बागलुङमा उत्पादित आधुनिक मौरीघार छिमेकी राष्ट्र भारतमा निर्यात

– तारानाथ आचार्य बलेवा, २८ भदौ । बागलुङमा उत्पादित आधुनिक मौरीघार छिमेकी राष्ट्र भारतमा निर्यात हुन थालेका छन् । बागलुङ नगरपालिका–१२, अमलाचौरमा रहेको बलेवा मौरीपालन उद्योगले उत्पादन गरेका घार भारतको सिक्किममा निर्यात हुन थालेका छन् ।

सिक्किमको कृषि विज्ञान केन्द्रले यहाँ उत्पादन भएका घार खरिद गरेर त्यहाँका किसानलाई उपलब्ध गराउन थालेको हो । सार्वजनिक सूचनामार्फत् मूल्यसूची माग गर्दा स्थानीय कम्पनीसँग प्रतिस्पर्धा गरेको उद्योगले घार उपलब्ध गराउने जिम्मेवारी पाएको थियो । पहिलो चरणमा २२६ घारका लागि विज्ञान केन्द्रले माग पठाएकाले निर्यात प्रक्रिया थालेको उद्योग सञ्चालक जीवनबाबु खत्रीले बताउनुभयो ।

“पत्रिकामा आएको सूचनाका आधारमा मूल्यसूची पेश गरेका थियौं, हाम्रो घारको गुणस्तर र मूल्य दुवै सारभूत भएको भन्दै हामी छनोटमा परेको सूचना आयो”, खत्रीले भन्नुभयो, “त्यहाँको सरकारी निकायले नै हाम्रो घर किसानलाई बाँड्ने भएपछि माग थप बढ्ने छ ।”

अहिले पनि भारतबाटै मौरीका घार नेपाल आइरहेको अवस्थामा यहाँ उत्पादित घार भारतीय किसानको घर घरमा पुग्नु आफ्ना लागि सुखद पक्ष भएको खत्री बताउनुहुन्छ । “सुन्दै आएको छु, वार्षिक रुपमा नेपालमा ४० देखि ५० हजार मौरीघार भारतबाट आयात हुन्छन्, सहज वातावरण हुने हो भने आयात घटाएर निर्यात गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

टुनीको काठबाट बनेका घरको माग बढी छ । पहिलो पटक भारत निर्यात गर्न थालेको सो उद्योगले नेपालबाट भन्सार पार गाराउन पु¥याउनुपर्ने प्रक्रिया भने झण्झटिलो रहेको जनाएको छ । “युवाहरु किन यहाँ काम हुँदाहुँदै विदेशिन्छन् भनेर बल्ल बुझ्दै छु, घार बनाउन गाह्रो छैन्, तर बिक्री गर्ने प्रक्रियाले बनाउँदाको भन्दा तीन गुणा बढी झण्झट व्यहोर्नु प¥यो”, खत्रीले भन्नुभयो, “वातावरण सहज भए हाम्रो उत्पादन पनि विदेश निर्यात हुने रहेछ ।”

उद्योगमा नौ जना कालीगढले घार बनाउने काम गर्छन् । नेपालमा मात्रै खपत हुने गरेका मौरिघार विदेशमा समेत माग हुँदा उत्पादन र रोजगारी दुवै बढ्ने खत्री बताउनुहुन्छ । वार्षिक एक हजार दुई सय घार उत्पादन गर्दै आएको सो उद्योगले पोखराबाट टुनीको काठ खरिद गरेर घार बनाउने गरेको छ ।

मूल्य प्रतिघार रु तीन हजारदेखि रु तीन हजार ६००सम्म रहेको छ । “यो जिल्लावासी र देशकै लागि सुखद कुरा हो, छिमेकी मुलुकमा हाम्रो उत्पादनले प्रतिस्पर्धा गर्न पाउनु”, कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराई भन्नुहुन्छ, “वैज्ञानिक रुपमा उत्पादन भएका घार निर्यातमा हामी सहयोग गर्छौं ।” उद्योगले मौरीसहितका घारलाई भने आठ हजार ५०० मा बिक्री गर्ने गरेको छ ।

एक सय घार मौरी रहेको उद्योगमा वार्षिक हजारौं लिटर मह उत्पादन हुन्छ । बलेवा मौरीपालन उद्योगमा उत्पादित मह प्रतिकिलो रु एक हजारमा बजारमा बिक्री हुने गरेको छ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖