तीजको अवसरमा पाख्रीबासमा महिलाहरुको खुल्ला नृत्य प्रतियोगिता सम्पन्न,कल्पना बरुवाल समूह प्रथम
धनकुटा । हिन्दु नारीहरुको महान पर्व तीजको अवसरमा धनकुटाको पाख्रीबासमा महिलाहरुको खुल्ला नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

पाख्रीबास ४ स्थित रेडियो बरुण १०७ मेगाहर्जको आयोजना तथा पाख्रीबास नगरपालिकाको प्रायोजनमा जालपादेवी माविको प्राँगणमा आयोजना गरिएको प्रतियोगितामा विभिन्न वडाका सामूहिक र एकल गरि ६ टीमले भाग लिएका थिए ।

विशिष्ट अतिथि तथा नगर उप प्रमुख देवकला पौडेल(तिम्सिना) ले ब्यानरमा लेखिएको “हरितालिका तिज विशेष नृत्य प्रतियोगिता” पढेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

प्रतियोगितामा पाख्रीबास ४ का कल्पना बरुवाल समूहले पहिलो स्थान प्राप्त गरेको छ । त्यसैगरि सिम्रन बस्नेत समूहले दोस्रो र जस्मिन अधिकारीले तेस्रो स्थान प्राप्त गरेको छ ।

विजयी टोली,ब्यक्तिलाई नगद र प्रमाणपत्र विशेष अतिथि पौडेलको हातबाट वितरण गरिएको थियो साथै अन्य प्रतियोगिहरुलाई पनि हौसला स्वरुप रेडियो बरुणका स्टेशन प्रमुख मदन राईले नगद प्रदान गर्नु भएको थियो ।

कार्यक्रम रेडियो बरुणका स्टेशन प्रमुख राईको अध्यक्षतामा संचालन गरिएको थियो । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नगरका उप-प्रमुख पौडेलको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघ प्रदेश १ का कोषाध्यक्ष सरोज राईले स्वागत मन्तब्य राख्नु भएको थियो भने कार्यक्रममको संचालन संचारकर्मी विश्वजीत देउजाले गर्नु भएको थियो ।

प्रतियोगिताका निर्णयकहरुमा सन्जोग गुरुंग र आवन्तिका गुरुंग रहेका थिए ।



