सार्वजनिक यातायात र ट्याक्सीले मनोमानी भाडा लिएको गुनासो आएपछि कायम गरिने

बलेवा, १९ असोज । सार्वजनिक यातायात र ट्याक्सीले मनोमानी भाडा लिएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले भाडादर कायम गरेर लागू गर्ने निर्णय गरेको छ । प्रशासनमा यातायात व्यवस्था कार्यालय, उपभोक्ता मञ्च, प्रहरी, ट्राफिक र व्यवसायीको बैठकले न्यूनतम भाडादर कायम गर्ने र सार्वजनिक सवारी सेवालाई चुस्त तथा विवादरहित बनाउने निर्णय भएको हो ।

प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले बागलुङ बजारदेखि मालढुङ्गा, कुश्मा, बेनी, कुँडुले, पञ्चकोटसहित गलकोट र बुर्तिबाङ तथा पोखरासम्मका ट्याक्सीको भाडादर बढेको दरमा लिन पाउने न्यूनतम रुपैयाँ काम गरेको यातायात व्यवस्था कार्यालयका प्रमुख पारसिंह थापाले बताउनुभयो । उक्त दरलाई अक्षरशः अद्यावधिक गरेपछि पुनः बैठक बसेर पारित गरी अस्थायी रुपमा लागू गरिने उहाँले जानकारी दिनुभयो ।

स्थायी रुपमा भाडादर कायम गर्न भने जिल्ला तहमा अधिकार छैन । सरकारले लागू गर्ने भाडादरलाई जिल्ला तहमा समायोजन गर्ने व्यवस्था छ । बागलुङदेखि गलकोटतर्फ जाने जिप र बस तथा बुर्तिबाङदेखि निसीतर्फ जाने सार्वजनिक यातायातले बढी भाडा असुल गरेकोसमेत गुनासो आएकाले नियमनका लागि व्यवसायी बोलाएको प्रमुख जिल्ला अधिकारी कार्कीले बताउनुभयो । “यात्री ठगिने, गुनासो आइरहने अवस्था हुन नदिन बैठक बस्यौँ”, कार्कीले भन्नुभयो, “अब गुनासो नआउने गरी काम गर्नुपर्छ ।”

लाइसेन्स नभएका र रुट परमिट नभएका गाडीले पश्चिम बागलुङमा यात्री ओसार्ने गरेको तथा उनीहरुले चर्को भाडा लिएको ढोरपाटन यातायात सेवा प्रालिका सचिव नरबहादुर क्षेत्रीले बताउनुभयो । तर प्रहरीले भने परमिट नभएका मात्र नभई भएकाहरुले पनि बढी भाडा लिएको भेटिएकाले नियमनका लागि बोलाउनु परेको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले बताउनुभयो ।

आइतबारदेखि ट्राफिक प्रहरीले पनि अनुगमनलाई बढाउन थालेको जिल्ला ट्राफिक प्रहरी प्रमुख बद्रीप्रसाद तिमिल्सिनाले बताउनुभयो । “यो समस्या बढी पश्चिम क्षेत्रमा देखिएकाले नियमन र अनुगमन बढाउने तयारीमा छौँ”, उहाँले भन्नुभयो ।

सबै गाडीको पछिपछि प्रहरी दौडेर नहोला तर नमूनाका रुपमा केही कारबाही गर्ने र नियमित अनुगमन पनि गर्ने उहाँले बताउनुभयो । बैठकले प्रस्तावित भाडादर यातायात व्यवस्था समितिको बैठकमा राखेर निर्णय गराउने तथा दसैँ, तिहारसहितका चाडपर्वमा भीडभाड हुन नदिने र दु,र्घटना न्यूनीकरण गर्न नियमित अनुगमन गर्ने निर्णय गरेको हो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।