सुर्खेत विमानस्थल २५ दिन बन्द हुने

सुर्खेत, ५ मंसिर/सुर्खेत विमानस्थल २५ दिन बन्द हुने भएको छ । धावनमार्ग मर्मतसम्भार गर्नका लागि विमानस्थल २५ दिनका लागि बन्द हुन लागेको हो ।

धावनमार्ग मर्मतसम्भार गर्नु पर्ने भएकाले १० मंसिरदेखि ५ पुससम्म विमानस्थल बन्द हुने नागरिक उड्डयन कार्यालय सुर्खेतले जनाएको छ । विमानस्थलको धावनमार्गमा ओभर-ले गर्नुपर्ने भएका कारणले नियमित उडान बन्द हुने प्राधिकरणका इन्जिनियर मुरारी भण्डारीले बताए । ‘विमानस्थल मर्मतसम्भार २५ दिनमा सक्ने योजना बनाएका छौं ।’ उनले भने,‘त्यो अवधिमा नियमित उडान बन्द हुन्छन् ।’

विमानस्थल मर्मतसम्भारका लागि बन्द हुने भएपछि बुद्ध एयरले नेपालगञ्जमा थप उडान गर्ने जनाएको छ । सुर्खेत विमानस्थल धावनमार्ग मर्मतसम्भार कार्य अवधिभर सुर्खेतका सम्पूर्ण उडान बन्द रहने र हवाइ यात्रा थप सहजताका लागि नेपालगञ्जको लागि थप एक उडानसहित दैनिक ६ उडान गर्ने बुद्ध एयरले जानकारी दिएको छ ।

मुस्ताङमा स्याउ उत्पादन बढ्यो
म्याग्दी, ५ मङसिर (रासस) :मुस्ताङमा यस वर्ष स्याउ उत्पादन बढेको छ । मुस्ताङमा गत वर्षको तुलनामा नौ प्रतिशतले स्याउ उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । कार्यालयका प्रमुख प्रकाश बस्ताकोटीले गत वर्ष पाँच हजार १०० मेट्रिकटन स्याउ उत्पादन भएको मुस्ताङमा यस वर्ष पाँच हजार ५६४ मेट्रिकटन स्याउ फलेको जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्षको तुलनामा नौ प्रतिशतले स्याउको उत्पादन बढेको छ ।

“क्षेत्रफल विस्तार र अनुकुल मौसमका कारण स्याउ उत्पादन बढेको हो”, उहाँले भन्नुभयो, “पाँच सय २० हेक्टर क्षेत्रफलमा लगाइएको एक लाख पचास हजार बोटले फल दिन्छन् ।” मुस्ताङमा उत्पादन भएको स्याउ बेचेर कृषकले रु ५५ करोड भित्र्याएका छन् । प्रतिकिलो रु १०० का दरले स्याउ बिक्री भएको थियो ।

मुस्ताङको एक हजार ४४० हेक्टर जमिनमा स्याउ खेती भएकामा ५२० हेक्टरका बोटले उत्पादन दिन्छन् । अघिल्लो वर्ष एक हजार ४०० हेक्टरमा स्याउ खेती भएकामा ५०० हेक्टरका बोटले फल दिएको थियो । घरपझोङमा ५७२, बारागुङ मुक्तिक्षेत्रमा ५९४, थासाङमा १६२, लोघेकर दामोदरकुण्डमा ८६ र लोमान्थाङ गाउँपालिकामा २९ हेक्टर जमिनमा स्याउ खेती भएको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ ।

केन्द्रका अनुसार थासाङ गाउँपालिकामा ८९८, घरपझोङ गाउपालिकामा दुई हजार ५६८, बारागुङ मुक्तिक्षेत्रमा एक हजार ९३६, लोघेकर दामोदरकुण्डमा १२० र लोमान्थाङमा ३२ मेट्रिकटन स्याउ उत्पादन भएको हो । वारागुङ मुक्तिक्षेत्रमा नयाँ स्याउका बिरुवा विस्तार गरिएकाले केही कम उत्पादन भएको हो । घरपझोङको मार्फामा स्याउ बोटमा सान जोस स्केलको प्रकोप र स्क्याप रोगको प्रकोपले उत्पादन प्रभावित बनाएको छ ।

यस वर्ष मुस्ताङको मार्फाबाहेक अन्य स्थानका स्याउ किसानले उचित बगैचा व्यवस्थापन र रोग नियन्त्रण गर्न सकेकाले उत्पादन वृद्धि भएको हो । अस्सी प्रतिशत स्याउ दसैं–तिहारमा जिल्ला बाहिरिएको थियो । बिक्री भइनसकेको बाँकी २० प्रतिशत स्याउमध्ये केही चिस्यान गृहमा राखिएको छ । केही स्याउको खुद्रा बिक्री र स्याउको विभिन्न परिकारका लागि प्रशोधनमा उपयोग हुने गर्छ ।

मुस्ताङमा रैथाने रेड डेलिसियस, रोयल डेलिसियस, रिचारेड डेलिसियस र सेतो गोल्डेन डेलिसियस जातको स्याउ खेती गरिएको छ । पछिल्लो समय किसानले छिटो र धेरै उत्पादन दिने उच्च घनत्वको स्याउका बिरुवा लगाउन थालेका छन् । गत वर्ष उच्च घनत्वका ५० हजार स्याउका बिरुवा वितरण गरिएको थियो ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।