गौतमबुद्ध विमानस्थलमा एरो थाईले क्यालिब्रेसन फ्लाइट गर्ने

सिबी अधिकारी/काठमाडौँ, २१ कात्तिक (रासस) ः गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) गर्न थाइल्याण्डको एरो थाईले अनुमति पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पूर्व सम्झौता अनुरुप एरो थाईलाई क्लालिब्रेशन फ्लाइट गर्न अनुमति दिएको हो ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको गौतमबुद्ध विमानस्थल क्यालिब्रेशन फ्लाइटका लागि तयारी अवस्थामा छ । क्यालिब्रेसन फ्लाइट भनेको विमानस्थलमा विमान उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्न धावनमार्ग, टावरलगायतका क्षेत्रमा जडान भएका उपकरणले काम गरेका छन् या छैनन् भनेर परीक्षण गर्ने प्रक्रिया हो । यसका लागि जहाज नै ल्याएर उडान अवतरण गर्नुपर्छ ।

एरो थाइले क्लालिब्रेसन फ्लाईट गर्ने अनुमति पाएसँगै परीक्षण उडानको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार अबको एकमहिनाभित्रै परीक्षण उडान हुनेछ । त्यसबीचमा प्राधिकरणले आन्तरिक तयारी गर्नेछ । एरो थाई थाइल्याण्डको प्रतिष्ठित हवाई कम्पनी हो । थाई एयरवेजका लागि एटिसिलगायत प्राविधिक जनशक्ति एरो थाइले उपलब्ध गराउने गरेको बताइन्छ । आगामी नोभेम्बर २२ तारिखमा एरो थाईले प्राविधिक जनशिक्तसहित नेपालमा जहाज ल्याएर प्रक्रिया पुरा गरी क्लालिब्रेसन फ्लाइट गर्ने प्राधिकरणले जनाएको छ । यो काम एकसाता अवधिको हुनेछ ।

कोभिड–१९ महामारीका कारण अघिल्लो वर्ष नै उद्घाटन गर्ने भनिएको उक्त आयोजना केही बिलम्ब भएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनबमोजिम प्राधिकरणले क्लालिब्रसन फ्लाइटको टुङ्गो लगाएको हो ।

महानिर्देशक क्षेत्रीले भूकम्प, नाकाबन्दी तथा ठेकेदारले बेलैमा पैसाको जोहो र निर्माण सामग्री गर्न नसक्नुले पनि आयोजना सम्पन्नमा ढिलाइ भएको छ । स्थानीय तहसँगको समन्वय गर्न नसक्नु तथा पछिल्लो कोभिड–१९ महामारीका कारण आयोजना प्रभावित बन्यो । क्यालिब्रेसन फ्लाइट विदेशीलाई पैसा तिरे पनि गुहार्नुपर्ने कारणले पनि आयोजना ढिलो भएको उहाँले बताउनुभयो । महाप्रबन्धक क्षेत्रीले भन्नुभयो, “गौतमबुद्ध विमानस्थलको प्राविधिक प्रक्रिया लगभग पूरा गरिसकेका छौँ, तुरुन्त गर्नुपर्ने केलिब्रेसन फ्लाइट, अबको एक महिनाभित्रै सक्छौँ, त्यसको तीन महिनाभित्र परीक्षण उठान गरी अर्को पाँच महिनाभित्र व्यावसायिकरुपमा सञ्चालनमा ल्याउने योजना छ ।”

परीक्षण उडान गरेपछि अन्तर्राष्ट्रिय वायुसेवालाई नियमित उडानका लागि आह्वान गरिने उहाँको भनाइ छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अबको पाँच महिनामा अन्तर्राष्ट्रिय उडान हुने जनाइएको छ । विमानस्थलको टेक्निकल स्टाटस (प्राविधिक स्थिती) को काम लगभग सकिसकेकाले अबको पाँच महिनामा अन्तर्राष्ट्रिय उडान हुने महानिर्देशक क्षेत्रीले बताउनुभयो ।

गौतमबुद्ध विमानस्थल अङ्ग्रेजी वर्ष सन् २०२१ को सुरूआतबाट सञ्चालनमा ल्याइने जनाइएको थियो । सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ को सुरूमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरवाहीले अवरोध भएको थियो । पछि थपिएको दुई वर्षको अवधिमा आयोजनाको काम उल्लेख्यरूपमा प्रगति भयो ।

पछिल्लो पटक सन् २०२० को मार्च महिनासम्मका लागि विमानस्थलको निर्माण अवधि थपिएको थियो । प्राविधिक कारण ढिलाइ भएको उक्त आयोजनालाई कोरोनाको सन्त्रासले थप विलम्ब बनाएको हो । विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरेको हो । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको उक्त आयोजनाका लागि दुवै चरणमा गरी रु सात अर्ब ३२ करोड हाराहारी खर्च हुने प्राधिकरणले जनाएको छ ।

कुल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिक सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ । प्राधिकरणका अनुसार हाल ८० प्रतिशत भौतिक प्रगति सकिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि अबको छ महिनामा परीक्षण उडान हुने गरी तयारी भइरहेको जानकारी दिँदै एक वर्षभित्र अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिने बताउनुभयो ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा रु २०० हजार पीसीआर शुल्क लिएको पाइएपछि पर्यटनमन्त्रीले विमानस्थलको छड्के निरीक्षण गर्दै शुल्क घटाउन निर्देशन दिनुभएको थियो । सोहीअनुरुप विमानस्थलमा पीसीआर परीक्षण गर्दा लाग्ने शुल्क दुई हजारबाट एक हजार २०० कायम गरिएको महानिर्देशक क्षेत्रीले बताउनुभयो । आन्तरिक विमानस्थलको सुदृढीकरण गर्दै आवश्यकताका आधारमा विमानस्थल सञ्चालन गर्न तथा धनगढीलगायत विमानस्थलको स्तरोन्नतिको काम पनि सुरु भइसकेको प्राधिकरणले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।