देशमा स्रोत र साधन पर्याप्त भए पनि परिचालन गर्ने कला भएन : अर्थमन्त्री शर्मा

काठमाडौं, ८ मंसिर/अर्थमन्त्री जनार्दन शर्माले नेपालमा स्रोत र साधनको समस्या नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बुधबार आयोजना गरेको ‘अर्थचित्र’ विमोचन तथा आर्थिक पत्रकार सम्मान कार्यक्रममा अर्थमन्त्री शर्माले नेपालमा स्रोत र साधन प्रशस्त मात्रामा भए पनि त्यसलाई परिचालन गर्ने कला नभएर देशको अर्थतन्त्र कमजोर बन्दै गएको बताए ।

कार्यक्रममा उनले भने, ‘हामीसँग साधन स्रोतको समस्या होइन । हामीसँग पुँजीको पनि त्यति समस्या होइन । हामीसँग श्रमको समस्या होइन । हामीसँग व्यापारको पनि समस्या होइन । हामीसँग व्यवस्थापनको मात्र समस्या छ । व्यवस्थापन गर्ने कलामा विकास गरे अर्थतन्त्र बलियो बनाउन सकिन्छ ।’

अर्थमन्त्री शर्माले भएको साधन स्रोतको व्यवस्थापन मात्र गर्न सकियो भने नै पर्याप्त हुने धारणा राखे । उनले निजी क्षेत्र निजी स्वार्थमा आधारित नभएको बताए । ‘निजी क्षेत्र राष्ट्र निर्माण र आर्थिक विकासमा आधारित छ,’ उनले भने, ‘निजी क्षेत्रको व्यवसाय सुधारोन्मुख देखिए पनि सार्वजनिक क्षेत्र भताभुङ्ग भइरहेको हुन्छ ।’

निजी क्षेत्र र सरकारबीचको आपसी सम्बन्ध आर्थिक विकास समृद्धिका लागि अनिवार्य रहेको उनले बताए । साथै, उनले निजी क्षेत्रलाई प्रोत्साहन गर्नका लागि र लगानीलाई परिणाममुखी बनाउनका लागि सरकारको तर्फबाट विभिन्न खालका सहुलियतहरू दिनुपर्ने आवश्यकता रहेकोसमेत बताए । उनले भने, ‘निजी क्षेत्रमा केही राहतका कार्यक्रम भए पनि मागेजस्तो नभएको भन्ने धेरै गुनासो छ । यसका लागि सरकारले प्रयास गरिरहेको छ । निजी क्षेत्रको सल्लाहअनुसार नै अगाडि बढ्न सरकार प्रयत्नरत रहेको छ ।’

निजी क्षेत्रले अब पूर्वाधारको क्षेत्रमा लगानी गर्न पनि ध्यान दिनुपर्ने बताउँदै अर्थमन्त्री शर्माले भने, ‘पूर्वाधार क्षेत्रमा सरकारले मात्रै गर्नुपर्छ भन्ने छैन ।’ अब निजी क्षेत्रले पूर्वाधारका क्षेत्रमा लगानी गर्न पर्नेमा पनि उनले जोड दिए ।

निजी क्षेत्रको सहयोगले नेपालको आर्थिक विकासमा ठूलो योगदान पुगिरहेको उनको भनाइ थियो । अर्थमन्त्री शर्माले भने, ‘अघिल्ला वर्षको तुलनामा अहिलेको हाम्रो अर्थतन्त्रले चालू खर्चलाई नै धान्न गाह्रो परेको अवस्था छ । जसका कारण पुँजीगत खर्च गरेर पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा रोजगार लगायत क्षेत्रमा लगानी गर्न सरकारलाई समस्या परेको छ ।’

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले सरकारले गर्नपर्ने सहयोग गर्दै आएको दाबी गरे । उनले व्यवसायीलाई करमा छुट दिने तथा बैंक तथा वित्तीय संस्थाहरुलाई तरलता नियन्त्रण गर्न सहयोग पुर्‍याउँदै आएको उल्लेख गरे ।

उनले भने, ‘राष्ट्र बैंकले कारोना महामारीबाट समस्यामा परेका व्यवसायीलाई पनि सरकारले सहुलियत ऋण तथा व्याजदर नियन्त्रण लगायतको सुविधा दिँदै आएको छ । साथै, राष्ट्र बैंकले कर्जाको ब्याज भुक्तानीको लागि समय थप, ब्याज पुँजीकरणको सुविधा पुनकर्जा सुविधालगायतको सुविधा दिँदै आएको छ । केन्द्रीय बैंकले साना निक्षेपकर्ता एवं ऋणिले प्राप्त गर्ने सेवा सुविधामा विशेष ध्यान दिएको छ ।’ निजी पक्षलाई सँगै लिएर अघि बढ्न सकेमा अर्थतन्त्रले ठूलो फड्को मार्ने उनको भनाइ छ । उनले वैदेशिक लगानीलाई प्रवर्द्धन गरेर पनि नेपालको अर्थतन्त्र उकास्न सहयोग पुग्ने बताए ।

त्यस्तै, कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले राष्ट्र बैंकले उद्योगीलाई ठूलो योगदान पुर्‍याएको बताए । उनले नेपालमा कोरोना महामारीले पुर्‍याएको नोक्सानमा केन्द्रीय बैंकको कुशल व्यवस्थापनले ८० प्रतिशत समस्या कम हुँदै गएको बताए ।

कोरोना महामारीले देशको अर्थतन्त्रमा ठूलो नोक्सान परेको बताउँदै उनले पर्यटनमा जोड दिनुपर्ने बताए । अझै केही नीतिगत सुधार गरेर पर्यटन भित्र्याउन अझै हवाई उडानको संख्या बढाउनुपर्ने बताए । पहिलाकै स्थितिमा उडान भए पर्यटक भित्रिने छ ।

पर्यटनले ६ देखि ७ प्रतिशतसम्म अर्थतन्त्र धानेको बताउँदै उनले एमससी पास गर्न पर्नेमा पनि जोड दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।