विद्यार्थीहरुले अब कक्षाकोठामै गाउँबारे जान्न पाइने

भक्तपुर, १३ असोज । भौतिक रुपमा कात्तिकदेखि सुरु हुने विद्यालयको पठनपाठनमा सूर्यविनायक नगरपालिकाका संस्थागत तथा सामुदायिक विद्यालयका विद्यार्थीहरुले स्थानीय पाठ्यक्रम पढ्न पाउने भएका छन् ।

आज सूर्यविनायक नगरपालिका स्थानीय पाठ्यक्रम निर्माण तथा सहजीकरण समितिले यहाँ आयोजना गरेको स्थानीय पाठ्यक्रम निर्माणसम्बन्धी कार्यशालामा बोल्दै नगरप्रमुख वासुदेव थापाले कात्तिकदेखि नै सूर्यविनायक नगर क्षेत्रका विद्यालयमा स्थानीय पाठ्यक्रम लागू हुने बताउनुभयो ।

उहाँले सूर्यविनायक नगरपालिकाको पहिचानलाई विद्यालय तहदेखि नै जानकारी गराउने उद्देश्यले नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गर्न लागेको बताउँदै भन्नुभयो, “हाम्रा छोराछोरी र विद्यार्थीलाई विदेशका कुरा थाहा हुने अनि आफ्नै गाउँठाउँको कुरा थाहा नहुने, यो कस्तो प्रवृत्तिको विकास भयो ? अब स्थानीय पाठ्यक्रमले बालबालिकालाई आफ्नो गाउँठाउँको पहिचानलाई चिनाउनेछ ।”

आफ्नो गाउँको जनसङ्ख्या कति छ, पर्यटकीय क्षेत्र, सम्पदा, धार्मिक मठमन्दिर, प्रमुख व्यक्तित्वहरु, जातजाति, धर्म, संस्कृति, जात्रा पर्व के के थिए, के के छन्, मुख्य पेसा, व्यवसाय के हुन्, मुख्य उत्पादन हुने अन्नबाली के हो, पशुपालन, कषि, सडक, खेलजस्ता सबै पक्षलाई व्यावहारिक रुपमा जानकारी गराइनेछ । ती कुरा समावेश गरी पाठ्यक्रमलाई अन्तिम रुप दिएर तिहारलगत्तै सबै विद्यालयमा कार्यान्वयनमा ल्याउने नगरप्रमुख थापाले बताउनुभयो ।

उहाँले कार्यशालामा सहभागी प्रत्येक वडाका जनप्रतिनिधि, संस्थागत तथा सामुदायिक विद्यालयका प्रिन्सिपल, शिक्षकशिक्षिकालगायत सरोकारवालालाई स्थानीय पाठ्यक्रममा राख्नै पर्ने कुनै पनि विषय नछुट्ने गरी अन्तिम रुप दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख जुना बस्नेतले स्थानीय विद्यार्थीले स्थानीय विषयलाई जान्ने र बुझ्ने अवसर नपाउँदा महत्वपूर्ण कुराहरु पनि ओझेलमा पर्दै जाने र अन्तिममा लोपोन्मुख अवस्थामा पुग्ने भएकाले आफ्ना ठाउँको महत्वलाई सधैँ जीवित राख्न स्थानीय पाठ्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

त्यस अवसरमा स्थानीय पाठ्यक्रम निर्माण तथा सहजीकरण समितिका संयोजक एवं वडा नं ८ का वडाध्यक्ष किरण थापाले कार्यशालाले पाठ्यक्रमलाई अन्तिम रुप दिएर एक महिनाभित्र पठनपाठनमा ल्याइने बताउनुभयो । चालु शैक्षिक सत्रमा कक्षा १ देखि ५ सम्म र आगामी शैक्षिक सत्रमा कक्षा ६ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागू गर्ने गरी पाठ्यक्रम निर्माण भएको र त्यसलाई सुझावसहित अन्तिम रुप दिन कार्यशालाले भूमिका निर्वाह गर्छ भन्दै उहाँले दसँैपछि कक्षा सञ्चालन हुँदा विद्यार्थीले स्थानीय पाठ्यक्रम पढ्न पाउने बताउनुभयो ।

नगरपालिकाको स्थानीय पाठ्यक्रम निर्माणमा प्राविधिक सहयोग गर्नुभएका विज्ञ उद्धवप्रसाद प्याकुरेलले पाठ्यक्रममा नगरपालिकाको भूगोल, जनसङ्ख्या, प्राकृतिक सम्पदा, स्थानीय जातजाति, वेशभूषा, धर्म, कला, संस्कृति, जात्रा पर्व, प्रमुख व्यक्तित्व, जनसङ्ख्या, स्थानीय चाडपर्व, स्थानीय बाजागाजा, नाच, स्थानीय लोकसंस्कृति, संस्कार, रहनसहन, कृषि, पर्यटन, पेसा, व्यवसाय, खेल, जडीबुटी, सडक, योग, हरितलगायत १४ वटा विषय पाठ्यक्रममा समावेश गरिएको बताउनुभयो ।

पाठ्यक्रम विकास केन्द्रका अधिकृत खिलानाथ धमलाले पाठ्यक्रम निर्माणमा अन्तिम दिन सहजीकरण गर्दै स्थानीय विद्यालयले पाठ्यक्रम कार्यान्वयनमा ल्याउने भएकाले विद्यालय जिम्मेवार भएर सुझाव दिनुपर्ने बताउनुभयो । उहाँले पाठ्यक्रमका सम्पूर्ण स्वरुपका बारेमा जानकारी गराउँदै सुझाव सङ्कलन गर्नुभयो ।

सूर्यविनायक नगरपालिका शिक्षा शाखाका अधिकृत सरस्वती कोइरालाले समितिले सरोकारवाला निकायसँग पटकपटकका प्रत्यक्ष तथा जुम बैठक र छलफलबाट पाठ्यक्रम तयार पारेको बताउँदै कुनै पनि विषय नछुटोस् भनेर पाठ्यक्रमलाई आजसम्ममा अन्तिम रुप दिइने बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।