मुख्यमन्त्री राउतले आज विश्वासको मत लिँदै
धनुषा, २० असोज । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज विश्वासको मत लिने हुनुभएको छ । आज विश्वासको मत लिनका लागि प्रदेशसभा अधिवेशन आह्वान गरिएको छ।
गत बुधबार (असोज १३ गते) मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकबाट मुख्यमन्त्री राउतले विश्वासको मत लिनका लागि प्रदेशसभा अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो । सत्तारुढ दल जनता समाजवादी पार्टी विभाजन भएपछि संवैधानिक प्रवधानअनुसार मुख्यमन्त्री राउतले विश्वासको मत लिन लाग्नुभएको हो ।
मुख्यमन्त्री राउतले विश्वासको मत लिन एक साताअघि नै प्रदेशसभा सचिवालयलाई परिपत्र गर्नुभएको थियो । आजदेखि नै प्रदेशसभाको सातौँ अधिवेशन आह्वान गरिएको छ ।
संविधानको धारा १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सत्ता साझेदार दल विभाजन तथा आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रवधान छ । गत भदौ ९ गते जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भई महन्थ ठाकुर नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को प्रमाणपत्र निर्वाचन आयोगले दिएको थियो ।
जसपाले जनप्रतिनिधिलाई निर्वाचन आयोगले दल रोज्ने समय २२ भदौसम्म तोकेकाले त्यसलाई दल विभाजनको अन्तिम मिति मानेर आज मुख्यमन्त्री राउतले विश्वासको मत लिन लाग्नुभएको हो ।
अहिले प्रदेश नं २ मा जसपा, कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन सरकार छ भने नेकपा (एकीकृत समाजवादी)ले समेत मुख्यमन्त्री राउतलाई नै समर्थन गर्ने जनाएको छ । यस हिसाबले मुख्यमन्त्री राउतसँग प्रदेशसभाका १०४ सदस्यमध्ये दुईतिहाइभन्दा बढीको बहुमत छ ।
प्रदेशसभामा जसपाका ३९, कांग्रेसका १९, एकीकृत समाजवादीका १३, माओवादी केन्द्रका आठ र रिजवान अन्सारी नेतृत्वको नेपाल सङ्घीय समाजवादी पार्टीका एक गरी जम्मा ८० सदस्यको मुख्यमन्त्री राउतलाई समर्थन रहने जसपाका एक नेताले बताउनुभयो । लोसपा र नेकपा (एमाले) प्रदेश सरकारको विपक्ष रहेका छन् ।


