११ हजार भोल्टको विद्युतीय लाइनबाट ललिलतपुरका व्यवसायी त्रसित

–सुभानु आचार्य,ललितपुर, ८ असोज । ललितपुरको लगनखेलमा प्रवाह भइरहेको ११ हजार किलो भोल्टेका विद्युतीय लाइनबाट यहाँका व्यवसायी त्रसित भएका छन् ।

तरकारी तथा फलफूल जिल्ला सङ्घ लगनखेल ललितपुरका व्यवसायीले बजारको माथिबाट प्रवाह हुने ११ हजार किलो भोल्टका विद्युतीय लाइन कुनै दिन पड्कन सक्ने डरले त्रसित भएका हुन् ।

सो दुर्घटनाबाट जोगिन आफूहरुले ललितपुर महानगरपालिकासँग आधुनिक कृषि होलसेल बजार स्थापनाका लागि बालकुमारी तथा मलपोखरी वा खुमलटारको कृषि अनुसन्धान परिषद् परिसरमध्येका कुनै एक स्थान व्यवस्था गरिदिन पटकपटक माग गर्दा सुनुवाइ नभएको सङ्घका अध्यक्ष कृष्णप्रसाद सञ्जेलले बताउनुभयो । उहाँले भन्नुभयो, “यो बजारको विकास, विस्तार तथा संरक्षण गर्दा नगर क्षेत्रको माग र कालीमाटी तरकारी बजारको चापलाई समेत केही कम गर्न सकिन्थ्यो ।”

जिल्लाभित्र रहेका कृषि बजारको सार्वजनिक निजी अवधारणमा स्तरोन्नति गरी बजार विकासको सम्भाव्यता अध्ययनले देखाएका स्थानमा होलसेलका साथै मझौला बजारको स्थापना गर्न आफूहरुले बेलाबेलामा महानगरपालिकाको ढोकामा पुगेर मौखिक र लिखित रुपमा अनुरोध गर्दासमेत कसैले चासो नदिएको उहाँको भनाइ छ । “विसं २०५८ मा स्थापित बजारमा जस्ताको छानो जीर्ण भई पानी चुहिने अवस्थामा पुग्दासमेत महानगरपालिकाले यसको विकास र विस्तारका लागि चासो दिएको छैन”, उहाँले भन्नुभयो, “कोरोना महामारीमा शिथिल भएका व्यापारीलाई महानगरपालिकाले वार्षिकरुपमा २० प्रतिशतका दरले भाडा वृद्धि गरिरहेको र केही समयका लागि भाका मागेर पत्राचारसमेत गर्दा त्यसको सम्बोधन हुन सकेको छैन् ।”

सङ्घले २५ देखि ३० स्क्वाएर फिटको प्रतिस्टल मासिक रु नौ हजार २८८ का दरले भाडा लिदैं आएको छ । सो बजारमा ८२ वटा स्टल रहेका छन् । ती सबैको मासिक भाडा रु सात लाख ६१ हजार ६१६ गरी वार्षिक कुल रु ९१ लाख ३९ हजार ३९२ सङ्कलन गरेर महानगरको खातामा नियमित बुझाउने गरेको सञ्जेलले जानकारी गराउनुभयो । सो बजार सार्वजनिक निजी अवधारणामा स्तरोन्नति गर्ने भनी आशयपत्र माग गरेकामा रकम खर्च गरी नाप अनि नक्सा र डिजाइनसहितको पत्र पेश गर्दासमेत महानगरपालिकाले कुनै चासो नदिएकाले आफूहरु बाध्य भएर आन्दोलनमा उत्रिने उपाध्यक्ष शिव शाहीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कृषि पूर्वाधार विकासका लागि केन्द्रसँग पर्याप्त बजेट भएको जानकारी आएकाले सार्वजनिक निजी अवधारणमा लगनखेल र धापागाल बजार विकास गर्न महानगरले केन्द्रसँग तत्कालै सम्झौता गर्नुपर्छ ।” कोभिडका कारण पूर्णसमय बजार खोल्न नपाएको अनि सो समयमा तरकारी तथा फलफूल कुहिएर जानुका साथै कतिपय व्यवसायी घर फर्केका र पसल नै बन्द गर्नुपर्दा चालू आवको साउनदेखिको भाडा वृद्धि नगरियोस् भन्ने सम्पूर्ण व्यवसायीका मागसमेत रहेको शाहीले जानकारी गराउनुभयो ।

कोभिडले मुलुक भर्खरै पुरानो लयमा फर्कदै गर्दा लामो समय पसल बन्द भएर भाडा तिर्न नसकेकाले केही सहजता होस् भन्ने आफूहरुको इच्छा रहेको लगनखेलका फलफूल तथा जुस व्यापारी नवराज नगरकोटीको माग छ । सानो बजार, त्यसभित्र ग्राहकदेखि व्यवासयाीसम्म दैनिक हजाराँैको चहलपहल हुने हुँदा चोरीको घटनासमेत हुने गरेको व्यापारीका गुनासो छ।

यो वर्षको नगरसभामार्फत चिस्यान केन्द्र निर्माणसहितको बजार व्यवस्थित बनाउन अध्ययन थालिने महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “अन्यत्र ठाउँमा बजार सार्न सम्भव नभएकाले पुरानै ठाउँलाई व्यवस्थित बनाउँदै जानेछौँ ।” महानगरभित्र व्यवसाय गरी बसेका जो कोही व्यापारीलाई तीन महिनाको भाडा छुट दिने कुरामा छलफल भइरहेको प्रमुख महर्जनको भनाइ छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।