मर्दी हिमाल पदयात्रामा आन्तरिक पर्यटक पुग्न थालेपछि पर्यटन व्यवसायीमा उत्साह

कास्की । कास्कीको मर्दी हिमाल पदयात्रामा आन्तरिक पर्यटक पुग्न थालेपछि पर्यटन व्यवसायीमा उत्साह बढेको छ । कोरोनाले शिथिल यस पर्यटनमार्गमा पछिल्ला दिनमा दैनिक आन्तरिक पर्यटक आउन सुरु गरेको त्यस क्षेत्रका व्यवसायी बताउछन् । विदेशी पर्यटकले पनि सोधीखोजी शुरु गरेका छन् ।

कोभिड अघिको अवस्थामा यहाँको पयर्टन फर्किन समय लाग्ने भए पनि स्वदेशी पदयात्रीको चहलपहल सुरु भएकाले आशा जगाएको छ । मर्दी ट्रेकमा होटल व्यवसाय सञ्चालन गर्दै आउनुभएका पर्यटन व्यवसायी सुदीप गौतमले अहिले पदयात्रामा आन्तरिक पर्यटक आउन सुरु गरेको बताए ।

“नेपाली हिँडन् थालेका छन्, विदेशीको पनि सोधपुछ आउन थालेको छ”,गौतमले भने,“दिनमा १५÷२० जना नेपाली पर्यटक आएका छन् ।” दसैँको बिदा सुरु भएलगत्तै थप पर्यटक आवागमन हुने ठानिएको छ ।

सरकारले आगामी फागुनसम्म सबैलाई कोरोना खोप दिने बताएको र अहिले पनि केहीले खोप पाइसकेकाले मर्दी क्षेत्रको पर्यटन विस्तारै पहिलाकै अवस्थामा फर्किनेमा आशावादी रहेको उनी बताउछन् । मर्दी पदयात्राका धम्पुस, अष्ट्रेलियन, पोथना, हाइ र लो क्याम्पका होटल तथा रेष्टुराँटसमेत अहिले खुलेका छन् ।

होटलमा आउने पर्यटकका लागि स्वास्थ्यमापदण्ड पालना गराउने गरिएको गौतमले बताए । विदेशी पर्यटक आउन समय लाग्ने भएकाले आन्तरिक पर्यटकमै अझै केही महिना पर्यटन निर्भर हुने बताइन्छ ।

विशेषगरी दसैँको आसपासमा यस क्षेत्रमा पर्यटकको बाक्लो चहलपहल हुने गरेको छ । विगत वर्षमा विदेशी पर्यटक उल्लेख्य हुने गरे पनि दुई वर्षयता विदेशीको आगमन ठप्प छ । छोटो अवधिमा नजिकबाट हिमशृङ्खलाको अवलोकन मर्दी पदयात्राको आकर्षण हो । पदयात्री मौसमानुसारका फूल फुल्ने हरियालीसँग यात्राका क्रममा आनन्दित हुने गर्दछन् ।

गत वर्ष दसैँ तिहारमा पर्यटकको घुँइचो भएपछि कोभिड–१९ को सम्भावित जोखिम न्यूनीकरणका लागि पदयात्रामा आउने पर्यटकसँग पिसिआर रिपोर्ट अनिवार्य गरिएपछि पर्यटक घटेका थिए । पछि निषेधाज्ञा जारी भएपछि सबै होटल बन्द गरिएका थिए ।

मर्दी हिमाल पर्यटन व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर गुरुङले सो क्षेत्रका पर्यटन व्यवसायीलाई कोभिड विरुद्धको खोपका लागि जिल्ला प्रशासन तथा गाउँपालिकासँग पहल गरिएको बताए ।

स्वदेशी विदेशी पर्यटकको चहलपहल सुरु भएसँगै आफूहरु पनि खोप लगाएर निर्धक्कका साथ पर्यटकलाई स्वागत गर्न चाहेको बताए । उनले भने,“ कोभिडले दुई वर्ष हामी मारमा पर्‍यो । अहिले सरोकारवाला सबैसँग सल्लाह गरेर होटल व्यवसाय खोलेका छौँ । खोप लगाएर ढुक्क भएर पर्यटकको स्वागत गर्न चाहेका छौँ । अबको पालोमा खोपको व्यवस्था हुन्छ भनेर आश्वासन पाएका छौँ ।”

अहिले पानी पर्न विस्तारै कम हुँदै गएर मौसम खुल्दै गएकाले समेत हिमालको सुन्दरता र गाउँठाउँको हरियालीले पर्यटकलाई स्वागत गरिरहेको गुरुङ बताउछन् ।

मर्दी पदयात्रामा जाने पोखराबाट धम्पुस तथा अन्नपूर्ण गाउँपालिकाको अष्ट्रेलियन क्याम्प, पोथना देउराली, फरेष्ट क्याम्प, लो क्याम्प, हाइक्याम्प हुँदै चार हजार ५०० मिटर उचाइमा अवस्थित मर्दी हिमालको आधार शिविरसम्म पुग्ने गर्दछन् ।

पोखराबाट जीपमा माछापुच्छ्रे गाउँपालिकाको सिदिङसम्म पुगेर त्यहाँबाट समेत मर्दी हिमाल पुग्न सकिन्छ । पछिल्लो समय पोखरा–२५ को मेलबोटदेखीनै पदयात्रा शुरु गर्ने गरी नयाँ पदयात्रामार्गको खोजी गरेर पैदलमार्ग निर्माण गरिएको हो ।

मेलबोटदेखि पदयात्रा सुरु भएर, अस्ताम, धिताल, धम्पुस, प्रितमदेउराली तथा धिताल ल्वाङ, घलेल कालीमाटी हुँदै मर्दी हिमाल जोड्ने गरी पदयात्रामार्ग विकास गर्ने योजना अनुसार पूर्वाधार निर्माण गरी नयाँ बाटोको विकास गरिएको छ ।

गण्डकी प्रदेश सरकारको गत आर्थिक वर्षमा रु १० लाख बजेट र जर्मनस्थित एक विदेशी संस्थाको रु चार लाख ५० हजार आर्थिक सहयोगमा मेलबोटदेखि अस्तामसम्मको विभिन्न स्थानको अप्ठ्यारो ठाउँमा ५०० मिटर पैदलयात्रा निर्माण गरिएको मेलबोट–अस्ताम–धिताल–धम्पुस–मर्दी हिमाल पदमार्ग निर्माण समितिका संयोजक पर्यटन व्यवसायी विश्व अधिकारीले जानकारी दिए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।