धनकुटा कांग्रेस महाधिवेशन : एक जना केन्द्रिय महाधिवेशन प्रतिनिधि सहित १३ जना निर्विरोध निर्वाचित
धनकुटा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत धनकुटा जिल्ला अधिवेशन मार्फत एक जना केन्द्रिय महाधिवेशन प्रतिनीधि सहित १३ जना निर्विरोध निर्वाचित भएका छन् । जसअनुसार केन्द्रिय महाधिवेशन प्रतिनीधिमा खसआर्य महिला तर्फ गायत्री भण्डारी निर्विरोध निर्वाचित भएकी हुन् ।

त्यस्तै छथर जोरपाटी गाउँपालिकाबाट ईन्दिरा थापा, पृथसिंह लिम्बु, पाख्रीवास नगरपालिकाबाट ज्ञानबहादुर गुरुङ, निलम थापा, गिता अधिकारी, महालक्ष्मी नगरपालिकाबाट महिला तर्फ सिता गिरी, धनकुटा नगरपालिकाबाट पुण्यवती शाही, शहिदभुमी गाउँपालिकाबाट बच्चुकुमारी राई, खसआर्य महिला तर्फ ईन्दिरा थापा कटुवाल, जनजाती महिला तर्फ रेणु श्रेष्ठ, साधना लिङ्देन र सरस्वती मगर सहित १२ जना जिल्ला सदस्यमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
यो पनि…गृहजिल्लामै घेराबन्दीमा परे शेखर कोइराला
विराटनगर, १४ मंसिर/नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका उम्मेदवार शेखर कोइराला गृहजिल्लामै घेराबन्दीमा परेका छन् । कोइराला निकटका मोरङ जिल्ला सभापतिका उम्मेदवार डिगबहादुर लिम्बुलाई पराजित गर्न संस्थापन इतर पक्षका नेताहरूरु एकै ठाउँमा उभिएका छन् ।संस्थापन इतर समूहका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौलालगायतले संस्थापन पक्षका उम्मेदवार दिलीप गच्छदारलाई जिताउन मोर्चाबन्दी गरेका छन् । शेखरलाई गृह जिल्ला माेरङमा नै कमजोर पारेको सन्देश दिन नेताहरू एकै ठाँउमा उभिएका हुन् ।
पहिलो चरणमा सम्पन्न मोरङ कांग्रेसको निर्वाचनमा संस्थापन इतर समूहबाट निवर्तमान सभापति डीगबहादुर लिम्बु र पूर्वसचिव यदु विष्ट र संस्थापन पक्षका दिलीप गच्छदार उम्मेदवार थिए । जसमा लिम्बुले सर्वाधिक १५ सय ४४, गच्छदारले ११ सय ६६ र विष्टले ५ सय ६३ मत ल्याएका थिए ।कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि आज मंगलबार पुनः मतदान हुँदैछ । दोस्रो चरणको मतदानको पूर्वसन्ध्यामा पौडेल, शशांक, सिंह, सिटौलालगायतका नेताहरू निकटका जिल्ला नेतासँगै विष्टले साेमबार साँझ पत्रकार सम्मेलन गरी गच्छदारलाई समर्थन गरेको घोष्णा गरेका छन् ।
विराटनगर महानगरका मेयर भीम पराजुली पनि शेखर कोइरालाको साथ छोडेर सिटौलाको क्याम्पमा गई गच्छदारलाई समर्थन गरेका छन् । सिंह निकट राजु मास्केले पनि गच्छदारलाई समर्थन गरेका हुन् ।नेताहरूले गुट परिवर्तन गरेपछि मोरङ कांग्रेसको जिल्ला अधिवेशन पेचिलो बनेकाे छ । यसले मोरङको जिल्ला सभापतिको निर्वाचन रोचक पनि बनेको छ ।
लिम्बू र गच्छदारबीच कडा प्रतिस्पर्धाकाे परिस्थिति निर्माण भएको छ । शेखर कोइरालालाई आफ्नो राजनीति शाख जोगाउन लिम्बुलाई जस्तोसुकै जाेखिम मोलेर भए पनि जिताउनुको विकल्प छैन । गच्छदारलाई समर्थन गर्ने जिल्लाका नेताहरूलाई पनि आआफ्नो राजनीति जोगाउन चुनौति थपिएको छ ।पराजुलीले जिल्ला सभापतिमा लिम्बु असफल भएकाले गच्छदारलाई रोज्न बाध्य भएको बताए । तर, केन्द्रीय निर्वाचनमा शेखर कोइरालाको साथ नछोड्ने प्रतिक्रिया उनले दिएका छन् । विष्टले गरेको पत्रकार सम्मेलनमा भाग लिएका उनले जिल्लामा पात्र मात्रै परिवर्तन गरेको बताएका छन् ।
विष्टको पत्रकार सम्मेलन नसकिँदै शेखर कोइरला निकट प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले पत्रकारसँग कुराकानि गर्दै गच्छदारलाई चुनाव जिताउन संस्थापन पक्षले पैसाको चलखेल गरेको समेत आरोप लगाए । आफू कोइराला क्याम्प नछाडेको उनले घोषणा गरे ।मतदान आज बिहान १० बजेदेखि हुँदैछ ।


