यस्तो छ राष्ट्रिय गौरवको आयोजनाको नै हालत कन्तबिजोग

खेमराज गौतम/गलकोट, १४ असोज । सरकारले राष्ट्रिय गौरवको आयोजनालाई प्राथमिकताका साथ अगाडि बढाउने भनेपनि कालीगण्डकी करिडोर बागलुङ खण्डकोे हालत कन्तबिजोग छ ।

बागलुङको मालढुङ्गा हुँदै दक्षिण भेग बलेवा, जैमिनी हुँदै गुल्मी जोड्ने सडक खण्ड बर्खा लागेसँगै जीर्ण बन्दा घण्टांै सवारीसाधन फस्ने गरेको छ । असारपछि पटकपकट अवरुद्ध हुँदै आएको करिडोरको बागलुङ खण्डको सिधा यातयात अहिले पनि अवरुद्ध नै छ । वैकल्पिक बाटो मालढुङ्गादेखि गलुवा जाने स्थानमा पहिराले करिडोर अवरुद्ध भएपछि अहिले वैकल्पिक मार्गको रुपमा मालढुङ्गा दव्ल्याङ हुँदै करिडोरमा पुग्न सकिन्छ ।

अहिले दम्काको फाँट नजिकै हिलाम्मे सडकमा दैनिकजसो सवारी फस्ने गरेको सवारी चालक शिव शर्माले जानकारी दिनुभयो । बागलुङको मालढुङ्गादेखि बलेवा विमानस्थलसम्मको १० किलोमिटर सडक विभागलाई हस्तान्तरण गरेको दुई वर्ष बित्दासमेत कालोपत्र हुन नसक्दा यात्रुलाई सास्ती भएको छ । भकुण्डेको एक्लेसालमा असारदेखि सडक बन्द हुँदा बलेवा, जैमिनी जाने साना ठूला सवारी करिडोरको सडक नै प्रयोग गर्दा घण्टांै जाममा पर्ने गरेको छ । आठ मिटर चांैडा बनाएको नेपाली सेनाको निर्माण कार्यदलले दाबी गर्दै आए पनि अहिले पहिरोका कारण उक्त सडकको आधा जस्तो भागमा सडक चार मिटरमा मात्रै सीमित रहेको छ ।

पहिरो खसेको ठाउँमा अस्थायी रुपमा सडक सञ्चालनमा आउँदा दुर्घटनाको जोखिम समेत बढ्दै गएको छ । सडकको ट्र्याक खोलेर आठ मिटर चौडा पार्ने जिम्मा पाएको नेपाली सेनाले बागलुङ खण्ड हस्तान्तरण गरिसकेको नेपाली सेनाको निर्माण कार्यदलका रेश्मीराज भट्टराईले जानकारी दिनुभयो । उहाँले असारको समयमा सडक बन्द भएको अवस्थामै सडक हस्तान्तरण गर्दा बागलुङ खण्ड बेवारिसे जस्तै बन्दै आएको छ ।

अहिले पहिरोले सडक बन्द भएपछि कस्ले खुलाउने भन्ने विषयमा समेत जानकारी नहुँदा सडक अभिभावकविहीन जस्तै बनेको छ । सुरुमा सडक स्तरोन्नति र कालोपत्रको काम सडक विभागले गर्ने गरी हस्तान्तरण भए पनि पछि कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पा अन्तर्गतनै काम भइरहेको छ । तर पाल्लाको कार्यालयले बागलुङ खण्डमा सडक मर्मत सम्भार नगर्दा समस्या भएको छ ।

कालीगण्डकी करिडोर गौँडाकोट, राम्दी मालढुङ्गा आयोजना कार्यालय पाल्पाका इञ्जिनीयर रवीन लामिछानेका अनुसार पहिला हस्तान्तरण गरिएको १० किलोमिटर सडक कालोपत्रका लागि ठेक्कामा लैजान खोजेपनि सोही सडकको पाँच किलोमिटरमा सडक डिभिजन कार्यालयल बागलुङले ठेक्कामार्फत स्तरोन्नतिको कार्य गरिरहेकाले समस्या भएको बताउनुभयो । “हामीसँग स्रोत र साधनको समेत अभाव छ, करिडोर मर्मतसम्भार गरेको रकम समेत सडक डिभिजनबाट नै माग्नुपर्ने अवस्था हो”, उहाँले भन्नुभयो “अहिले हस्तान्तरण भएको बागलुङ खण्डको २८ किलोमिटर सडक वातावरणीय प्रभाव मूल्याङ्कन भइरहेको छ, मुख्य कुरा सडक डिभिजन कार्यालयसँग समन्वय त भइरहेको छ तर दोहोरो ठेक्काले समस्या भयो ।” उहाँले बागलुङ खण्डमा भएको अवरोध तथा समस्याका विषयमा हामीले कार्यालयमा जानकारी गराउने बताउनुभयो । बागलुङ खण्डको सडक मर्मतसम्भार कार्यलाई तीव्रता दिने गरी कार्यालयले योजना बनाउने लामिछानेले बताउनुभयो ।

अहिले मालढुङ्गादेखि बलेवा जाने सडकसम्मको पाँच किलोमिटर सडक डिभिजनले ठेक्का लगाएर स्तरोन्नति गरिरहेको सडक डिभिजन कार्यालय बागलुङका इञ्जिनीयर सुरेन्द्र गौतमले बताउनुभयो । सडक विभागसँग समन्वय गरेर कालीगण्डकी करिडोरलाई कालोपत्र गर्नका लागि हामीले निरन्तर काम गरिरहेको उहाँको भनाइ छ । हामीले पटकपटक बागलुङका दुई राष्ट्रिय गौरवका आयोजनाको रुपमा रहेका मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरलाई कालोपत्र गर्न पटकपटक सदनमासमेत आवाज उठाए पनि सुनुवाइ नभएको बागलुङ क्षेत्र नम्बर १ का सांसद डा सूर्य पाठकले बताउनुभयो ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड कालोपत्रका लागि ढिलाइ भएकोप्रति स्थानीयवासीले समेत गुनासो गरिरहेका छन् । सडक खुलाउनका लागि अहिले स्थानीय जनप्रतिनिधिले सक्रियताका देखाउँदै आएका छन् । हाम्रै सक्रियतामा दक्षिण भेज जाने करिडोर बेलाबेलामा खुलाइएको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । उहाँले राष्ट्रिय गौरवको आयोजना भए पनि नगरपालिका जनताले दुःख पाएपछि पटकपटक नगरपालिकाको डोजरले सडक खुलाइरहेको बताउनुभयो ।

विस. २०७६ पुस १ गते मालढुङ्गा बलेवासम्मको सडक हस्तान्तरण गरिए पनि सडक विभागले अहिलेसम्म कालोपत्र गर्ने कामसमेत सुरु गरेको छैन । कालीगण्डकी करिडोर त्रिदेशीय सडक हो । यसले छिमेकी भारत र चीनलाई जोड्नेछ । मालढुङ्गादेखि गुल्मीको रिडीसम्मको खण्डमा सेनाले २०७० देखि काम गरिरहेको थियो । सेनाले बागलुङको सबै सडक हस्तानतरण गरिसकेको छ । अत्यधिक पहिरो र कडा चट्टान भएकाले करिडोरको जिम्मा सरकारले सेनालाई दिएपछि करिडोरले साकार पाएपनि स्तरोन्नति र कालोपत्रमा ढिलाइ भएको छ ।

विसं २०५७ पुस १ गतेका दिन गुल्मीमा शिलान्यस भएको उक्त सडक २० वर्षपछि सवारी चल्ने अवस्थामा आएको छ । करिडोरको बागलुङ र गुल्मी खण्डको ८० किलोमिटरमध्ये पाँच वटा खोलामा बेलिब्रिज निर्माण छन् । चीन र भारतलाई सिधा रूपमा जोड्ने करिडोर निर्माण सम्पन्न भए अब भारतका लाखौँ तीर्थयात्री नेपाल आएर रुरु क्षेत्र हुँदै मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ पुग्नेछन् भने चीनका बौद्धमार्गी भगवान् गौतमबुद्धको पवित्र जन्मभूमि लुम्बिनीमा आउने भएकाले यसलाई दुई धर्मावलम्बीको एउटै मार्गका रूपमा लिँदै आएको सामाजिक अभियानकर्मी टीकाराम ढकालले बताउनुभयो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।