प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पाए विश्वासको मत
विराटनगर, १ मंसिर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन् । प्रदेशसभाको बुधबार बसेको बैठकमा मुख्यमन्त्री राईले प्रस्तुत गरेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित गरेको हो । उक्त प्रस्तावमाथि मतदान भएको थियो । सभामुख प्रदीपकुमार भण्डारीले मुख्यमन्त्री राईले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ५० मत परेको र सो मत बहुमत रहेकाले मुख्यमन्त्री राईले प्रदेशसभाबाट विश्वासको मत पाएको घोषणा गरे ।
उनका अनुसार बैठकमा उपस्थित सांसद संख्या तथा मत विभाजनमा सहभागी ७९ जना रहेका र प्रस्तावको पक्षमा ५० मत परेको र विपक्षमा २९ मत र तटस्थ शून्य मत परेको छ । ९२ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रदेशसभामा एमालेमा ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा (एकीकृत समाजवादी) १०, जसपाका तीन र संघीय लोकतान्त्रिक मञ्च एक र राप्रपा एक सदस्यीय छ ।
५० सदस्यीय विपक्षी गठबन्धनमा आवद्ध कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र संघीय लोकतान्त्रिक मञ्चको समर्थनमा राई मुख्यमन्त्री बनेका हुन् । गत १५ कात्तिकमा भीम आचार्यले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि १६ कात्तिक राईले मुख्यमन्त्रीमा नियुक्त भएर पद तथा गोपनीयताको शपथसहित पदभार ग्रहण गरेका थिए ।
एकादशी मेलाका अवसरमा ३५ हजारले गरे विशङ्खुनारायणको दर्शन
–सुभानु आचार्य/ललितपुर, १ मङ्सिर (रासस) ः गत सोमबार हरिबोधनी एकादशीका दिन माइला नारायणका रुपमा पुजिने गरिएका विशङ्खुनारायणको करिब ३५ हजार भक्तजनले दर्शन गरेका छन् । ठूलो एकादशीका दिन करिब ३५ हजार भक्तजन मेला भर्न नारायणथान आएका विशङ्खुनारायण सेवा सुधार समितिका अध्यक्ष राजेन्द्र विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “यस मन्दिरमा आज बिहान पनि दर्जनौं दर्शनार्थी भक्तपुरबाट नारायणको आराधना गर्न यहाँ आउनुभएको थियो । आउँदो शुक्रबार पूर्णिमाका दिनसम्म पनि मन्दिरमा भक्तजन आउनेजाने क्रम जारी रहनेछ ।”
मुलुुकमा कोरोना भाइरस सङ्क्रमण जोखिम न्यूनीकरण हुँदै गएकाले एकादशीका दिन लगभग एक सय महिलाले मन्दिरमा जाग्राम बसी नारायणको नाममा बत्तीसमेत बालेका अध्यक्ष विष्टले जानकारी दिनुभयो । मन्दिर आसपास क्षेत्रका सडकको खाल्डाखुल्डी मर्मत तथा सुधार गरेकाले बजारबाटसमेत बाजा बजाएर भक्तजन नारायणको दर्शन गर्न आएका विशङ्खुनारायण परम्परागत पूजा व्यवस्थापन तथा संरक्षण समितिका सचिव दिवाकर सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, “यस दिन विभिन्न क्षेत्रबाट आउने भक्तजनका कारण नारायणथानको महिमा झनै दर्शिएको थियो ।”
गोदावरी नगरपालिका–२ मा पर्ने चार नारायणमध्येका एक विशङ्खुनारायण मन्दिर ललितपुरको एक प्रसिद्ध तीर्थस्थल हो । सो मन्दिर जमिन सतहबाट एक हजार ५०० मिटर उचाइमा रहनाका साथै लगनखेलबाट १० किलोमिटर टाढा पर्छ । विशङ्खु नारायणथानमा नारायणको प्राकृतिक शिलाको मूर्ति रहेकाले अन्य दिन पनि दर्शनार्थी अवलोकन र भ्रमण गर्न आउने गरेका सचिव सुवेदीको भनाइ छ ।
स्थानीयवासी सुवेदी परिवारले विशङ्खुनारायणलाई इष्टदेवताको रुपमा पुज्ने गर्छन् । विशङ्खुनारायणको नित्य पूजा हालसम्म कहिले पनि नरोकिएको र त्यहाँका पूजारी परिवारलाई जुठो र सुत्केरी पर्दा अन्य थरका ब्राह्मण बोलाएर गरिने चलन रहेको स्थानीयवासीको धारणा छ । नेपालका चार नारायणमध्ये विशङ्खुनारायणलाई माइला नारायणका रुपमा पुजिने गरिएको स्थानीयवासी पुरुषोतम विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “हिन्दू धर्मावलम्बीले भक्तपुरको चाँगुनारायणलाई जेठो नारायण, काठमाडौं दक्षिणकालीमा रहेका शेषनारायणलाई साइला नारायण र इचङगुनारायणलाई कान्छो नारायणका रुपमा पुज्ने गरेका छन् ।” हरेक वर्ष पुस १ गते विशङ्खुनारायण भगवानको महास्नान हुने गर्छ । महास्नानको दिन वर्षमा एक पटक मात्र भगवानको मूर्तिलाई बाहिर निकालिने चलन रहेको विष्टले जानकारी गराउनुभयो ।
हरिबोधनी अर्थात ठूलो एकादशीको दिनदेखि भगवान नारायण जलबाट उठ्ने हुँदा कात्तिक महिनाभर हिन्दू धर्मावलम्बीले चार नारायणको दर्शन गर्ने परम्परा नेपालमा रहिआएको छ । प्रत्येक ठूलो एकादशीको दिन तुलसीसँग भगवान विष्णुको विवाह हुने भएकाले धुनवेशी, बनेपा, धुलिखेल, मकवानपुर, हेटाँैडा, धादिङ, नुवाकोट, काभ्रेलगायतका स्थानबाट भाडामा सवारीसाधन लिएर दर्शन गर्न भक्तजन विशङ्खु आउने गरेको कार्यसमिति सदस्य बेबीराज भण्डारीले बताउनुभयो । सदियाँैदेखि नारायणको मन्दिरमा बिहान पूजासँगै साँझ आरती गर्दा प्रिय बाजा नगरा बजाउने चलन रहिआएको छ । विशङ्खुनारायण मेलामा मुलुकका ७७ जिल्लाका मानिस भ्रमण गर्न आउने भएकाले विशेष गरी उखु, खुवा, पिँडालु, बदाम, वन तरुल, सखरखण्डलगायत स्थानीय बारीमा उत्पादन भएका तरकारी तथा अन्य फलफूल खुबै बिक्री वितरण गरिने तयारी भइरहेको प्रमिला विष्टले बताउनुभयो ।
विशङ्खुनारशायण थानको ककारोभित्र शालिकरामसमेत राखेर पूजाआजा गर्ने गरिन्छ । सो क्षेत्रमा भगवान नारायणसँगै लक्ष्मीनारायणको पाइला, हनुमान, गणेश रहनुका साथै पाप र धर्मद्वारको नामले परिचित एक गुफा समेत रहेको छ । सिलवाल र विष्टको बाहुल्यता रहेको विशङ्खुनारायण थानमा लगभग छ हजार ८०० जनसङ्ख्या रहनाका साथै झण्डै एक हजार २०० घरधुरी रहेका छन् ।
भौगोलिक बनावट शङ्खको आकारमा रहेकाले विशङ्खु भनी नामाकरण भएको स्थानीय ८६ वर्षीय गोविन्द विष्टले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “यो मन्दिर बह्मा, विष्णु र महेश्वरको पालादेखि सुष्टि भएको हो ।” सो नारायणको दर्शन गर्न मन्दिरको ९३ सिँढी चढेर माथि चढ्नुपर्ने हुन्छ । कात्तिक महिनामा दान, पुन्य गरी जाग्राम बसेर बत्ती बाल्दा श्रीवृद्धि हुने विश्वास हिन्दू धर्मावलम्बीमा रहेको छ ।
प्रत्येक ठूलो एकादशीको दिन तुलसीसँग भगवान विष्णुको विवाह हुने गर्छ । हरिशयनी एकादशीको दिनमा रोपिएको तुलसीलाई हरिबोधनी एकादशीको दिन व्रत बसेर राधाकृष्णको नाममा विभिन्न पकवान बनाएर, फूलमाला, फलफूल बस्त्र र रङ लगाइदिएर पूजाआरधना गर्ने चलन नेपाली समाजमा आज पनि उत्तिकै व्यापक रहेको छ ।
मुलुकमा कोरोना कहर भित्रिनु अघि हरेक शनिबार वा सार्वजनिक बिदाका दिन विशङ्खु घुम्ने अनि दर्शन गर्ने र वनभोज खाने मानिसको निकै चहलपहल हुने गरेको समितिले जनाएको छ ।


