नेता पौडेल-‘निष्ठाको राजनीति हराउँदै गयो’
चितवन, २५ असोज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निष्ठा र इमान्दार व्यक्तिका हातमा नेतृत्व आउनुपर्ने बताउनुभएको छ ।
कांग्रेस भरतपुर महानगरपालिका–१० ले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले पछिल्ला समय निष्ठाको राजनीति हराउँदै गएकामा चिन्ता व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो, “म सबै इमान्दार साथी एकठाउँमा उभिन आग्रह गर्दछु । जनताको मन जितेर राजनीति गर्नुपर्छ । ” पार्टीको तलदेखि माथिसम्म निष्ठा र इमान्दार व्यक्तिले नेतृत्व गरेर नयाँस्वरुप दिनुपर्नेमा उहाँको जोड थियो ।
सो अवसरमा नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले पार्टीको निर्वाचनँंगै तीनै तहको निर्वाचन हुने भएकाले आन्तरिक निर्वाचनको प्रभाव नपर्ने गरी प्रतिस्पर्धामा उत्रनुपर्ने बताउनुभयो ।
वडा सभापति गणेश गुरुङका अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका पूर्व सभापति, पदाधिकारीलगायत नेता कार्यकर्ताको उपस्थिति थियो ।


