छठपर्व सुरु भएसँगै मिथिला क्षेत्र धपक्क

गोपालप्रसाद बराल,महोत्तरी, २३ कात्तिक । छठपर्व सुरु भएसँगै महोत्तरीसहितको मिथिला क्षेत्र धपक्क बलेको छ । छठको तयारीका लागि यस क्षेत्रका नगर गाउँ बस्ती सजिएपछि जताततै उमङ्ग देखिएको हो । गाउँ÷नगरबस्तीका आम बासिन्दा सडक, ढल सफा गर्न आ–आफै जुटेका छन् । गाउँबस्तीका कच्ची घर पनि अहिले नयाँ माटो (रातोमाटो, कमेरो र लिसाइलो पहेँलो माटो) ले लिपपोत गरिएर टिलिक्क भएका छन् । दुःख भए पनि अहिले लुकेको छ । गरिब बस्तीमा पनि अघिपछिका अभाव, दुःख र सबै पीडा बिर्सेर गरिब परिवारजनसँग खुशी साटिरहेका देखिन्छन् ।

भगवान सूर्य र षष्ठी (छठी)देवीको उपासना गरिने यो पर्वका लागि अहिले पवित्र जलाशयमा सुन्दरघाट बनाइएका छन् । वर्तालु कम्मरसम्म डुब्ने पानीमा चोबलिएर सूर्यलाई अघ्र्य दिइने परम्पराको यो पर्वमा घाटस्थल अहिले बेहुली झैं सिङ्गारिएका छन् । कात्तिक शुक्ल त्रितीयाका दिन उसिना चामल, माछामासु, मुसुरो, लसुन÷प्याजजस्ता तीर्थव्रतमा वर्जित गरिएका भोजन वर्तालुले खान छाड्छन् । यसलाई ‘अरबा–अर्बाइन’ भनिने गरिएको छ । चौंथीका दिन पवित्र स्नान गरेर चोखोनितो खाइने विधिलाई ‘नहाय–खाय’ भनिन्छ । वर्तालुले यो विधि आज सम्पन्न गर्दैछन् । पर्व सुरु भएसँगै मिथिलाञ्चलका गाउँ नगरबस्तीमा भगवान सूर्य र छठी माताको भक्तप्रति करुणा वर्षिएको भावका गीत लगातार गुञ्जी रहेका छन् ।

श्रद्धा, निष्ठा, आत्मिक शुद्धि र समर्पण पर्वको मूलभाव रहेकाले जताततै सूर्यदेव र छठीमाता करुणाका खानी रहेका चर्चा आम रुपमा सुनिने गरिएको छ । पर्व सुरु भएसँगै यस भेगका सबै दैनिक गतिविधि छठ केन्द्रित हुँदो देखिँदो छ । पर्व विशेषले गर्दा सूर्यलाई अघ्र्य दिँदा देखाइने ठकुवा, भुसुवा (कसार) र अन्य मिष्टान्न परिकार बनाउने आन्तरिक तयारीबाहेक उखु, अदुवाको बोट, केराको घरीसहितका वनस्पति र फल अनिवार्य मानिएकाले अहिले यी सामग्रीको माग ह्वात्तै बढेको छ । पर्वको तयारीमा रहेका वर्तालुु मात्र नभएर पर्व सुरु भएसँगै मैथिल जनजीवनका सबैजसो गतिविधि पर्वकै तयारीमा लागिपरेका देखिँदाछन् । उखु, केरा, अदुवा, बेसार, ज्यामिर, भोगटेसहितका कृषि उपज पर्वका पूजा सामग्री मानिँदै आएका छन् । यसले थोरै जग्गा भएका गरिबले करेसाबारीमै उब्जाएका यी फसलले राम्रो बजार पाउने गरेका देखिन्छ ।

पर्वका अन्य आवश्यकता आफ्नो करेसाबारीका यिनै उपज बेचेर सजिलै पूरा गरिएको महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगरकी कलावती थारुले बताउनुभयो । पर्वसँगै यसकै तयारीमा काम गर्न टाढा पुगेका आफन्त धमाधम घर फर्किरहेका छन् । छठको अर्को विशेषता नै घर परिवेशको स्वच्छता एवं शुद्धता रहेको यस क्षेत्रका बुढापाका बताउँछन् । “आर्थिक रुपमा कोही सम्पन्न वा कोही गरिब हुन सक्छन्”, महोत्तरीको भङ्गाहा नगरपालिका–६ हतिसर्वा सङ्ग्रामपुरका बासिन्दा ६५ वर्षीय राजकिशोर यादवले भन्नुभयो, “तर घर परिवेशको स्वच्छता र सरसफाइमा सबैले ध्यान दिएका छन् ।”

पर्वको अर्को सामाजिक विशेषता आपसी मनोमालिन्य हट्नु र प्रेमभाव देखिनु रहेको छठ तयारीलाई नजिकबाट नियालेका अन्य धर्मावलम्बीको बुझाइ छ । “एक ठाउँमा बसेपछि गृहस्त जीवनमा सामाजिक ठ्याकठुक त कहिलेकाहीँ पर्छ”, जिल्लाको बलवा नगरपालिका रौजाका बासिन्दा एवम् सामाजिक, राजनीतिक कार्यकत्र्ता इस्लाम धर्मावलम्बी मन्सुल कवारीले भन्नुभयो, “तर छठपर्वको तयारी सुरु भएपछि बोल्न छाडेका छिमेकी पनि विनम्र भएर कुराकानी गर्ने गर्छन् ।” पर्वमा शुद्धता, स्वच्छता, श्रद्धा र निष्ठाको मूलभाव रहने भएकाले नै छठ पर्वभरि सामाजिक किचोला र झै–झगडा पनि कम देखिने, सुनिने गरिएको महोत्तरीकै जलेश्वर–६ बखरीका बासिन्दा एवम् साहित्यकार ८४ वर्षीय पूर्व प्रशासकसमेत रहनुभएका महेश्वर रायको ठम्याइ छ ।

खासगरी मिथिलामा छठपर्व नजिकिएसँगै सामाजिक, साँस्कृतिक र पारिवारिक परिवेश नै सङ्गीतमय र भक्तिमय बन्ने गरेको देखिन्छ । विधिको गणनाले कात्तिक शुक्ल त्रितीयादेखि सप्तमीसम्म पाँच दिनको हुने यो पर्वमा पञ्चमी तिथिमा राति एकछाक मात्र अलिनो खानेकुरा खाएर वर्तालुले ‘खरना’ विधि सम्पन्न गर्नेछन् । पर्वको मुख्य दिन षष्ठी तिथिमा निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा गई अस्ताउदा सूर्यलाई अघ्र्य दिने ‘सझुका अरख’ (सझिंया–घाट) सम्पन्न गरिन्छ ।

अन्तिम दिन सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिने ‘भोरका अरख’ विधि भएपछि पर्व समापन गरिने परम्परा छ । अन्य बेला कथित जातीय छुवाछुत र उचनिचको भेद्भाव अझै नहटिसकेको समाजमा पनि छठमा भने सबै समान देखिन्छन् । “घाटमा फरक÷फरक जाति समुदायका वर्तालु आ–आफ्ना पूजा र प्रसाद सामग्री फिँजाएर बस्छन्, यो बेला को छुत को अछुत भन्ने कसैले वास्ता गर्दैनन्”, भङ्गाहा–३ का बासिन्दा समाजशास्त्री शिवराज दाहालले भन्नुभयो, “छठपर्वमा देखिने यो अति नै सुन्दर पक्ष लाग्छ ।” उहाँले भन्नुभयो, “सप्तमीका दिन बिहान घाटमा पर्व सम्पन्न गरेपछि दलित समुदायका वर्तालुले कथित उपल्लो जाति समुदायका भनिने दर्शकलाई प्रसादस्वरुप ठकुवा, भुसुवा दिने र पाउनेले खुशीसाथ खाएको देखिन्छ ।”

षष्ठी तिथिका दिन साँझ ‘सझुका अरख’ (अघ्र्य) दिनसँगै सप्तमीका दिन बिहान ‘भोरका अरख’ दिउञ्जेलसम्म वर्तालुले सूर्य र छठीदेवीको महत्व झल्कने गीत गाएर आ–आफ्ना मनोकाङ्क्षा पूरा गरी दिन पुकारा गर्छन् । उपासकको इच्छित माग पूर्ति गर्ने भगवान सूर्यको उपासनाले सन्तान सुख र रोगव्याधि नलाग्ने हिन्दू मैथिल जनविश्वास रहेको छ ।

केही वर्ष पहिलेसम्म मधेशी मूलका हिन्दूले मात्र मनाउँदै आएका यो पर्व अब पर्वते मूलका हिन्दू र इस्लाम धर्मावलम्बीले समेत मनाउन थालेपछि छठ पर्व साझा बनेको यस क्षेत्रका बुद्घिजीवीको भनाइ छ । इस्लाम धर्मावलम्बीले भाकल गरेर अघ्र्य र प्रसाद सामग्री सूर्यलाई देखाइ दिन वर्तालु हिन्दूलाई अराएका बाक्लै देखिन्छ । अब छठपर्व मुलुकको राजधानीसहित विभिन्न भेगमा धुमधामसँग मनाउन थालिएसँगै राष्ट्रिय पर्व बनेको आम मैथिल गर्वसाथ बताउँछन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।