दशौँ राष्ट्रिय महाधिवेशनका लागि लाग्ने खर्च पार्टीका सङ्गठित सदस्यबाट उठाउने
काठमाडौँ, २५ ।नेकपा (एमाले)ले आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने दशौँ राष्ट्रिय महाधिवेशनका लागि लाग्ने खर्च पार्टीका सङ्गठित सदस्यबाट उठाउने भएको छ । एमालेले पार्टी सङ्ठगित सदस्यबाट न्यूनतम रु एक सय लेबी उठाउने भएको हो । एमाले कार्यालय सचिव शेरबहादुर तामाङ्ले महाधिवेशनमा लाग्ने खर्च पार्टी सङ्गठित सदस्यबाट न्यूनतम १०० रुपैयाँका दरले उठाइने जानकारी दिनुभयो । “महाधिवेशनमा लाग्ने खर्च यसपटक हामीले पार्टीका नेता तथा कार्यकर्ताबाट उठाउने निर्णय गरेका छौ,” उहाँले भन्नुभयो, “सङ्गठित सदस्यबाट न्यूनतम १०० रुपैयाँ र स्वैच्छिक १०० भन्दा बढी जति पनि दिन पाउने गरी सङ्गठित सदस्यबाट पैसा उठाउँछौ ।” एमालेका करिब सात लाख ३० हजार पार्टीका सङ्गठित सदस्य रहेको बताइएको छ । पार्टी मातहतका सबै कमिटीलाई सर्कुलर जारी गर्दै बैंकमा पैसा जम्मा गर्न लगाइने सचिव तामाङले बताउनुभयो । एमालेको महाधिवेशन आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । पार्टीले स्वतः हुने प्रतिनिधिबाट रु तीन हजार र निर्वाचनबाट छनोट गरिने प्रतिनिधिबाट रु दुई हजारका दरले महाधिवेशन शुल्क तोकेको छ ।
यो पनि पढ्नुहोस्..राप्ती अस्पतालमा अक्सिजन अभाव नहुने
दाङ, २५ कात्तिक । तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा अब अक्सिजनको अभाव नहुने भएको छ । सो अस्पतालमा अक्सिजन प्लान्ट र रिफिलिङ कक्ष सञ्चालनमा आएपछि अक्सिजन अभाव नहुने भएको हो । प्लान्ट सञ्चालनमा आएसँगै अक्सिजन उत्पादन सुरु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा विनोद सिंहले जानकारी दिनुभयो । रु एक करोड ५० लाखको लागतमा प्लान्ट निर्माण गरिएको हो । हाल दैनिक ७५ सिलिण्डर अक्सिजन उत्पादन हुँदै आएको छ । उत्पादन सुरु भएपछि तत्कालका लागि आवश्यकपर्ने अक्सिजन प्रार्याप्त भएको अस्पतालले जनाएको छ ।
अस्पतालको रु तीन लाख आर्थिक व्ययभार कम भएको अस्पताल प्रशासनले जनाएको छ । यसअघि अस्पतालमा दैनिक आवश्यकपर्ने करिब १० अक्सिजन सिलिण्डर बाहिरबाट खरिद गरेर काम चलाउनुपर्ने बाध्यता थियो । अक्सिजन उत्पादन र रिफिलिङ गर्न सकिने भएपछि अब कोभिड–१९ महामारीको समयमा पनि बिरामीको सहजै उपचार गर्नसकिने अस्पतालले जनाएको छ । गत जेठ ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालसहित नेपालका १२ अस्पतालका लागि रु १६ करोड ८० लाख बजेट छुट्याउने निर्णय गरेको थियो । अक्सिज अभावले कोरोना सङ्क्रमितको ज्यान जान थालेपछि प्लान्टको व्यवस्था गरिएको हो ।
अस्पतालकै परिसरमा दैनिक ६ हजार लिटर अक्सिजन उत्पादन गर्नसक्ने क्षमताको अर्को प्लान्ट निर्माण सुरु भएको छ । क्यानडा सरकारको सहयोग र नेपाल रेडक्रस दाङको समन्वयमा प्लान्ट निर्माण थालिएको हो । प्रादेशिक अस्पतालमा एक महिनादेखि कोरोनाका बिरामीलाई लक्षित गरी कोभिड वार्डसमेत सञ्चालनमा ल्याएको छ । बालबालिकाका लागि ३० अति सघन कक्ष, अन्य उमेर समूहका लागि ३० सघन उपचार कक्ष र १० एचडियु कक्षसमेत निर्माण गरिसकेको अस्पतालका व्यवस्थापक द्रोर्ण वलीले जानकारी दिनुभयो ।


