धनकुटा कांग्रेस सभापतिमा दिनेश राई निर्वाचित
धनकुटा,१५ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिबेशन अन्र्तगत धनकुटा जिल्ला सभापतिमा दिनेश राई निर्वाचित हुनु भएको छ । आज विहान सम्पन्न मत परिणम अनुसार राईले कुल ५ सय ४ मत ल्याइ बिजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्धन्दी कमोट फागोले ४ सय ७० मत प्राप्त गर्नु भएको छ ।
त्यस्तै उपाध्यक्षमा सुनिल डंगोल र निर्मलप्रसाद ओझा बिजयी हुनु भएको छ । सचिवमा विजयसन्तोषी राई र जयन्द्र घिसिङ्ग विजयी हुनु भएको छ । सहसचिवमा रोशन श्रेष्ठ र गिरिजाप्रसाद दाहाल निर्वाचित हुनु भएको निर्वाचन समितीले जनाएको छ ।
उपसभापतिमा विजयी निर्मल ओझा बाहेक अन्य विजयी पाटी सभापती शेरबहादुर देउवा पक्षका उमेदवार हुनु हुन्छ ।
कांग्रेस मोरङ सभापतिमा लिम्बु विजयी, शेखरलाई कमजाेर पार्ने देउवा-पाैडेल रणनीति फेल
विराटनगर, १५ मंसिर /नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मोरङमा भइरहेको जिल्ला अधिवेशनमा केन्द्रीय सभापतिका आकांक्षी डा. शेखर कोइरालालाई कमजोर देखाउन सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीचकाे चुनावी तालमेलले फेल खाएको छ ।
पहिलो चरणकाे मतदानले जिल्ला सभापतिकाे छिनाेफानाे गर्न नसकेपछि मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा देउवा र पौडेल पक्षबीच तालमेल भएको थियो । केन्द्रीय सभापतिका आकांक्षीसमेत रहेका कोइराला पक्षका उमेदवारलाई हराएर शेखरको गृहजिल्लामै कमजोर छन भन्ने सन्देस दिन खोजिए पनि मगलबारको मतपरीणले तालमेललाई उल्टाइदिएको छ ।
पहिलो चरणमा संस्थापन देउवा पक्षका दिलीप गच्छदार, संस्थापनइतर कोइराला पक्षका डिकबहादुर लिम्बु र कृष्णप्रसाद सिटौला पक्षका यदु विष्टबीच प्रतिस्पर्धा भएको थियो । पहिलो चरणको चुनावमा लिम्बुले सर्वाधिक १ हजार ५४४, गच्छदारले १ हजार १६६ र विष्टले ५६३ मत ल्याए । कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेकाले मंगलवार पुनः मतदान भएको थियो ।
मगलबार भएको मतदानमा कोइराला पक्षका लिम्बुलाई घेराबन्दी गरे पनि मतदाताले भने त्यसलाई विफल बनाइदिएका छन । मंगलबार मध्यरातमा सार्वजनिक मतपरीणाम अनुसार लिम्बुले १ हजार ९ सय ६ मत प्राप्त गरी जिल्ला सभापतिमा विजयी हुँदा गच्छदारले १ हजार ४२५ मत पाए ।
मंसिर १२ गते भएको मतदानमा तेस्रो मत प्राप्त गरेका विष्टले संस्थापन पक्षका गच्छदारलाई समर्थन गरेका थिए । विराटनगर महानगरका मेयर भीम पराजुलीले पनि शेखर कोइरालाको साथ छाडेर सिटौलाको क्याम्पमा गई गच्छदारलाई समर्थन गरेका छन् । सिंह निकट राजु मास्केले पनि गच्छदारलाई समर्थन गरेका हुन् । सभापतिका आकांक्षी डा. शेखर कोइरालाको गृहजिल्ला मोरङमा उनी समर्थित उम्मेदवार लिम्बुलाई पराजित गर्न देउवा, पौडेल, सिटौला पक्ष सबै एक ठाउँमा आएका थिए ।


