दश स्वास्थ्यचौकीलाई अक्सिजन कन्सन्ट्रेसन उपकरण
भक्तपुर, ७ मङ्सिर । स्वास्थ्य परीक्षणका लागि आएका बिरामीलाई आपतकालीन अवस्थामा अक्सिजन दिनुपरेमा अब सहज हुने भएको छ । यसअघि अक्सिजनको व्यवस्था नभएको सूर्यविनायक नगरपालिकाभित्रका १० वटा स्वास्थ्यचौकीमा अक्सिजन कन्सन्ट्रेसन उपकरण प्रदान गरिएसँगै अब अक्सिजन आवश्यक पर्ने बिरामीलाई सेवा दिन सहज हुने भएको हो ।
यस नपाका १० वटै वडाका स्वास्थ्यचौकीलाई अमेरिकन संस्था गर्डेन अफ द एन्जल्सले करिब रु १२ लाख मूल्य बराबरको उक्त उपकरण भोलेन्टियरर्स नेपाल नेशनल ग्रुपको सहयोगमा प्रदान गरिएको नगरपालिकाका सामाजिक विकास समितिकासंयोजक एवं वडा नं ८ का वडाध्यक्ष किरण थापाले जानकारी दिनुभयो । कोरोना भाइरसको महामारीले एउटा ठूलो पाठ सिकाएको स्मरण गर्दै वडाध्यक्ष थापाले यस्ता उपकरणले विशेष परिस्थितिमा स्वास्थ्यचौकीसम्म आएका बिरामीलाई राहत मिल्ने बताउनुभयो । नगरपालिकाको जनस्वास्थ्य शाखा प्रमुख वसन्त चापागार्इंले प्रत्येक वडाका स्वास्थ्यचौकीमा पुगेका ती उपकरणका सही उपयोग गराउने बताउनुभयो ।
नमूना ग्रीन हाउस निर्माण गरिने
गोरखा, ७ मङसिर । कृषि ज्ञानकेन्द्र गोरखा कार्यालयको नाममा गोरखा नगरपालिका–७ मान्द्रे ढुङगामा रहेको करिब २२ रोपनी जमिनमा नमूना ग्रीन हाउस निर्माण गरिने भएको छ । कार्यालयले केन्द्रको नाममा रहेको सम्पत्तिको खोजी गर्दै जाँदा लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेको जग्गा फेला परेपछि त्यसको संरक्षण र उपयोगका लागि नमूना ग्रिन हाउस, माछा पोखरी, च्याउ घर निर्माण गर्न लागेको कार्यालयका प्रमुख परशुराम अधिकारीले जानकारी दिनुभयो । कार्यालयको नाममा भएको उक्त जग्गामा दुई भवन रहेको भए पनि गएको करिब ३५ वर्षदेखि उक्त जमिन र घर उपयोगविहीन हुँदै आएको कार्यालयका प्रमुख अधिकारीले जानकारी दिनुभयो । “टिनको छाना भएका तीन÷तीन कोठे दुई भवन रहेछ, दुवै भवन जीर्ण अवस्थामा रहेको पाइयो,भवनको मर्मत सम्हार गर्ने र कार्यालयको नाममा रहेको जमिनलाई तारजाली गरी संरक्षण गर्न बजेट समेत प्राप्त भएको छ”, उहाँले भन्नुभयो ।
गण्डकी प्रदेश सरकारबाट भवन संरक्षणलगायतका कामका लागि चालू आर्थिक वर्षमा रु ५० लाख रकम प्राप्त भएको छ । प्रदेश सरकारले कृषिज्ञान केन्द्रको स्रोत केन्द्र संरचनात्मक सुधार कार्यका लागि रु १० लाख विनियोजन गरेको छ भने उक्त नमूना ग्रीन हाउस निर्माणका लागि चालू आर्थिक वर्षमा रु पाँच लाख विनियोजन गरेको प्रमुख अधिकारीले जानकारी दिनुभयो ।विनियोजित कार्यक्रमबाट उक्त जमिनमा तारजाली लगाउने, जीर्ण भवन मर्मत गर्ने, पानी पोखरी निर्माण गर्ने नमूना ग्रिन हाउस निर्माण गर्नेलगायतको योजना रहेको छ ।
त्यस्तै प्लाष्टिकको घर निर्माण गरी तरकारीखेती, नर्सरी निर्माण गरी बेर्ना उत्पादन गर्नेलगायतका योजनासमेत कार्यालयको रहेको कार्यालयले जनाएको छ । पानी पोखरी निर्माण गरी लिफ्टिङ गरी पोखरीको पानीको व्यवस्था गरिनेछ । उहाँले भन्नुभयो, “३०÷४० गोलासहितको घार राखेर मौरीपालन गर्ने योजना छ।” पहाडी खाद्यान्न आयोजनाले करिब २०४३ सालतिर कार्यालयको उक्त जमिनमा भवन निर्माण गरे पनि भवन प्रयोगमा नआउदा जीर्ण अवस्थामा पुगेको छ ।


