ओली र रावलले दर्ता गराए अध्यक्षमा उम्मेदवारी
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । चितवनमा जारी पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष ओली र रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।
अध्यक्ष मण्डलका तर्फबाट अध्यक्ष ओलीले आफूसहित १९ जना पदाधिकारीको सूची घोषणा गरेका थिए । सोही घोषणा अनुसार उनले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । सहमतिमा नेतृत्व छान्ने ओलीको प्रस्ताव अस्विकार गर्दै रावल अध्यक्षमै निर्वाचन लड्न लागेका हुन् । यससँगै अध्यक्षमा ओली र रावलबीच प्रतिष्पर्धा हुने भएको छ ।
कांग्रेस मोरङ सभापतिका उम्मेदवारले ५१ प्रतिशत पुर्याउन सकेनन्, फेरि मतदान हुने
विराटनगर, १३ मंसिर/नेपाली कांग्रेस माेरङ सभापतिका उम्मेदवारले ५१ प्रतिशत मत पुर्याउन नसकेपछि पुन: मतदान हुने भएको छ ।सभापति पदका लागि खसेकाे कुल ३ हजार ३६० मतमध्ये संस्थापन समूहका दिलीप गच्छदारले १ हजार १६६, संस्थापन इतरका डिगबहादुर लिम्बुले १ हजार ५४४ र सिटौला समूहका यदु विष्टले ५६३ मत प्राप्त पाएका थिए ।
कांग्रेसको विधानमा सभापति हुन खसेको मतको ५१ प्रतिशत मत आउनुपर्ने प्रावधान भएका कारण पहिलो चरणमा कोही पनि सभापति बन्न सकेनन् ।तीनै जनाले खसेको मतको ५० प्रतिशत कटाउन नसकेपछि दोस्रो चरणको चुनाव हुने अवस्था आएको जिल्ला निर्वाचन अधिकृत केदार कार्कीले बताए ।
‘उहाँहरू आफैँ सहमति गरेर आउनु भयो भने निर्वाचन गर्नु पर्दैन,’ उनले भने, ‘नत्र फेरि निर्वाचनको मिति तय गरेर निर्वाचन गराउँछौँ ।’


