नेपाल–कोरियामैत्री अस्पतालमा निःशुल्क मुटु रोगको सेवा

भक्तपुर, ७ मङ्सिर ।मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालले निःशुल्क मुटुरोग परीक्षण तथा निःशुल्क ईको (मुटुको भिडियो एक्सरे) सेवा सञ्चालन गरेको छ । शिविरमा अन्य सेवामा समेत २० प्रतिशत छुटको व्यवस्था गरेको छ ।अस्पतालले आगामी ९ गतेसम्म निःशुल्क सञ्चालन हुने मुटुको निःशुल्क सेवामा दैनिक ८० भन्दा बढी बिरामी आएको मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । मुटुका बिरामीका लागि साताव्यापी निःशुल्क मुटु शिविरलाई स्थानीयवासीले अवसरका रूपमा लिएको उहाँले बताउनुभयो ।

अस्पतालमा मुटुरोग परीक्षणका लागि अमेरिकाबाट समेत मुटुरोग विशेषज्ञ आउनुभएको छ । सोही अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञ डा सम्पूर्णमान तुलाधर र डा सञ्जय श्रेष्ठले पनि सेवा दिइरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका नगरप्रमुख श्रेष्ठले बताउनुभयो । मध्यपुरथिमिका बासिन्दालाई मात्रै नभई देशभरका बिरामीका लागि सुलभ र सहज उपचार सेवा दिन थालिएको छ । टेकु अस्पतालपछि पिसीआर परीक्षण गर्ने देशकै दोस्रो अस्पताल बनाउन सफल भएको उहाँले बताउनुभयो । अस्पतालले मिर्गौलाका बिरामीका लागि डायलायसिस मेसिनसमेत सञ्चालनमा ल्याएको छ । अस्पतालमा रोटरी क्लबको सहयोगमा केही दिनपछि थप चार डायलायसिस मेसिनबाट सेवा दिने तयारी छ ।

चौदण्डीगढीमा पर्यटकको आगमन बढ्दै
हरिकुमार राई,उदयपुर, ७ मङ्सिर । चौदण्डीगढी नगरपालिकाको पहाडी क्षेत्रमा रहेको ऐतिहासिक चौदण्डीगढी क्षेत्रमा पर्यटकको आगमन बढ्दै गएको छ । मङ्सिर लागेपछि घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ ।गत वर्ष चैतदेखि यस वर्ष कात्तिकसम्म कोभिड–१९ सङ्क्रमण महामारी र लकडाउनका कारण पर्यटन आगमन ठप्प भएको सो क्षेत्रमा विस्तारै आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका चौदण्डी पर्यटन विकास व्यवस्थापन समितिका संयोजक रोहित तामाङले बताउनुभयो । कोभिड–१९ का कारण लामो समयदेखि उक्त क्षेत्रमा पर्यटक आगमन ठप्प थियो । छिमेकी भारतबाट समेत पर्यटक चौदण्डीको भ्रमणमा आउन थालेको संयोजक तामाङले बताउनुभयो ।चौदण्डीगढी नपाका प्रमुख खगेन्द्र राईका अनुसार चौदण्डीगढीको पर्यटन विकासको पूर्वाधारका सम्पूर्ण काम निर्माण तथा व्यवस्थापन भइसकेका कारण पर्यटकलाई आवतजावत गर्न सहज भएको हो । “अब पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ”, उहाँले भन्नुभयो । चौदण्डीमा भ्यूटावर, खानेपानीसहित सडक व्यवस्थापन कार्य सम्पन्न भइसकेको छ । त्यसैले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको हो ।

नगरपालिकाले प्रदेश सरकार र सङ्घीय सरकारसँग सहकार्य गर्दै चौदण्डीको पर्यटन विकासमा नयाँ योजना सञ्चालन गरेको नगरप्रमुख राईले बताउनुभयो । समुद्री सतहबाट एक हजार ८०० मिटर उचाइमा अवस्थित चौदण्डीगढीबाट उत्तरी क्षेत्रको महत्वपूर्ण आठ हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । यहाँबाट प्रदेश नं १ को धनकुटा, भोजपुर, खोटाङ र सङ्खुवासभाको अवलोकन गर्न सकिन्छ । यस्तै तराईका सुनसरी, झापा, मोरङ, सप्तरी र सिरहाका साथै सप्तकोशी नदीको सुन्दर दृश्य र दक्षिण भारतको विहार क्षेत्रसहित वीरपुर, सुपौलाको अवलोकन गर्न सकिने संयोजक तामाङ बताउनुहुन्छ । सन् १७७३ सम्म ऐतिहासिकरूपमा पूर्वकै सेनवंशको राजधानी र राज्य रहेको उदयपुरको पूर्वी पहाडी क्षेत्र चौदण्डीगढीमा केही वर्षयतादेखि पर्यटन विकासको पूर्वाधार तीव्ररूपमा तयार हुँदै गएको छ।

विगतमा चौदण्डीगढीमा रहेका सेनराजाका दरबारको पर्खाल तथा महत्वपूर्ण वस्तुका भग्नावशेषको संरक्षण र दरबार क्षेत्र वरपर घेराबेरा गरेर यसलाई अझ व्यवस्थित बनाउने तथा दरबार परिसरको संरक्षणसमेत भइरहेको छ । सन् १७७१ सम्म पूर्वका चौदण्डी, विजयपुर र कमला क्षेत्रसम्म एउटै चौदण्डी सेनराज्य रहेको पूर्वप्रध्यापक डा अपार लम्साल बताउनुहुन्छ । सन् १६७१ मा पूर्वको सेनराज्य विभाजनपछि विजयपुर र चौदण्डीगढीमा विभाजित भई चौदण्डीगढी राज्य रहन गएको इतिहासविद् बताउँछन् ।

चौदण्डीका पहिला राजा जगत सेन थिए भने त्यसपछि विक्रम सेन, मुकुन्दसेन तृतीय र चौथौ अन्तिम राजा बुद्धिकर्ण सेन रहेको इतिहास छ । सन् १६ जुलाई १७७३ मा गोर्खाका राजा पृथ्वीनारायण शाहको फौजका अभिमानसिंह बस्नेत, स्वरुपसिंह कार्कीलगायतको नेतृत्वमा चौदण्डीगढीमा आक्रमण गरी नेपालमा गाभिएको इतिहास छ । कोभिड सङ्क्रमणका कारण पर्यटन विकासका केही अधुरा काम बाँकी रहेको र पर्यटक आगमन बन्द हुन पुगे पनि मङ्सिर लागेसँगै पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको चौदण्डी नगरपालिकाका उपप्रमुख राजकुमारी चौधरीले बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।