एमाले महाधिबेशन : धनकुटाबाट तीन केन्द्रिय सदस्यमा
धनकुटा । नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत दोस्रो दिनको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले ३०१ सदस्यीय केन्द्रीय कमिटीको सूची पेस गरेका छन्। ओलीले पेस गरेको ३०१ जना केन्द्रीय कमिटी सदस्यको सूची एमाले महाधिवेशनको बन्दसत्रले अनुमोदन पनि गरिसकेको छ।
एमाले केन्द्रीय कमिटीमा विभिन्न समूहबाट प्रतिनिधित्व हुने व्यवस्था छ। खुला प्रतिस्पर्धाअन्तर्गत महिला ५३ र खुला ८४ गरी १३७ जनाको प्रतिनिधित्व हुनेछ। भौगोलिक क्षेत्रअन्तर्गत ४४ खुला २३ महिला गरी ६७ जना हुनेछन्। ७ प्रदेश ९प्रत्येक प्रदेशबाट ६ खुला र ३ महिला गरी० ६३ जना तथा उपत्यका विशेष २ जना ९१ खुला र १ महिला र सम्पर्क समन्वय ९१ खुला र १ महिलाको प्रतिनिधित्व हुनेछ।
जस अन्तर्गत धनकुटाबाट खुला तर्फ धनकुटा नगरपालिकाका उपप्रमुख सकुन्तला बस्नेत,महिला तर्फ प्रदेश सभा सदस्य विनादेवी राई र भौगोलिक क्षेत्र तर्फ प्रतिनिधि सभा सदस्य तथा नेकपा एमाले धनकुटाका अध्यक्ष राजेन्द्र राई रहेका छन् ।समावेशीतर्फत खुला ५४ र महिला २४ जना गरी ७८ जनाको प्रतिनिधित्व हुने व्यवस्था एमालेको विधानमा छ।
बौद्ध विश्वविद्यालय १७औं वर्षमा, १६ मंसिरमा राष्ट्रपति लुम्बिनी जाँदै
बुटवल, १३ मंसिर/लुम्बिनी बौद्ध विश्वविद्यालयले आज १७औं विश्वविद्यालय दिवस मनाउँदै छ । ०६१ सालमा स्थापना भएको विश्वविद्यालयले २०७० सालदेखि लुम्बिनीमा पठनपाठन सुरु गरेको थियो ।
विश्वविद्यालयले बौद्ध अध्ययन संकाय, मानविकी तथा सामाजिकशास्त्र र विकास अध्ययन तथा प्रायोगिक विज्ञान संकायअन्तर्गत विभिन्न विषय सञ्चालन गरिरहेको छ । लुम्बिनी, बुटवल र देवदहमा शैक्षिक कार्यक्रम सञ्चालनमा छन् । यो अवधिमा विश्वविद्यालयले शैक्षिक तथा प्रशासनिक भवन, केन्द्रीय कार्यालय भवन, केन्द्रीय पुस्तकालय भवन, केन्द्रीय क्याम्पस भवन, छात्रा वास (छात्रछात्रा), शिक्षक आवास गृह, पदाधिकारी आवस गृह, बुटवल सिटी कलेज निर्माण गरेको छ भने अनुसन्धान केन्द्र निर्माणाधीन अवस्थामा छ ।
विश्विद्यालय दिवसको अवसरमा आज बुटवलको नयाँगाउँस्थित सिटी कलेजमा रक्तदान कार्यक्रम गरिएको छ । मंगलबार लुम्बिनीमा मुटुरोग स्वास्थ्य शिविर आयोजना हुँदैछ । स्वास्थ्य शिविरमा मुटुरोगसहित पेट, छाती तथा हार्डजोर्नीका १५ जना चिकित्सकहरू सहभागी हुनेछन् । यसका लागि विश्वविद्यालयले गंगालाल हृदयरोग केन्द्र र हर्ट टु हर्ट नेपालसँग सहकार्य गरेको छ ।
दिवसकै अवसर पारेर गर्न लागिएको त्रियान प्रज्ञा सम्मेलनको १६ मंसिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्ने कार्यक्रम छ । विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले बौद्ध संस्कृति र समृद्धि तथा बौद्ध शिक्षा शिक्षण पद्धतिमा केन्द्रित रहेर सम्मेलन गर्न लागिएको जानकारी दिए ।
“नेपालमा बौद्ध दर्शनका तीनवटा अभ्यास भइरहेका छन्, बौद्ध संस्कृतिसँग जोडिएका ती अभ्यासलाई समृद्धिसँग कसरी जोड्न सकिन्छ भन्ने उद्देश्यले सम्मेलन गर्न लागिएको हो”, उनले भने । रजिष्ट्रार आचार्यका अनुसार थेरवाद र महायान बौद्ध दर्शनका दुई पाटा हुन् । नेपालमा महायानभित्र पनि बज्रयानको संस्कृति रहेको र यसलाई समृद्धिसँग जोड्ने उपायका बारेमा सम्मेलनमा सहभागी विज्ञहरुले छलफल गर्नेछन् ।
प्रज्ञा सम्मेलनमा थेरवाद, महायान र बज्रयानको संस्कृति र समृद्धि विषयमा ६ जना विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नेछन् । सम्मेलनमा सहभागी विज्ञहरूले बौद्ध शिक्षा र शिक्षण पद्धतिको विषयमा दोस्रो खण्डमा छलफल गर्नेछन् । त्यहाँ तीन जना विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नेछन् । १६ मंसिरमा घोषणापत्र जारी गर्दै सम्मेलन समापन हुने रजिष्ट्रार डा.आचार्यले बताए । सोही दिन हुने मुख्य कार्यक्रममा राष्ट्रपति सहभागी हुनेछिन् । त्यस अवसरमा उनले केन्द्रीय पुस्तकालयको उद्घाटन गर्ने कार्यक्रमसमेत छ । विश्वविद्यालयले नौ करोड २० लाखको लागतमा केन्द्रीय पुस्तकालय निर्माण गरेको छ ।


