‘संसद् सञ्चालन गर्नेबारे प्रतिपक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छ

काठमाडौँ, ४ असोज । सरकारले संघीय संसद्, प्रतिनिधिसभा सञ्चालनका निम्ति जिम्मेवार भूमिका निर्वाह गर्न प्रतिपक्ष दलसँग आग्रह गरेको छ । लामो समय संसद्मा अवरोध हुँदा महत्वपूर्ण विधेयकहरु संसद्मै रोकिएको जनाउँदै वार्ता र संवादमार्फत समाधान खोज्न प्रतिपक्षलाई आग्रह गरिएको हो।

आज बसेको प्रतिनिधिसभाको बैठकपछि पत्रकारसँग कुरा गर्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भन्नुभयो, “संसद पुनःसञ्चालन हुनु पर्दछ, संसद्लाई प्रभावकारीरूपले चलाउने कर्तव्य सरकार पक्ष र विपक्ष दुवैको हुनाले संसद् चलाउनेबारे सरकारले आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको छ र एमाले जस्तो अनुभवी प्रतिपक्षबाट पनि त्यस्तै किसिमको भूमिकाको अपेक्षा गरेका छौँ ।” मन्त्री कार्कीले विगतका सरकारले ल्याएका महत्वपूर्ण विधेयक रोक्ने काम भइरहेको र त्यो आफैँमा अनौठो भएको जनाउँदै संसद्लाई पुनःसञ्चालन गर्नका लागि प्रमुख प्रतिपक्ष दलको नेतासँग निरन्तर संवाद भइरहेको बताउनुभयो ।

अर्थमन्त्री जनार्दन शर्माले संसद् पुनःसञ्चालन गर्ने सम्बन्धमा प्रतिपक्षसँग सौर्हादपूर्ण वातावरण बनाएर निरन्तर वार्ता र संवादलाई निरन्तरता दिइरहेको बताउनुभयो । उहाँले बजेटलाई लामो समय रोकी राख्दा सबैतिर ठप्प हुने भएकाले आज त्यसलाई संसद्सँगै लैजानुपर्ने बाध्यता रहेको स्पष्ट पार्दै सर्वदलीय बैठकमार्फत प्रतिपक्षसँग वार्ता र संवाद गर्दै राष्ट्रिय एकता कायम गरेर जाने सरकारको नीति रहेको बताउनुभयो । सरकारले अघिल्लो सरकारले अघि सारेको कुनै पनि योजना नरोकेको स्पष्ट पार्दै राजस्व बढाउने लक्ष्य राखेर तीन प्रतिशत बजेट मात्रै घटाएको जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड–१९ विरुद्धको पछिल्लो पटक ४४ लाख खोप नेपाल आइसकेको जानकारी दिँदै अहिलेसम्म एक करोड ७७ लाख खोप आएको बताउनुभयो । राज्यमन्त्री श्रेष्ठले अबको १० दिनभित्रमा छुटेका १८ वर्षभन्दा माथिका व्यावसायिक क्षेत्रका व्यक्तिलाई खोप वितरण गर्ने योजना सुनाउनुभयो । नेपालको उत्तरी भेगका करिब १० देखि १३ वटा जिल्लामा पूर्णरूपमा खोप लगाउने सरकारको योजना रहेको उहाँको भनाइ छ ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएपछि मात्रै सरकारले पूर्णता पाउने बताउनुभयो । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले संसद्मा प्रस्तुत भएका एजेण्डाभन्दा पनि सभामुखको कार्यशैलीप्रति विरोध जनाउँदै संसद् अवरुद्ध गरिएको प्रष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “सभामुखले नेकपा एमालेप्रति गरेको विभेदका कारण हामी अहिले संसद्मा आन्दोलनमा छौँ, त्यसैले उहाँले त्यो प्रवृत्ति नसच्याएसम्म संसद् चल्दैन कि त सभामुख आत्मालोचित हुनुपर्छ, कित मार्ग प्रशस्त गर्नुपर्छ ।” उहाँले प्रतिपक्ष दलसँग कुनै छलफल नै नगरी सरकारले जबरजस्ती बजेट पारित गरेको भन्दै गुनासो गर्नुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।