्माण सम्पन्न नहुँदै सडक भत्किन थालेपछि सडक गुणस्तरीय निर्माण गर्न आफुहरुले पटक–पटक माग गर्दै आएको उहाँको भनाइ छ । “एक त साँघुरो सडक, त्यसमा पनि ‘कमसल’ निर्माण भएका कारण कालोपत्र सडक एक महिनामै भत्किन शुरु भएको छ”, उहाँले भन्नुभयो, “सधैँ धुलाम्मे र हिलाम्मे हुने सडक कालोपत्र हुँदा खुसी भएका थियौँ, तर बाटो कालोपत्र भएको महिनादिनमै ठाउँ–ठाउँमा उप्किन थाल्यो, भासिन थाल्यो ।”

सिक्टा सिँचाइ आयोजनाको नहरसँगै जोडिएको उक्त सडक साँघुरो छ । नहरको केही भागलाई समेत समेटेर निर्माण गरिएको सो सडकमा दैनिक सयौँ ठूला मालबाहक गाडी गुड्छन् । साँघुरो र भत्किएको सडकका कारण दिनहुँ सडक दुर्घटना हुने र ट्राफिक जाम लाग्ने गर्दछ ।

गाउँपालिकाले पहिलो चरणमा गत वर्ष उक्त सडकमा माटो पटान, ग्राभेल, नाला र कल्र्भट निर्माणलगायत काम गर्न करिब रु आठ करोड खर्च गरेको थियो । दोस्रो चरणमा यस पटक कालोपत्र मात्रै गर्न ठेकेदारसँग रु चार करोड ६१ लाख ५१ हजार ५७९ मा ठेक्का सम्झौता गरिएको छ । दोस्रो चरणअन्तर्गत २०७७ माघ २५ गते भएको सम्झौताको म्याद २०७८ फागुन १ गते सकिने गाउँपालिकाका प्राविधिक शाखा प्रमुख इञ्जिनियर प्रजेश आलेले जानकारी दिनुभयो ।

उहाँले सम्झौताअनुसार ठेकेदार कम्पनीले सडक निर्माण गरे पनि केही स्थानमा सडक भत्किने र भासिन पुगेको बताउनुभयो । ठेकेदारले सबै काम सम्पन्न गरेर हस्तान्तरण नगर्दासम्म बीचमा आउने समस्या समाधान गर्न लगाइने उहाँको भनाइ छ । ठेकेदार कम्पनी ‘अमर÷सिस्ने जेभी’ ले सडक निर्माण गर्ने जिम्मा लिएको छ । गाउँपालिकालाई सदरमुकाम नेपालगञ्जसँग जोड्ने मुख्य सडकका रुपमा समेत निर्माण कार्य सुरु गरिएको हो ।

गाउँपालिकाको वडा नं ६ गनापुरस्थित पिप्रहवा चोकदेखि वडा नं ४ खजुराखुर्दको नहरचोक हुँदै नेपालगञ्ज–गुलरिया हुलाकी सडकमा जोड्ने गरी निर्माण गरिएको गाउँपालिकाका उपाध्यक्ष भूमिसरा धितालले बताउनुभयो । निर्माणाधीन सडक भत्केको र भासिएको स्थानमा अनुगमन गरिएको उल्लेख गर्दै उपाध्यक्ष धितालले सम्झौताअनुसारको गुणस्तरीय सडक निर्माणका लागि ठेकेदार कम्पनीलाई आग्रह गरिएको जानकारी दिनुभयो ।

“गनापुरको भित्रसम्म उद्योग खुलेका छन्, साँघुरो र कच्ची सडक भएका कारण मालबाहक सवारीसाधन हिँड्न कठिनाइ हुँदै आएको छ”, उहाँले भन्नुभयो, “यो सडक निर्माणले गाउँपालिकामा रहेका उद्योगका सवारी साधनसँगै सर्वसाधारणलाई आवागमनमा सजिलो हुनेछ।”

गनापुरको पूर्वी क्षेत्रमा रहेका उद्योगले नेपालगञ्ज, कोहलपुर सडक प्रयोग गर्दै आए पनि पश्चिमतर्फ भित्रीभागमा रहेका उद्योगलाई सो सडक निर्माणपछि सवारी साधन आवागमनमा सहज हुनेछ । सिक्टा सिँचाइको नहरसमेत यही सडकको किनारबाट निर्माण हुँदैछ । सिक्टाको नहरबाट तीन मिटर र स्थानीय जग्गाधनीबाट चार मिटर जमिन प्राप्त गरी सात मिटर चौडाइ हुने गरी सडक निर्माण गरिएको हो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।