संवैधानिक व्यवस्थाअनुसार नागरिकता नपाउँदा समस्या

–पूर्णप्रसाद मिश्र,काठमाडौँ, २९ कात्तिक । संविधानअनुसार नागरिकता पाउनयोग्य नागरिकका लागि समयमै कानूनको तर्जुमा नहुँदा नागरिकताविहीनका परिवारमा पनि समस्या बढ्न थालेको छ ।धनुषा जिल्लास्थित गणेशमान सारनाथ नगरपालिका–३का इन्द्रजित साफी संविधान बनेको एक वर्षमै बनाइसक्नुपर्ने कानून छ वर्षसम्म पनि नबनाइदिँदा आफूजस्ता थुप्रै नागरिकताविहीन बन्नुपरेको बताउनुहुन्छ । महिला, कानून र विकास मञ्चले आज जुम प्रविधिबाट नागरिकता समस्याका विषयमा सञ्चारकर्मीसँग आयोजित छलफल कार्यक्रममा उहाँले अब आन्दोलनमा उत्रनुको विकल्प नभएको गुनासो गर्नुहुन्छ । पी,डित साफीले यस मञ्चले कुरा उठाए पनि उपलब्धि हुन नसकेकाले नागरिकताविहीन राजधानीमा जम्मा भएर विरोध कार्यक्रम आयोजना गर्नुपर्ने बाध्यता आएको बताउनुहुन्छ । नागरिकता नभएकाले इञ्जिनियर पढेर पनि काम पाउन नसकेको उहाँजस्ता अन्य युवाको पनि गुनासो छ । नागरिकता नभएकाले नेपालमा उच्च शिक्षा अध्ययन गर्न नपाई भारतमा पढ्न जाँदा दुईपटक समातिएर थुनिएको र कलेजको प्रमाण पत्र देखाए पछि मत्र छुटेको पीडा साफीसँग छ ।

साफीका चार भाइले १२ कक्षासम्मको अध्ययन गरेका छन् । बहिनीले स्नातक अध्ययन गर्दैछिन् तर नागरिकता नभएकैले कसैले पनि सामान्य रोजगारीसमेत पाउन सकेका छैनन् । नागरिकता नपाएकैले बेरोजगारीका कारण परिवारका सबै सदस्य मानसिक तनावमा रहेको साफीको भनाइ छ । उहाँले नागरिकताका लागि सर्वोच्च अदालतमा मुद्दा दायर गरेको दुई वर्ष भयो, पेशीमा मात्र राखेर सुनुवाई नहुँदा परिवार समस्यामा परेको छ । बैंक खाता, व्यवसाय दर्तालगायत कामका लागि पनि नागरिकता चाहिन्छ । नवलपरासी जिल्लाको सुस्ता गाउँपालिकाका कासिम अन्सारीको समस्या पनि उस्तै छ । नागरिकता नभएकैले पढ्न र काम पाउनसमेत नसकेको दुःखेसो उहाँ पोख्नुहुन्छ । उक्त गाउँपालिकामा नागरिकता नभएका धेरै रहेको उहाँ सुनाउनुहुन्छ । विराटनगर महानगरपालिकाका अजय पोद्दारको नागरिकता बनिसकेको थियो । नागरिकता दिनुअघि कर्मचारीले रु १० हजार मागे । आफ्नो देशको नागरिकता लिन किन पैसा तिर्ने ? भन्ने प्रश्न कर्मचारीसँग गरेकै कारण कागज मिलेन भन्दै उहाँलाई नागरिकता दिन झुलाइएको रहेछ ।

नागरिकता नभएकैले आफूले पाएको कामबाट हट्नु परेको पीडा पोद्दार सुनाउनुहुन्छ । नवलपरासीको कावासोती निवासी परिचय खुलाउन नचाहने एक महिलालाई वडा कार्यालयले नागरिकता चाहिने भए विवाह गर भनी सुझाइयोे । अहिले नै विवाह गर्न नचाहने उहाँ नागरिकता पाउनकै लागि विवाह गर भन्ने स्थानीय सरकारका प्रतिनिधिप्रति अहिले पनि आक्रोश पोख्नुहुन्छ । मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठ संविधानअनुसार नागरिक भएकालाई पनि कानूनले रोकेकाले समस्या बढ्दै गएको बताउनुहुन्छ । संविधानको भावनानुसारको कानून पारित गरेर समस्या समाधान गर्न राज्य व्यवस्था तथा सुशासन समितिलाई पटकपटक आग्रह गरिएको पनि उहाँ जानकारी गराउनुहुन्छ ।

विसं २०६८ को जनगणना र गृह मन्त्रालयले वार्षिकरुपमा वितरण गर्ने गरेको नागरिकतको प्रतिलिपिको तुलनात्मक रुपमा अध्ययन गर्दा वार्षिक साढे दुई लाखले नागरिकता नपाउने गरेको तथ्याङ्क निस्कने गरेको अधिवक्तासमेत रहनुभएका निर्देशक श्रेष्ठ बताउनुहुन्छ । मन्त्रालयले तीन लाख ७० हजार जनालाई वार्षिकरुपमा नागरिकता बाँड्ने गरेको छ । प्रत्येक वर्ष १६ वर्ष उमेर पुग्ने साढे छ लाख जनसङ्ख्या देखिन्छ तर संसद्को असफलताले नागरिकताको कानून पारित हुन नसकेको उहाँको भनाइ छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।