आमाबाबु को सहारा बन्न सकेनन् छोराछोरी ,साहाराविहीन बन्दै वृद्धा

नारायण अधिकारी चितवन, १५ असोज। छोराछोरी विदेश पयायन हुँदा वृद्धा साहाराविहीन बन्दै गएका छन् । शिक्षित र सम्पन्न परिवारका छोराछोरी अध्ययन र रोजगारीका लागि युरोप अमेरिका जस्ता विकसित देश पुगेर उतै पलायन हुँदा उनीहरु साहाराविहीन बन्दै गएका हुन्।

पर्याप्त सम्पत्ति भएर पनि आफैँले जन्माएर हुर्काएका सन्तान आफूसँगै नहुँदा शरीर गल्दै गएपछि आत्मसन्तुष्टि हुन नसकेको पाइएको छ । विदेशमा रहेका सन्तानले यहाँका अस्पतालका चिकित्सकलाई सोझै टेलिफोन गरेर उपचारको साहारासमेत लिने गरेका छन् । वृद्धा बिरामी हुँदा साथमा सन्तान नहुँदा मनोवैज्ञानिक प्रभावसमेत पर्ने गरेको छ ।

फिजिसियन डा भोजराज अधिकारी कोभिडको सङ्क्रमण उच्च बिन्दुमा पुग्दै गर्दा मृत्यु भएका वृद्धालाई सन्तान नआउने समयसम्मका लागि राख्ने ठाउँको अभाव भएको स्मरण गर्नुहुन्छ । उहाँले भन्नुभयो, “शरीर तन्दुरुस्त हुँदै गर्दा खासै खोजी नभए पनि स्वास्थ्य जटिल बन्दै गएपछि सन्तानको अभावमा थप जटिलता देखिँदो रहेछ ।” आफ्नो सम्पत्तिसँगैका आर्थिक व्यवहार सन्तानलाई हस्तान्तरण गर्न नसकेको पीडामा वृद्धवृद्धा झन् बढी चिन्तित हुने गरेको डा अधिकारी बताउनुहुन्छ ।

सन्तानले उपचारका लागि पर्याप्त रकम पठाए पनि सन्तुष्टि नमिलेकै कारण वृद्धाको स्वास्थ्य झन् जटिल बन्ने गरेको उहाँको अनुभव छ । बिरामी पर्दा नजिकको नातेदार पाउनसमेत कठित हुने गरेको चिकित्सक बताउँछन् ।

मनोचिकित्सक डा गिरिराज भन्तना आफँैले जन्माएर, हुर्काएर, पढाएर कमाउने समयमा आफूबाट टाढा भएपछि मनमा विभिन्न कुरा खेलाएर आउने वृद्धा धेरै भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “छोराछोरी विदेशमा भएर पनि दुःख गरिरहेको देख्दा यहाँ बस्ने आमाबुबालाई थप पीडा हुँदो रहेछ ।” विदेशमा पनि कडा परिश्रम गरेर काम गरिरहेका सन्तानप्रति बाबुआमाको धेरै चिन्ता हुने गरेको पाइएको भन्तना बताउनुहुन्छ । उहाँले भन्नुभयो, “छोराछोरी विदेश हुने वृद्धवृद्धा मन विचलित भएर उपचारका लागि आउने गर्दछन् ।”

विदेशमा भएका र स्वदेशमै रहेर पनि बुढेसकालमा नहेरेर धेरै वृद्धाश्रमसम्म पुग्ने गरेका पाइन्छन् । यहाँको पवित्र तीर्थस्थल देवघाटमा सरकारीसँगै सामाजिक सङ्घसंस्थाले वृद्धाश्रम सञ्चालन गरेका छन् ।

रोटरी क्लब अफ चितवनले रोटरी करुणालय सञ्चालन गर्दै आएको छ । क्लबका पूर्वअध्यक्ष भोजराज कौडाल छोराछोरीले नहेरेर साहाराका लागि वृद्धाश्रममा आउने गरेको बताउनुहुन्छ । सन्तान विदेशमा भएर रेखदेख गर्ने मानिसको अभावमा धेरै वृद्धवृद्धाले दुःख पाइरहेको कौडाल बताउनुहुन्छ । उहाँले भन्नुभयो, “विदेशमा सन्तान भएकाका बाबुआमा धेरै अहिले पनि वृद्धाश्रममा बस्न बाध्य छन् ।”

ज्येष्ठ नागरिक सङ्घका प्रमुख सल्लाहकार बद्री तिमिल्सिना ज्येष्ठ नागरिकलाई राज्यले हेर्नुपर्ने बताउनुहुन्छ । उनीहरुको सम्पत्ति राज्यको बनाएर वृद्धावस्थामा रेखदेख सरकारकोतर्फबाट गर्नुपर्ने उहाँको राय छ । विदेशमा मात्रै होइन, स्वदेशमै रहेका कैयौँले आफ्ना वृद्ध बाबुआमालाई नहेरेर दुःख पाइरहेको तिमिल्सिना बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “सन्तान जन्माएर हुर्काएर पढाएर बुढेसकालमा बेसहारा बन्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ ।” स्वदेश वा विदेश जहाँ भए पनि आफ्ना बाबुआमाको रेखदेख सन्तानले नगर्नु दुःखद् रहेको उहाँको भनाइ छ ।

त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक डा टीकाराम गौतम अहिले नेपालको सामाजिक संरचना सङ्क्रमणकालीन भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हामी एउटा सामाजिक संरचनाबाट अर्काे सामाजिक संरचनामा परिवर्तन हुँदैछौँ । यस्तो अवस्थामा वृद्धवृद्धाले अनपेक्षित समस्या भोग्नुपर्छ ।”

अहिले वृद्धाको अपेक्षा एउटा हुने र नयाँ पुस्ताको चाहना अर्काे हुने हुँदा वृद्धवृद्धाको चाहना पूरा हुन नसक्ने जनाउँदै उहाँले भन्नुभयो, “नयाँ पुस्ताले वृद्धाको चाहना पूरा गर्न सक्दैनन् । त्यसले वृद्धामा मनोवैज्ञानिक, सामाजिक र आर्थिक समस्या भोग्नुपर्छ ।” वृद्धवृद्धा नेपालको पुरातन शैलीअनुसार अपेक्षा गर्ने बताउँदै उहाँले नयाँ पुस्ताले विश्वव्यापी पारिवारिक मान्यताअनुसार चल्न चाहँदा समस्या भएको बताउनुभयो ।

समाजमा राम्रो छवि बनाएका सम्पन्न र शिक्षित परिवारमै यो समस्या बढी देखिने गरेको छ। शरीरले सकुञ्जेल र बिरामी नहुँजेल वृद्धाले कसैसँग गुनासो गरेको पाइँदैन । उनीहरु यो समस्या खुलेर राख्न पनि चाहँदैनन् । वास्तविक पीडा लुकाइरहेका हुन्छन् । साहाराको खोजी गर्नुपर्ने अवस्था सिर्जना हुन्छ तब मात्रै उनीहरुको वास्तविकता बाहिर आउने गर्दछ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।