धनकुटा नगरपालिकाले ड्रागनफलमा गरेको क्रान्ति
जीवन प्रसाद राई । धनकुटा नगरपालिकाको आर्थिक सहयोगमा तेखिमे कृषि परामर्श सेवा फर्मले २०७५ साल असार महिनामा नै धनकुटा नगरपालिकालाई ड्रागनफल अर्थात (सिम्थी) खेतीको लागि बिशेष पकेटक्षेत्र बनाउन सिफारिस गरेको थियो । सोही अनुसार नै २०७५ साल मंशिर महिनामा वडा नम्बर ८ सान्ताङ्ग, टेकुनाला, याक्ते क्षेत्रहरुलाई ड्रागनफलको बिशेष पकेटक्षेत्र बनाउने गरि अध्ययन तथा परियोजना लागु गर्ने निर्णय भयो ।

एभोकाडोको कार्यक्रम कृषकलाई आर्थिक रुपमा सशक्त बनाउने माध्यम बन्यो । एभोकाडो धनकुटामा पहिल्यै देखि नै फल्दै आएकोमा नगरपालिकाले यसलाई ब्राण्ड निर्माण गर्ने कार्य गरेको थियो भने साथै यसलाई अपनत्व लिने सम्मको कार्यक्रम गरेर किसानलाई प्रोत्साहनको कार्य गर्यो तर ड्रागनफल एकदमै नयाँ र नौलो फलफुलको कार्यक्रम थियो । यसलाई लागु गर्ने बेलामा कृषिका प्राबिधिकहरु समेत धनकुटामा ड्रागनफलको कार्यक्रम गर्दा असफल हुने भनेर सुझाबहरु दिने गर्दथे । यही कारणले गर्दा यो कार्यक्रममा शुरुमा धेरैले आशंका समेत ब्यक्त गरेका थिए भने परियोजना लागु भएको एकबर्ष सम्म पनि यसबाट खासै प्रतिफल नआए पछि वडा अध्यक्ष सुमन राईले समेत तिक्त्तता ब्यक्त गरेका थिए ।
तर आज ३ साल पछि ड्रागनफल धेरैको लागि चासो तथा आम्दानीको लागि प्रभावकारी माध्यम बनेको छ । यहाँ सानो स्केल अर्थात कौसीमा खेती गर्नेको संख्या पनि निकै बढेको छ भने ब्यवसायिक रुपमा लाग्ने ब्यक्तिहरुको संख्या दिनानुदिन बढिरहेको छ । कौसीमा खेती गर्नेहरुलाई धनकुटा नगरपालिकाले नै घर घरमा यसलाई रोप्न प्रोत्साहन गरेको थियो ।
जसमा धनकुटा नगरपालिकाका उपप्रमुख शकुन्तला बस्नेत, वडा नम्बर ७ का अध्यक्ष जंग बहादुर राई, वडा नम्बर ४ का अध्यक्ष जम्सेर राई, वडा नम्बर २ का अध्यक्ष चन्द्रलाल तामाङ, वडा नम्बर ६ का अध्यक्ष नरेश श्रेष्ठ, वडा नम्बर ८ का अध्यक्ष सुमन राई प्रत्यक्ष रुपमा संलग्न भएका थिए । उपमेयर तथा अध्यक्षहरुले गरेको कार्यले धनकुटामा ड्रागनफल खेतीले केही उर्वर बनायो ।
यसैगरि सर्बसाधारणहरुमा पत्रकार रमेशचन्द्र अधिकारी, सामाजिक अभियन्ता तथा मानव अधिकारकर्मी गीता अधिकारी, ब्यवसायी मुकुन्द प्रयास, बिक्रम कार्की, थाम बहादुर राई, हर्क राई, सरोज भुजेल लगायतले समेत धनकुटा बजारमा थप रौनक थप्ने कार्य गरे । उनीहरुले गरेको यो प्रयासले आज धनकुटा बजारमा घरघरमै यसको बिरुवा प्रसारण हुदै गएको छ यो ज्यादै राम्रो कुरा हो । जसले ब्यवसायिक बिस्तारमा योगदान गर्नुका साथै सौखिनहरुलाई समेत आकर्षण गर्दछ ।

बारीमा ब्यवसायिक बिस्तार हुने क्रममा सबैभन्दा बढी अमर याक्खाले गरेका छन । उनी धनकुटा नगरपालिका भित्र र धनकुटा जिल्लामा सबैभन्दा बढी ब्यवसायिक बिस्तार गरेका ब्यक्ति हुन । भने उनले यसलाई थप ब्यवसायिक बनाउनका लागि महत्वपुर्ण योगदान समेत पुर्याएका छन । यसका साथै जहानश्वरी राई, बुद्ध राई, योगेन्द्र राई, योगेन्द्र श्रेष्ठ ब्यवसायिक बिस्तारमा योगदान दिईरहेका छन । जस्ले गर्दा आज धनकुटा नगरपालिका ड्रागनफलको बिशेष क्षेत्र होईन मुख्यक्षेत्रको रुपमा बिस्तार हुदै गरेको छ । धनकुटा नगरपालिकाले लगानी गरेको एभोकाडो र ड्रागनफलले यहाँको जनतालाई आर्थिक रुपमा निकै राम्रो सहयोग गरेको छ ।
धनकुटा नगरपालिकाले गर्दा यसका वरपरका पालिकाहरुमा समेत बिशेष आकर्षण बढ्दै गरेको छ । जस्तै शहिदभुमि गाँउपालिका सबैभन्दा बढी प्रभावित बनेको छ । यसैगरि महालक्ष्मी नगरपालिका, साँगुरीगढी गाँउपालिका, निकै प्रभावित र सबैभन्दा कम प्रभावित चौबिसे र छथर जोरपाटी गाँउपालिका रहेका छन । समग्रमा धनकुटा जिल्लामा यसको प्रभाव बिस्तार दिन दुईगुणा र रात चौगुणाको रफ्तारमा हुदै गरेको छ ।
ड्रागनफल बिशेषता सुक्खा तथा गर्मी ठाँउहरुमा हुने गर्दछ । यसलाई राम्रो संगले मलजलको ब्यवस्थापन गरिनुपर्दछ । एकपटक लगाईएको यो फलबाट पचासौ बर्ष सम्म पनि फल लिन सकिन्छ । पहेलो, रातो र सेतो फलको रुपमा पाईने यो फल ब्यवसायिक फलाईको लागि सेवनको लागि समेत सेतो जातको ड्रागनफल सबैभन्दा राम्रो मानिन्छ । रातो धेरैले खोजेको भएपनि यसबाट ब्यवसायिक फाईदा अनि फलाई राम्रो हुदैन । सानो साईज र पातालो फल्ने अनि निकै गुलियो भएपनि यसलाई सौखको रुपमा मात्रै लिन सकिन्छ । ब्यवसायिक रुपमा फाईदाको लागि हो भने सेतो जातको नै लगाउन उपयुक्त मानिन्छ । सेतो जातको बिशेषता के हो भने धेरै फल्ने, ठुलो फल्ने हेर्दा आकर्षक मात्रामा फल्ने र खादा पनि स्वादिलो नै हुने हुनाले यसलाई भोलिका दिनमा निर्यात समेत गर्न सकिने जात हो । यसैले ब्यवसायिक रुपमा यो फल लगाउन चाहनेले सेतो जात नै लगाउन सुझाब दिन सकिन्छ ।

ड्रागनफल प्रतिरोपनी १ सय बोट लगाउन सकिन्छ । यसलाई दुई प्रबिधि अवलम्बन गर्न सकिन्छ । पहिलो प्रबिधि बाँस वा काठलाई थाक्राको रुपमा प्रयोग गरेर रोप्न सकिन्छ । यो प्रबिधि प्रयोग गर्दा प्रति रोपनी २० देखि २५ हजार रुपियाँ सम्म खर्च हुन्छ भने दोस्रो हो स्थायी सिमेन्टको पिलर प्रयोग गरि खेती गर्दा रु. १ लाख सम्म खर्च लाग्ने गर्दछ । तर स्थायी प्रबिधिमा एकपटक खर्च गरिसकेपछि पचासौ बर्ष सम्म पनि लगानी थपिरहन पर्दैन । तर अस्थायी प्रबिधि बाँस वा काठको प्रयोग गर्दा प्रत्येक ४ वा ५ सालमा लगानी थपिरहन पर्दछ वा यसको थाक्रा फेरिरहनु पर्दछ । यदि शुरुमा नै लगानी गर्नलाई सामार्थ राख्ने ब्यक्तिहरुले स्थायी लगानी गरेर कार्य गर्दा राम्रो हुन्छ । तर यसलाई गरिबी निवारण वा धेरै कृषकहरुका बीच आयआर्जनको रुपमा परियोजना संचालन गर्ने हो भने अस्थाई प्रबिधिबाट नै शुरु गरिनु पर्दछ । कम आय अनि लगानी गर्न सामार्थ नहुने किसानका लागि बाँस वा काठको थाक्रा प्रबिधि नै राम्रो हुन्छ । धनकुटा नगरपालिकाले मास स्केलमा धेरै कृषकहरुका बीच यसलाई संचालन गरेको हुनाले शुरुमा बाँस वा काठको थाक्रा दिने प्रबिधिलाई नै परिचालन गरेको थियो ।
हाल धनकुटा नगरपालिकाको सबैवडाहरुमा नै ड्रागनफललाई बिशेष चासोका साथ कृषकहरुले खेती गरिरहेका छन । पछिल्लो तथ्यांक अनुसार यसलाई ६० हजार भन्दा बढी बोटहरु कुनै न कुनै तरिकाबाट रोपि सकिएको छ । यो भनेको ६ सय रोपनी भन्दा बढीमा खेती गरिनु हो । सबैभन्दा बढी वडा नम्बर ८ मा खेती गरिएको छ भने यसपछि वडा नम्बर ७, ५, ६, ४, ३ र १ मा गरिएको छ । वडा नम्बर २, ९ र १० मा अलि कम रोपिएको छ । तर धनकुटा नगरपालिका भित्र यसलाई ब्यवसायिक बिस्तार गर्ने क्रमको होडबाजी भने शुरु भएको छ ।
ड्रागनफलको बिरुवाको माग पनि निकै आएको कारणले गर्दा यहाँका नर्सरी ब्यवसायीहरुले समेत यसलाई प्रबर्धन गर्न शुरु गरेका छन । मधुगंगा नर्सरी पारिपात्ले, ईन्द्र फलफुल नर्सरीले कागतेमा, यसैगरि एभोकाडो नर्सरीका अभियानकर्ता गोपाल बाग्लेले समेत ड्रागनफललाई आर्कषक तरिकाले नर्सरी स्थापना गरेका छन भने भरत गुरागाई, हिकेश गुरागाई लगायतका ब्यक्तिहरुले समेत यसलाई नर्सरी अभियानको रुपमा लिएर गएका छन ।

नगरलाई जिवन्तता दिने कार्यक्रम :
ड्रागनफलको कार्यक्रमले राजनीतिज्ञ, जननिर्वाचित पदाधिकारी, पत्रकार, ब्यवसायी, कृषक, बिधार्थी, उधमी सबैलाई समावेश गर्न सकेको र सबैलाई आकर्षित गर्न सकेको नयाँ फलको रुपमा यसलाई लिन सकिन्छ । यस फलबाट आम्दानीको मार्ग समेत प्रसस्त्र मात्रामा बढी सकेको र यसको माग पनि आम रुपमा रहेको कारणले गर्दा यो निरन्तर रुपमा फैलिदै जाने निश्चित रहेको छ । फेरि यो फल आँपको सिजन सकिएको र सुन्तला बजारमा नआई सकेको अवस्था भदौ देखि मंशिर सम्म बजारमा आउने हुनाले समेत यसबाट धेरैले फाईदा लिन सक्नेछन ।
नेपालीहरुको जिब्रोमा झुण्डिने खालको स्वाद भएको कारणले गर्दा पनि यसको बजार नेपालमै धेरै रहेको छ । पछिल्लो समयमा यसको रोप्ने कार्य तिव्रताका साथ फैलिदै गरेको भएपनि नेपालमा अबको २० बर्ष पछि मात्रै बाहिरी बजार खोज्नका लागि तयारी गरिनु पर्छ । यसो भनिरहदा २० बर्ष सम्म नेपालकै बजार नै काफी रहेको छ । यसैले ड्रागनफल गर्मी ठाँउमा बारी हुने सबैले रोपौ र राष्ट्रिय आम्दानीमा बृद्धि गर्नमा योगदान गरौ । धनकुटाबाट ट्रकका ट्रक ड्रागनफल अन्य जिल्ला तथा तराईतिर पठाउने परिकल्पना गरौ ।
जय ड्रागनफल, जय धनकुटा नगरपालिका, जय धनकुटा जिल्ला ।


