बेलायतमा कोरोना सङ्क्रमण झन् बढ्यो, एकैदिन करिब ४५..
लन्डन,७ मङ्सिर। बेलायतमा सोमबार कोरोना भाइरसको सङ्क्रमण झन् बढेको देखिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएअनुसार यहाँ एकै दिन करिब ४५ हजार जना सङ्क्रमित भएका छन् । यहाँको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट यहाँका ४४ हजार ९१७ जना सङ्क्रमित भएका छन् । उनीहरुक अनुसार यहाँ अहिले पनि दैनिक कम्तीमा पनि ४० हजार जनामा यो भाइरसको संक्रमण भेटिने गरेकोे छ । अघिल्ला दिनहरुमा ४० हजारको हाराहारीमा यी सङ्क्रमित भेटिएको थियो । तर सोमबार भने यसमा बृद्धि भएको हो । यो समेत गरी बेलायतमा अहिलेसम्म सङ्क्रमित हुनेको संख्या करिब ९९ लाख पुगेको छ ।
बेलायतमा सोमबार मात्र ४५ जना यो सङ्क्रमणबाट मृ,त्यु भएको छ । योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण करिब एक लाख ४४ हजार जनाको मृ,त्यु भएको छ । बेलायतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये आठ हजार जनाभन्दा बढी अझै पनि अस्पतालमै उपचाररत रहेका छन् ।यहाँका १६ वर्षमाथिका झन्डै ९३ प्रतिशत मानिसले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । त्यसैगरी करिब ८७ प्रतिशतले दुवै मात्रा खोप लगाएका पनि स्वास्थ्य मन्त्रालयलको तथ्यांकमा उल्लेख छ । तर पनि पछिल्ला केही दिनमा यहाँ संक्रमण झन् बढेको पाइएको सरकारी अधिकारीहरूले बताएका छन् । सरकारी प्रयासका बाबजुत यहाँ संक्रमित हुनेको दरमा कमी नआएको स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकाद्वारा बढ्दो कोभिड-१९ सङ्क्रमण देखाउँदै जर्मनी, डेनमार्कको यात्रा नगर्न सल्लाह
वासिङ्टन, मङ्सिर ७ । युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसि) ले सोमबार जर्मनी र डेनमार्कको यात्रा नगर्न सल्लाह दिएको छ । यी दुवै देशमा कोभिड-१९ को सङ्क्रमण फेरि बढ्दो क्रममा छ । सिडिसिले यी दुई युरोपेली देशहरूमा यात्रा गर्नबाट जोगिनुपर्ने जनाएको छ जसलाई “लेभल फोर” सूचनाको रूपमा जारी गरिएको छ । यात्रा नै गर्नु पर्ने भए जो कोहीले पहिले पूर्ण रूपमा खोप लगाउनुपर्ने जनाइएको छ । सिडिसिले हाल विश्वभरका ७५ गन्तव्यहरू स्तर चारमा सूचीबद्ध गरेको छ जसमा विगत २८ दिनमा प्रति १०००,००० बासिन्दामा ५०० भन्दा बढी सङ्क्रमण देखिएका छन् ।


