पछिल्लो समय यहाँका किसान किबी खेतीतर्फ आकर्षित

विमलबहादुर विष्ट ,डोटी, २४ भदौ । पछिल्लो समय यहाँका किसान किबी खेतीतर्फ आकर्षित भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले कृषि आधुनिकीकरण नीतिलाई कार्यान्वयन गरिराखेको छ । यसले गर्दा उनीहरु मकै फल्ने बारीमा किबी खेती गर्न लागेका छन् ।

सो खेतीबाट वर्षौँसम्म आम्दानी लिन सकिने जनाइएको छ । यसबाट मनग्य आम्दानी हुन थालेपछि त्यसतर्फ आफूहरुको आकर्षण बढेको किसान बताउँछन् । जिल्लाको जोरायल गाउँपालिका–५ गड्सेरा, दिपायल सिलगढी तथा शिखर नगरपालिकालगायतका ठाउँमा किबी खेती गरिँदै आएको छ ।

आठ वर्ष पहिले परीक्षणका लागि लगाइएको किबीले अहिले राम्रो फल दिन सुरु गरेको सिलगढीका स्थानीयवासी हेम मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “साविकको जिल्ला विकास समितिले परीक्षणका लागि केही बोट किबी दिएको थियो, मैले लगाए अहिले राम्रो फलेको छ, मेरो किबी देखेर अरुले पनि लगाउन सुरु गरेका छन् ।” उत्पादित किबी स्थानीय बजारसँगै छिमेकी जिल्ला डडेलधुरा तथा कैलालीसम्म माग हुने गरेको उहाँले जानकारी दिनुभयो । किबी खेतीबाट मनग्य आम्दानी हुने गरेको जोरायल–५ गड्सेराका स्थानीयवासी लीलाधर विष्टले जानकारी दिनुभयो ।

किबीप्रति किलो स्थानीय बजारमा रु २५० देखि ३०० सम्ममा सहजै बिक्री वितरण हुने गरेको उहाँको भनाइ छ । किबीको नियमित सेवनबाट गर्भवती, रक्तचाप, मुटु र रुघाखोकीलगायतका बिरामीलाई विशेष फाइदा पुग्ने भएकाले पनि बजारमा यसको माग बढी भएको सिलगढी नगरपालिकाका निमित्त कार्यकारी अधिकृत खेमराज गुरुङले जानकारीदिनुभयो । उहाँले भन्नुभयो, “किबीले शरीरलाई राम्रो फाइदा दिन्छ, स्वास्थ्यमा फाइदा दिने जानकारी नागरिकले पाएपछि माग पनि बढेको हो ।”

हर्बल प्रोडक्टमा पनि किबीको प्रयोग हुँदै आएको कृषि प्राविधिक बताउँछन् । किवी खेती एक हजार २०० देखि दुई हजार फिटसम्मको उचाइमा लगाउन सकिने कृषि ज्ञान केन्द्रले जनाएको छ । यहाँका विभिन्न ठाउँमा एक हजार ७०० देखि एक हजार ८०० फिटसम्मको उचाइमा किबी खेती गरिएको बताइएको छ । किबी खेतीका लागि डोटी जिल्ला उपयुक्त रहेको र किसानलाई प्रोत्साहन गर्न प्रदेश कृषि विकास निर्देशनालयले सहयोग गर्दै आएको सुदूरपश्चिम प्रदेश कृषि विकास निर्देशनालय दिपायल राजपुरका निर्देशक यज्ञराज जोशीले जानकारीदिनुभयो ।

उहाँले भन्नुभयो, “हामी आधुनिक कृषि व्यवसायमा प्रोत्साहन गर्दैछौँ, किबीलगायत अन्य खेतीमा सहयोग गरेका कारण पछिल्लो समय यहाँका किसान व्यावसायिक कृषि खेतीमा लागिपरेका छन् ।” केही वर्ष पहिला परीक्षणका लागि सुरु गरिएको किबी खेती अहिले प्रशस्त फलेको र अन्य किसान पनि व्यावसायिकरूपमा किबीलगायतका खेतीमा लागेको उहाँको दाबी छ ।

किबीको बिरुवा रोपेको तीन वर्षमा फल दिन सुरु गर्ने भए पनि डोटीमा भने दुई वर्षमै किबीले फल दिएको र राम्रो आम्दानी भइरहेको सुदूरपश्चिम प्रदेश कृषि विकास निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।

किबीको बिरुवा पुस महिनामा रोपिने गरेको र यसको फल कात्तिकदेखि मङ्सिर महिनासम्म पाक्ने गरेको ज्ञान केन्द्रले जनाएको छ । रोपेको तीन वर्षबाट उत्पादन दिन सुरु गर्ने यो बिरुवाले लगातार ५० वर्षसम्म राम्रो उत्पादन दिने किबी केन्द्रको दाबी छ ।

चीनबाट पहिलो उत्पादन सुरु भएको किबीको अहिले विश्वका विभिन्न देशमा व्यावसायिकरूपमा खेती हुँदै आएको बताइएको छ । विभिन्न १७ प्रकारका भिटामीन पाइने किबी फलमा सुन्तलामा भन्दा बढी भिटामीन ‘सी’ र केरामा भन्दा पनि बढी भिटामीन ‘इ’ पाइने गरेको बताइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।