प्रदेश १ मा आज ५३ जनामा कोरोना संक्रमण पुष्टि
विराटनगर, ३० कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमण भएको छ । ३९९ जनाको पीसीआर परीक्षण गर्दा ५० र १०० जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २४, मोरङमा १६, सुनसरीमा ६, पाँचथरमा २, उदयपुर र इलाममा १–१ जनामा संक्रमण देखिएको हो ।
झापाको मेचीनगरमा ७, विर्तामोडमा ४, कनकाई, भद्रपुर र कमल गाउँपालिकामा २–२, गौरीगञ्ज, दमक, बुद्धशान्ति, गौरादह, अर्जुनधारा, शिवसताक्षी र झापा गाउँपालिकामा १–१, मोरङको विराटनगरमा १०, रतुवामाई, पथरीशनिश्चरे, केराबारी, सुनबर्षी, जहदा र रंगेलीमा १–१, सुनसरीको इटहरीमा ४, दुहवी र धरानमा १–१, पाँचथरको कुम्मायक र फालेलुङमा १–१, उदयपुरमा १ र इलामको सुर्योदयमा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज २५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ११ महिला र १४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेशसभा बैठक स्थगित, मुख्यमन्त्रीले विश्वासको मत लिन पाएनन्
विराटनगर, ३० कात्तिक (रासस) : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सदस्य नआएपछि प्रदेश नं १ को प्रदेशसभा बैठक स्थगित भएको छ ।
मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक भोलि बिहान साढे ११ बजेसम्मका लागि स्थगित भएको हो ।
प्रदेशसभाको बैठक सुरू हुनासाथ सभामुख प्रदीपकुमार भण्डारीले कार्यसूचीमा प्रवेशै नगरी प्रमुख प्रतिपक्षी दल अनुपस्थित भएको भन्दै भोलि बुधबार बिहान ११ः३० बजेसम्मका लागि स्थगित भएको घोषणा गर्नुभएको थियो ।
नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १२८ को उपनियम (४) बमोजित प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सभामा विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने कार्यसूची रहेको थियो ।


