दैलेखका स्वास्थ्यचौकीका लागि २० थान ‘अक्सिजन कन्सन्ट्रेटर’
काठमाडौँ, २३ कात्तिक ।दैलेख जिल्लाका गाउँगाउँमा कोरोना भाइरस सङ्क्रमणसँग जुध्नका लागि लागि प्राप्त २० थान ‘अक्सिजन कन्सन्ट्रेटर’ हस्तान्तरण गरिएको छ । सो स्वास्थ्य सामग्री गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मुख्यालयबाट हस्तान्तरण भएको हो । राष्ट्रिय जनजाति उत्थान आयोगका पूर्व उपाध्यक्ष तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय कोषाध्यक्ष चन्द्रबहादुर गुरुङको समन्वयबाट एनआरएनए आइसिसी सल्लाहकार त्रिलोक गुरुङको पहलमा हङकङ पूर्वसैनिक सङ्घले स्वास्थ्य सामग्री नेपालको दुर्गम जिल्लाका लागि उपलब्ध गराएको अभियानकर्मी चक्रबहादुृर चन्दले जानकारी दिनुभयो ।
दैलेखका लागि करिब रु २८ लाख मूल्य बराबरको २० वटा अत्याधुनिक अटोमेटिक अक्सिजन कन्सन्ट्रेटरलाई पूर्वमन्त्री कुन्तीकुमारी शाहीको विशेष पहलमा जिल्लाका विभिन्न स्वास्थ्यचौकीमा पठाउन लागिएको हो । यसअघि पनि पूर्वमन्त्री शाहीले कोरोना सङ्क्रमणको बेला जिल्लामा विभिन्न किसिमले सहयोग गर्दै आउनुभएको जनाइएको छ ।
यो पनि पढ्नुहोस्..गुम्बा पुनःनिर्माण सुरु
म्याग्दी, २३ कात्तिक । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकास्थित ‘लो गेकर’ गुम्बाको पुनःनिर्माण सुरु भएको छ । काठमाडौँस्थित अमेरिकी दूतावासको सहयोगमा ऐतिहासिक ‘लो गेखर’ गुम्बाको पुनःनिर्माण सुरु भएको हो । अमेरिकी दूतावासले गुम्बा पुनःनिर्माणका लागि दुई लाख ८५ हजार अमेरिकी डलर खर्च गर्ने जनाएको छ । अमेरिकाको सांस्कृतिक संरक्षण कोषको अनुदान सहयोगमा गुम्बा पुनःनिर्माण गर्न लागिएको दूताबासले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । गण्डकी प्रदेशसभा सदस्य महेन्द्र थकाली, दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ सोम्फेल विष्ट (राजु) र अमेरिकी दूतावासका पब्लिक अफेयर्स अफिसर ग्यारेट विल्करसनले हालै गुम्बा पुनःनिर्माणको सुरुवात गर्नुभएको थियो ।
धार्मिक विधिअनुसार पूजाआजा गरेर पुनःनिर्माण सुरु गरिएको हो । सन् २०२३ मा गुम्बा पुनःनिर्माण गरिसक्ने दूताबासले जनाएको छ । ‘लो गेखर’ तिब्बती बौद्धमार्गीको सबैभन्दा पुरानोमध्येको एक महत्वपूर्ण गुम्बा हो । पुनःनिर्माणपछि गुम्बाको कलाकृतिको अभिलेख रहने र भविष्यमा धर्मावलम्बी, पर्यटकले सहजरुपमा सो सम्पदाको भ्रमण गर्न सक्नेछन् । बिसं २०७२ को भूकम्पका कारण गुम्बा जीर्ण बनेको थियो । ईस्वी संवत् आठांै शताब्दीमा बौद्ध धर्मगुरु पद्यसम्भवले भारतबाट तिब्बत् जाने क्रममा राक्षस्नीको बध गरेको ठाउँमा बाधा–अड्चन नहोस् भनेर टुक्र्याइएको शरीरमाथि मुटु राखेर मराङमा गुम्बा बनाएर केही समय त्यही बस्नुभएको धार्मिक ग्रन्थमा उल्लेख छ ।


