डोको डालो बुन्ने पुख्र्यौली पेशा कच्चा पदार्थको अभावमा सङ्कटमा

धनबहादुर भण्डारी ,डडेल्धुरा, ६ असोज । दलित समुदायको पुस्तौँदेखिको डोको डालो बुन्ने पुख्र्यौली पेशा कच्चा पदार्थको अभावमा सङ्कटमा पर्न थालेको छ । बाँस र निगालो अभाव भएपछि यसको चोयाबाट बनाइने सामाग्री नपाउँदा उनीहरुको पेशा सङ्कटमा परेको हो ।

बाँस र निगालोबाट दलित समुदायले डोको, डालो, नाङ्लो (सुप्पो), चाल्लो, टपरी, भकारीलगायत घरायसी प्रयोजनका लागि प्रयोग गरिने सामग्री बिक्री गरेर पर्याप्त आम्दानी गर्दै आएका थिए ।

तिलाडी, समैजी मुद्राड, अमरगढी नगरपालिकालगायत जिल्लाका विभिन्न ठाउँमा यही पेशाका भरमा जीविकोपार्जन गर्दै आएको उक्त समुदायको पेशा सङ्कटमा पर्दै गएको छ । “बाँस र निगालो पाउन छाडेपछि आय आर्जनको बाटो बन्द भएको छ”, अमरगढी नगरपालिका–७ पोखरा गाउँकी मङ्गली कैनीले भन्नुभयो, “परिवार पाल्न धौधौ भएको छ ।” बाँस र निगालोका सामग्री बेचेर आम्दानी गर्ने बाटो बन्द भएको उहाँले पीडा सुनाउनुभयो ।

अहिले दलित समुदायले बाँस र निगालो खोज्न विभिन्न वन जङ्गल चहार्नु परिरहेको छ । एक दिन हिँडेर अजयमेरुको खतेडा जङ्गलबाट निगालो काटेर ल्याउनुपरेको कैनीले बताउनुभयो । “एक भारी निगालो रु पाँच सयमा खरिद गर्नुपर्छ”, उहाँले भन्नुभयो, “कतिपय बेला निगालो र बाँसका लागि दुई दिनको बाटो हिँड्नु पर्छ ।” टाढा टाढासम्म धाएर पनि बाँस र निगालो खोज्न जाँदा पनि नपाउने गरेको पीडा कैनीसँग छ ।

मेहनत र परिश्रमअनुसारको आम्दानी नहुँदा पनि दलित समुदाय पीडित बन्नुपरेको छ । त्यसैले उनीहरु वैकल्पिक पेशा रोज्न थालेका छन् । टाढाबाट कच्चा पदार्थ ल्याएर सामग्री निर्माण गर्दा पनि लागत खर्च अनुसारको आम्दानी नहुँदा दलित समुदायले हैरानी खेप्नु परिरहेको छ । “घरायसी सामग्रीको बजारमा माग भए पनि कच्चा पदार्थको अभावले सामग्री तयार गर्न सकेको छैन”, समैजी गाउँका जित पार्कीले भन्नुभयो । वन अतिक्रमणको समस्याका कारण पनि पछिल्लो समय बाँस र निगालो पाउन छाडेको छ ।

दलित समुदायले बाँस र निगालोको चोयावाट बन्ने प्रतिडोकोलाई रु पाँच सयदेखि रु सात सयसम्म बिक्री गर्ने गरेका छन् । यस्तै डालो, भकारी, मानो र नाङ्लो रु चार सयदेखि रु तीन हजार पाँच सयसम्ममा बिक्री गर्दैआएका छन् ।

दलित समुदायका युवा बाँस र निगालोको अभावका कारण यो पेशा छाड्न बाध्य छन् । निर्माण गरिएका सामग्री बिक्री गर्न बजारको समेत अभाव छ । नजिकका गाउँवस्तीमा सहजै बिक्री हुँदैन । बिक्री भएपनि उचित मूल्य पाउन सकेका छैनन् । पछिल्लो समय बाँस र निगालोबाट निर्माण गरिएका सामग्री अभावका कारण धातु र प्लाष्टिकबाट निर्मित सामग्री प्रयोग गर्ने चलन बढ्दै गएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।