सवारी अनुमति पत्रको प्रयोगात्मक परीक्षा अब गाईघाटमै
उदयपुर, ९ मंसिर ।गाईघाटमा पहिलो पटक सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा सुरु भएकाे छ। यातायात व्यवस्था सेवा कार्यालय गाईघाटले बुधबार पहिलो पटक सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक परीक्षा लिएको हो ।
प्रदेश १ भौतिक पुर्वाधार विकास मन्त्रालयका मन्त्री हिमाल कार्कीले बुधवार प्रयोगात्मक परीक्षास्थलकाे उद्घाटन गरेका हुन् । मन्त्री कार्कीले पहिलो प्रयोगात्मक परिक्षार्थीलाई सिठ्ठी फुकेर ट्रायल सेन्टरकाे उदघाटन गरेका थिए । उनले प्रयोगात्मक परीक्षा तथा स्थलको अनुगमन समेत गरेका छन् । साे क्रममा उनले कार्यालयबाट सेवाग्राहीलाई छिटो र सहज रुपले सेवा प्रदान गर्न निर्देशन पनि दिएका थिए । कार्यालयमा काम गर्ने कर्मचारी र श्रोतसाधनको कमी रहेको कुरालाई ध्यानमा राख्दै मन्त्री कार्कीले त्यसको तत्काल समाधान गर्ने प्रतिबद्धता जनाए ।
कांग्रेस खोटाङको सभापतिमा सर्वधन अगाडि
खोटाङ, ९ मंसिर ।नेपाली कांग्रेस खोटाङको सभापतिमा पूर्व पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री सर्वधन राईले अग्रता लिएका छन् । तीन सय मत गणना हुँदा राईले अर्का उम्मेदवार पूर्व सभापति बिष्णुकुमार राईलाई सात मतले पछि पारेका हुन् ।
सर्वधन राईले एक सय ४९ मत पाउँदा बिष्णुकुमार राईले एक सय ४२ मत पाएका छन् । दुई सय मत गन्णदा १० मतले अघि रहेका बिष्णुकुमार तीन सय मत गणना हुँदा सात मतले पछि परेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मत गणना बिहिबार बिहानदेखि सुरू गरिएको हो । यहाँ एक हजार तीन सय ३२२ मत खसेको थियो । प्रत्येक सय मत गणनापछि नतिजा सार्वजनिक गर्ने व्यवस्था मिलाइएको छ ।
जिल्ला सभापतिका लागि शेरबहादुर देउवा निकट पूर्वराज्यमन्त्री सर्रावधन राई र रामचन्द्र पौडेल निकट पूर्व सभापति बिष्णुकुमार राई आमनेसामने भएका हुन् । सर्रावधन राईको प्यानलबाट उपसभापतिमा मनोज तिम्सिना र राजन शैंजू, सचिवमा रोजन राई र राम साम्पाङ, सह–सचिवमा ध्यानबहादुर राई र राजकुमार राई चुनावी मैदानमा छन् । यस्तै, पूर्व सभापति बिष्णुकुमार राईको प्यानलबाट उपसभापतिमा इवन राई र तिर्थराज भट्टराई, सचिवमा ज्ञानेन्द्र जोशी र समिर राई, सह-सचिवमा सार्जन राई र शालिकराम बञ्जराको मनोनयन पत्र दर्ता भएको छ ।


