बाजुरामा १६ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
मार्तडी, ७ कात्तिक । बाजुरा जिल्लाका सबै पालिकाको ६९ वडामा आजदेखि एकैसाथ छ महिनादेखि ५९ महिना मुनिका १६ हजार बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन थालिएको छ । आजदेखि भोलि सोमबारसम्म सञ्चालन हुने राष्ट्रिय कार्यक्रमअनुसार जिल्लाका १६ हजार बालबालिकालाई सो क्याप्सुल खुवाउने कार्यक्रम रहेको बाजुरा जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले राससलाई जानकारी दिनुभएको छ ।
उहाँका अनुसार बालबालिकालाई खुवाइने भिटामिन ‘ए’ स्थानीय तहका सामुदायिक स्वास्थ्य केन्द्र, इकाइ र स्वास्थ्य चौकीमा पुगिसकेको छ । सोही कार्यक्रममा पाँच वर्षमुनिका बालबालिकालाई जुकाको औषधि पनि खुवाइने र यसका लागि जिल्लाभरका महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ ।
सरकारले प्रत्येक वर्ष दुई चरणमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै आएको छ । स्थानीय तहले प्रत्येक वडामा तोकेका खोप केन्द्रमा लगेर आफ्ना बालबालिकालाई भिटामिन ‘ए’, र जुकाको औषधि खुवाउन आग्रह गरेको छ । यसभन्दा पहिले कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ खुवाउँदै आएकामा दसैँ परेकाले कात्तिक ७ र ८ गते खुवाउन लागिएको हो ।
छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले विसं २०५० देखि भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको र जुकाको औषधि भने विसं २०५६ बाट खुवाउन थालिएको हो ।
एक घरमा आगलागी, लाखौँको क्षति
जिल्लाको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–३ महतीमा शनिबार दिउँसो आगलागी हुँदा लाखौँको क्षति भएको छ । सोही गाउँपालिका–३ महतीका स्थानीय कार्तिके ल्वारको घरमा आगलागी भएको हो ।
आगलागीबाट घर जलेर पूर्णरुपमा क्षति हुनाका साथै सबै सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी बलेन्द्र नाथले राससलाई बताउनुभयो।
आगलागीबाट ल्वारको घरमा रहेको अन्नपात, लुगा, कपडा, भाँडाकँुडासहित रू तीन लाख जलेर नष्ट भएको स्थानीय कोपिला सिंहले बताउनुभयो । क्षतिको विवरण नआएकाले केकति भयो भन्नेबारे भन्न नसकिने प्रहरी निरीक्षक नाथले बताउनुभयो । दिउँसो १ बजेतिर भान्छाबाट आगो सल्केर घरमा आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।


