पार्टीलाई एकताबद्ध बनाउनुपर्ने
काठमाडौँ, ९ कात्तिक । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिनुभएको छ । टोखा नगरकमिटीको प्रथम नगर आधिवेशनको आज उद्घाटन गर्दै उहाँले पार्टी एकताबद्ध बनाउन सकेमात्र पार्टीले निर्वाचनमा जित हासिल गर्ने बताउनुभयो । जनताका हितभन्दा ठूलो कुरा नेता र पार्टी नहुने् भन्दै उहाँले जनताको हितमा काम गरेर २०७४ सालकै अवस्थामा पार्टीलाई पु¥याउनुपर्नेमा जोड दिनुभयो । उहाँले राजनीतिकमा अनेक सम्भावना रहेको उल्लेख गर्दै त्यसअनुसार अगाडि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।
महासचिव पोखरेलले लोकतान्त्रिक अभ्यास अनुसार सर्वसम्मत् नेतृत्व चयन गर्न समेत आग्रह गर्नुभयो । उहाँले नेतृत्व चयन गर्दा पार्टीको विधान अनुसार ३३ प्रतिशत अनिवार्य महिला प्रतिनिधित्व गराउनुपर्ने बताउनुभयो ।
१०औँ राष्ट्रिय महाधिवेशनको तयारीस्वरुप आज देशभर एमालेको स्थानीय तहको अधिवेशन गर्दै छ । एमालेले यही कात्तिक ६ गते वडा कमिटी अधिवेशन सम्पन्न गरेको छ । एमालेको आगामी मङ्सिर १० देखि १३ गतेसम्म १०औँ राष्ट्रिय महाधिवशेन हुँदै छ ।
म्याग्दी प्रशासनमा टोकन प्रणाली
गलेश्वर, ९ कात्तिक । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा टोकन प्रणाली सुरु गरिएको छ । सेवा प्रवाहलाई व्यवस्थित बनाउनका लागि टोकन प्रणाली सुरु गरिएको हो । प्रशासनमा सेवाग्राहीको चाप बढेपछि सेवाप्रवाहलाई व्यवस्थित बनाउन टोकन प्रणाली लागू गरिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले जानकारी दिनुभयो ।
सेवा लिनेलाई सहज बनाउन तीनवटा ठाउँबाट दिने सेवा एकै ठाउँबाट सेवाग्राहीलाई लिने व्यवस्था मिलाएको प्रजिअ रानाले बताउनुभयो । सेवाग्राहीको सहजताका लागि सहायता कक्ष राखेको छ । सहायता कक्षबाट प्रशासनमा पुगेका सेवाग्राहीको आवश्यक कागजपत्र र प्रक्रिया पुगे नपुगेको परिक्षण गरेपछि टोकन दिने नियम रहेको प्रशासनले जनाएको छ ।
दसँै तिहारको अवसरमा पढाइ र रोजगारको लागि काठमाडौँ, पोखरा र प्रवासमा रहेका युवायुवती जिल्लामा फर्किएपछि बिदाको समयमा नागरिकता, पासपोर्ट र प्रतिलिपि बनाउन प्रशासनमा सेवाग्राहीको भिड छ ।


