चुनावमा कांग्रेस एक्लै लड्छ ,अर्ली इलेक्सन हुँदै हुँदैन-नेता गगन थापा
भक्तपुर, १७ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेकपा (एमाले)ले चाहेको जस्तो अर्ली इलेक्सन अहिले असम्भव भएको बताउनुभएको छ । नेपाली कांग्रेस गुण्डुले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले वैशाखमा स्थानीय तहको निर्वाचनबाहेक अरू कुनै निर्वाचन समयअगाडि नहुने बताउनुभएको हो । नेता थापाले राष्ट्रियसभाको रिक्त हुने सदस्य पदमा चुनाव हुँदैछ भने प्रतिनिधिसभा र प्रदेशसभाका रिक्त पदमा पनि उपनिर्वाचनको लागि सरकारले तयारी गरेको जानकारी दिनुभयो ।
“कांग्रेस पहिला पनि एक्लै चुनाव लडेर ठूलो पार्टी भएको हो र अहिले पनि एक्लै चुनाव लडेर ठूलो पार्टी बन्छ”, उहाँले भन्नुभयो, “आगामी निर्वाचनमा कांग्रेस एक्लै लडेर पनि एमालेलाई केन्द्र, प्रदेश र स्थानीय तहबाट हराउँछ ।” नेता थापाले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर आफूले सरकारले गरेका राम्रा र नराम्रा कामबारे जानकारी लिएको बताउँदै नराम्रा काम नगर्न सरकारलाई आग्रह गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा वाग्मती प्रदेशका भौतिक पूर्वाधारमन्त्री कृष्णलाल भँडेलले प्रदेश सरकारले जिम्मेवारीपूर्वक काम गर्ने बताउनुभयो । नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले राजनीति गरेर धन कमाउनेहरुको स्रोत खोज्नुपर्ने बताउँदै मुलुकमा सुशासनको अनुभूति दिलाउनेतर्फ सरकार अग्रसर रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा सूर्यविनायक नगर कांग्रेस सभापति निशान ढुङ्गेल, गुण्डु गाविसका पूर्वअध्यक्ष भेषबहादुर कार्की, कार्यक्रमका सभापति एवं कांग्रेस वडा नं ७ का अध्यक्ष जगदीश बस्नेतले आगामी निर्वाचनमा कांग्रेसले भक्तपुरको सबै ठाउँमा विजयी हुने दाबी गर्नुभयो ।
यो पनि पढ्नुहोस्..अध्यक्ष ओलीद्वारा महाधिवेशन उद्घाटनस्थल निरीक्षण
चितवन, १७ कात्तिक । नेकपा (एमाले) को १०औँ महाधिवेशन उद्घाटनस्थलको अध्यक्ष केपी शर्मा ओलीले निरीक्षण गर्नुभएको छ । आज उहाँसहित जिल्लाका नेता तथा कायकर्ताले महाधिवेशन उद्घाटनस्थलको स्थलगत निरीक्षण गर्नु भएको हो । उहाँले नारायणी किनारको जनसहभागिताको क्षमता, सुरक्षा, सवारी पार्किङलगायतका विषयमा चासो व्यक्त गर्नुभएको थियो । यो ठाउँ बाहेक जिल्लामा विकल्पका बारेमा पनि उहाँले जिज्ञासा राख्नुभएको थियो ।
सो क्रममा नेकपा केन्द्रीय सदस्य काशीनाथ अधिकारी, प्रदेशसभा सदस्य जेएन थपलिया, प्रदेश सदस्य कृष्णभक्त पोख्रेल, एमाले जिल्ला अध्यक्ष पार्वती रावललगायतले यहाँको बारेमा अध्यक्ष ओलीलाई जानकारी गराउनुभएको थियो ।
केन्द्रीय सदस्य अधिकारीले पश्चिमबाट आउने सवारीलाई गैँडाकोटमा, पूर्वबाट आउने सवारीलाई केन्द्रीय बस टर्मिनल भरतपुरमा र उत्तर तर्फबाट आउने सवारीलाई आँपटारीमा पार्किङको व्यवस्था गर्न सकिने बताउनुभयो । उहाँले नदी किनारमा व्यवस्थापन गरेर पाँच लाख हाराहारी सहभागी हुनसक्ने जानकारी दिनुभयो । नेकपा (एमाले)को १०औँ महाधिवेशन मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ । उद्घाटन सत्रमा एमालेले पाँच लाख जनता उतार्ने योजना बनाएको छ । उद्घाटन सत्र नारायणी नदी किनार र बन्द सत्र सौराहामा गर्ने कार्यक्रम तय भएको छ । यस स्थानको अध्ययनका लागि केन्द्रको थप टोली केही दिनमा आउने एमाले चितवनले जनाएको छ ।


